Trending
Prev Story
Next Story

उदयपुरमा छठको रौनक : ६ सय मिटर लामो घाटमा भक्तजनको घुइँचो

Nagarik News •
November 15, 2026 • 03:03 PM
3
3 reads 0 reactions

विगत वर्षहरूमा झैँ यस पटक पनि छठ मनाउन सदरमुकाम त्रियुगा नदी तथा भित्री मधेसका अन्य नदी किनार, तलाउ र जलाशय क्षेत्र झकिझकाउ र आकर्षक बनाइएको छ।

उदयपुरमा छठको रौनक : ६ सय मिटर लामो घाटमा भक्तजनको घुइँचो

तराईबासी समुदायको महान् पर्व छठ उदयपुरमा धुमधामसँग मनाइँदैछ। विगत वर्षहरूमा झैँ यस पटक पनि छठ मनाउन सदरमुकाम त्रियुगा नदी तथा भित्री मधेसका अन्य नदी किनार, तलाउ र जलाशय क्षेत्र झकिझकाउ र आकर्षक बनाइएको छ।

भक्तिपूर्वक मनाइने छठ नदी किनार, तलाउ र जलाशय क्षेत्रमा शुद्ध मन र चित्त लिएर उपवास (खाली पेट) व्रत बसेर पूजा आराधना गर्ने गरिन्छ। बिहीबार सुरु भएर ५ दिनसम्म लगातार मनाइने छठको आज मुख्य दिन हो। सदरमुकाम गाईघाटमा छठ मनाउन त्रियुगा छठ पूजा आयोजक समिति गठन गरेर औपचारिक रूपमा मनाउने गरिएको छ।

समितिका अध्यक्ष चन्दन साहका अनुसार छठ पर्व सभ्य, भव्य र धुमधामसँग मनाउने व्यवस्था मिलाइएको छ। चोखोनितो र शरीरलाई शुद्ध बनाएर व्रत बस्ने परम्परा रहेको पर्वको पहिलो दिन बिहीबार व्रतालुहरूलाई कोदो र माछाको परिकारबाट बनेका खाद्य परिकार वर्जित हुने अध्यक्ष साहले बताए।

दोस्रो दिन नहाय खाय विधिअनुसार सरसफाइ गरेर शुद्ध मन र शरीरले खानेकुरा खाँदै व्रत बस्ने काम सम्पन्न भयो भने तेस्रो दिन व्रतालुहरू दिनभर उपवास बसेर सख्खर हालेर बनाइएको खिर कुलदेवता र छठी मातालाई साँझमा विधिपूर्वक चढाएर आराधना गर्ने कार्यक्रम भयो। जसलाई खरना विधि भनिने अध्यक्ष साहले बताए।

छठको मुख्य दिन आइतबार दिनभर निराहार बसेका भक्तजनले साँझपख दुलही झैँ सिँगारिएको त्रियुगा नदी किनारको जलाशयमा अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसुवालगायत परिकारको प्रसादसहित अर्घ्य चढाएर भक्तिपूर्वक पूजा आराधना गर्दै रात बिताउने काम भइरहेको छ। साँझपख अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने व्रतालुहरूले भोलि सोमबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाको समाप्ति गर्नेछन्।

छठ पूजाका लागि त्रियुगा नदी, बरुवा, बगाहा, ठाडी खोला किनारहरू र पोखरी तथा तलाउ र जलाशयहरू दुलहीझैँ आकर्षक बनाइएका छन्। गाईघाटबाहेक चौदण्डीगढीका द्वार खोला तथा बेलका नगरपालिकाका सेती र गिनेरी आदि खोला किनारहरू पनि उत्तिकै झकिझकाउ पारेर सजाइएका छन्।

कटारी नगरपालिकाको तावा, कमला र वैद्यनाथ खोला किनारहरू पनि झकिझकाउ पार्दै पूजा आराधना गर्ने काम भइरहेको स्थानीयले बताएका छन्।

