३० कात्तिक, काठमाडौं । मानिसले दैनिक जीवनमा सामान्य ठान्ने सवारीसाधनको आवाज, सहरको कोलाहल र औद्योगिक गतिविधिबाट निस्कने ध्वनिले वन्यजन्तुको जीवनमा गम्भीर असर पारिरहेको एक अध्ययनले देखाएको छ । मानवसिर्जित ध्वनि प्रदूषणका कारण अध्ययनमा समेटिएका जनावरको मृत्युदर १३८ प्रतिशतसम्म बढ्न सक्ने अनुसन्धानले देखाएको हो ।
प्रतिष्ठित वैज्ञानिक जर्नल साइन्समा ५ नोभेम्बर २०२६ मा प्रकाशित अध्ययन मा ६ महादेशका १७७ जलचर तथा स्थलचर प्रजातिमाथि गरिएका २१४ वटा प्रयोगात्मक अध्ययनको विश्लेषण गरिएको थियो । बेलायतको क्विन्स युनिभर्सिटी बेलफास्टका अनुसन्धानकर्ता हान्सयोर्ग कुन्क र रुभेन स्मिटले गरेको यो अध्ययन मानवसिर्जित ध्वनि प्रदूषणले विभिन्न प्रजाति र पारिस्थितिक प्रणालीमा पार्ने प्रभावबारे गरिएको व्यापक विश्लेषणमध्ये एक हो ।
अध्ययनले ध्वनि प्रदूषणले विश्लेषणमा समेटिएका ८० प्रतिशत प्रजातिमा कम्तीमा एउटा शारीरिक, विकासात्मक वा व्यवहारगत पक्षमा परिवर्तन ल्याएको देखाएको छ । यसले जनावरको स्वास्थ्य र बाँच्ने क्षमतामा मात्र नभई सिकारी र सिकारबीचको सम्बन्धमा समेत असर पारिरहेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार ध्वनि प्रदूषणका कारण जनावरको मृत्युदर १३८ प्रतिशतसम्म बढेको पाइएको छ । त्यस्तै, प्रत्यक्ष मृत्यु र बाँच्ने क्षमतामा पर्ने अन्य असरसमेत जोड्दा जनावरको समग्र जीवनक्षमता २७ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
सिकारीले बढी मेहनत गर्दा पनि सिकार कम
ध्वनि प्रदूषणले जनावरको आहार खोज्ने र सिकार गर्ने प्रक्रियामा समेत असर पार्छ । सामान्य अवस्थामा सिकार गर्ने जनावरले सिकारको चाल वा गतिविधिबाट निस्कने आवाज सुनेर त्यसको स्थान पत्ता लगाउन सक्छन् । तर, मानवसिर्जित आवाजले यस्ता प्राकृतिक ध्वनि छोपिदिँदा सिकारीलाई सिकार पहिचान गर्न कठिन हुन्छ ।
अध्ययनअनुसार ध्वनि प्रदूषण भएको वातावरणमा सिकारी जनावरले सिकार खोज्न सामान्य अवस्थाभन्दा करिब २.५ गुणा बढी प्रयास गर्नुपर्छ । यति धेरै मेहनत गर्दा पनि उनीहरूको सिकार गर्ने सफलता दर करिब २५ प्रतिशतले घट्छ ।
ध्वनिले सिकार हुने जनावरको व्यवहारमा पनि परिवर्तन ल्याउँछ । आवाजबाट बच्न उनीहरू लुक्ने ठाउँ खोज्छन् । तर, गुफा, ओडार वा अन्य बन्द संरचनाभित्र आवाज प्रतिध्वनित हुँदा झन् चर्को सुनिन सक्छ । यस्तो अवस्थामा जनावर सुरक्षित ठाउँबाट बाहिर निस्कन बाध्य हुन सक्छन् । त्यसले उनीहरू सिकारीको निशानामा पर्ने जोखिम बढाउँछ ।
अध्ययनले ध्वनि प्रदूषणले जनावरको व्यवहारमा मात्र नभई शरीरभित्रका जैविक प्रक्रियामा समेत असर पार्ने देखाएको छ ।
अनुसन्धानमा समेटिएका विभिन्न प्रजातिमा तनावसँग सम्बन्धित हर्मोनको मात्रा बढेको, कोषिकामा क्षति पुगेको र रोगप्रतिरोधी क्षमतामा परिवर्तन आएको पाइएको छ । रक्तसञ्चार, श्वासप्रश्वास, प्रतिवर्त क्रिया, संज्ञानात्मक क्षमता र प्रजननसँग सम्बन्धित प्रक्रियामा समेत असर देखिएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।
ध्वनि प्रदूषणले अभिभावक जनावरको बच्चाप्रतिको हेरचाहमा पनि फरक प्रभाव पार्न सक्छ । केही प्रजातिले आवाजयुक्त वातावरणमा आफ्ना बच्चाको हेरचाह बढाउँछन् भने केहीले घटाउँछन् । यसले बच्चाको वृद्धि र बाँच्ने सम्भावनामा असर पार्न सक्छ ।
ध्वनि प्रदूषणको असर स्थलमा मात्र सीमित छैन । समुद्रमा जहाजका इन्जिन, पानीमुनि हुने निर्माण कार्य, तेल तथा ग्यास अन्वेषण र सोनार प्रविधिबाट निस्कने आवाजले समुद्री जीवको जीवन प्रभावित पारिरहेको छ । ह्वेल र डल्फिनजस्ता जीवले सञ्चार गर्न, बाटो पहिचान गर्न र आहार खोज्न ध्वनिमा निर्भर गर्छन् । पानीमुनिको मानवसिर्जित आवाजले उनीहरूलाई आवश्यक प्राकृतिक ध्वनि सुन्न र पहिचान गर्न कठिन बनाउँछ ।
अध्ययनका अनुसार ध्वनि प्रदूषणले केही सिकारी जीवलाई तत्काल फाइदा पुर्याउन पनि सक्छ । आवाजका कारण सिकार हुने जनावर लुकेको ठाउँबाट बाहिर निस्कँदा दृष्टिमा आधारित सिकारीले सजिलै सिकार गर्न सक्छन् । तर, समग्रमा ध्वनि प्रदूषणले प्राकृतिक पारिस्थितिक सन्तुलनमा अवरोध पुर्याउने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।
बासस्थानसँगै प्राकृतिक ध्वनि पनि जोगाउनुपर्ने
अनुसन्धानकर्ताहरूले वन्यजन्तुको संरक्षण गर्दा जंगल, नदी, समुद्र र अन्य भौतिक बासस्थान जोगाउनुका साथै प्राकृतिक ध्वनि वातावरणको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।
अनुसन्धानका प्रमुख लेखक हान्सयोर्ग कुन्कले क्विन्स युनिभर्सिटी बेलफास्टलाई दिएको प्रतिक्रियामा ध्वनि प्रदूषण वन्यजन्तुका लागि विश्वव्यापी रूपमा कम आकलन गरिएको खतरा भएको बताएका छन् ।
उनका अनुसार वन्यजन्तुलाई मानवीय आवाजबाट केही हदसम्म सुरक्षित राख्न कम ध्वनि हुने क्षेत्र (लो–न्वाइज जोन) निर्माण गर्न सकिन्छ । यस्ता क्षेत्रमा मानवीय गतिविधिबाट उत्पन्न आवाज घटाएर जनावरलाई प्राकृतिक ध्वनि वातावरणमा बाँच्ने अवसर दिन सकिन्छ ।
अनुसन्धानकर्ताहरूले ध्वनि प्रदूषणलाई वातावरणीय संरक्षणको छुट्टै प्राथमिकताका रूपमा लिनुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरूका अनुसार मानिसले आफ्नो वरिपरि सामान्य ठान्ने आवाज पनि अन्य जीवका लागि बासस्थान र जीवनचक्रमा असर पार्ने वातावरणीय दबाब बन्न सक्छ ।