गाईघाटमा त्रियुगा बसपार्क नजिकै नदी किनारमा निर्माण गरिएको ६ सय मिटर लामो घाटमा आइतबार साँझ भक्तजनहरूले अर्घ्य दिएका छन्। त्रियुगा पुलदेखि उत्तरतर्फ गाईघाटका भक्तजनका लागि घाट निर्माण भएको छ भने पुलको दक्षिणतर्फ मोतिगडा क्षेत्रका भक्तजनहरूका लागि घाट बनाइएको छ। दुवै घाटमा भक्तजन र आन्तरिक पर्यटकहरूको बाक्लो सहभागिता रहेको छ।

छठ पूजा समितिका संस्थापक अध्यक्ष खेमनारायण यादवका अनुसार भक्तजनको संख्या वर्षेनी बढ्दै गएकाले यसपटक गत वर्षभन्दा बढी संख्यामा घाट निर्माण गरिएको छ। गत वर्ष ४ सय ७५ मिटर दूरी नदी किनारमा घाट बनाइएको थियो भने यस वर्ष ५ सय ७० मिटरमा निर्माण गरिएको यादवले बताए।

त्रियुगा नदीको पानी डोल्याएर दायाँबायाँ टेन्ट टाँगेर झिलिमिली बत्ती जडान गरिएको घाटमा भक्तजनसँगै घुमफिर गर्न आउने आन्तरिक पर्यटकको दिउँसोदेखि घुइँचो लागिरहेको छ। घाटस्थल जानका लागि बसपार्कमै आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ भने घाटभन्दा ५ सय मिटर माथि उत्तरतर्फ औपचारिक कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ। जहाँ छठको उद्घाटनपछि रातभर नृत्य, गायन तथा अन्य सिर्जनशील गतिविधि गरेर मनोरञ्जन दिलाउने काम हुने समितिले तयारी गरेको छ।

राज्यले सहयोग गर्दैन छठ पूजाका लागि आवश्यक खर्चका लागि सरकारबाट सहयोग भने नपाएको गुनासो समितिले गरेको छ। त्रियुगा नगरपालिकासँग सहयोग माग्दा ५-६ वर्षपहिला खोलाको पानी डोल्याउन २-४ दिन जेसीबी सहयोग गरेयता कुनै सहयोग नपाएको समितिले जनाएको छ।

घाट निर्माणदेखि विद्युत् जडान, स्वागतद्वार निर्माण, औपचारिक कार्यक्रम गर्न मञ्च र साउन्ड सिस्टमलगायतमा झन्डै १० लाख हाराहारी खर्च लाग्ने समितिले जनाएको छ। तर, त्यसमा लाग्ने सबै खर्चको जोहो समिति आफैँले गर्दै आएको छ। समितिले एउटा घाटवापत भक्तजनसँग ५ सय ५० रुपैयाँ शुल्क तोकेको छ। अपुग रकम स्वैच्छिक चन्दा सहयोगबाट व्यवस्थापन गर्ने गरेको समितिले जनाएको छ।

खासगरी मधेसी समुदाय बसोबास भएको ठाउँमा छठ पर्व धुमधामसँग मनाउने गरिन्छ। पछिल्लो समय भने पहाडी समुदाय पनि छठ पर्वप्रति आकर्षित हुँदै गएको छ। सन्तान प्राप्ति, रोगव्याधबाट मुक्ति तथा पेसा व्यवसायको सफलता र आयआर्जन तथा धनदौलत कमाउनेलगायत चिताएको मनोकामना पूरा गर्ने जनविश्वासका साथ छठ पर्व मनाइने गरेको भक्तजन जगदीश साहले बताए।

छठ पूजाको पूर्वसन्ध्यामा शनिबार बिहान त्रियुगा नदी किनारमा सामूहिक सरसफाइ गरिएको थियो। त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, पूर्व उपप्रमुख देवीकुमारी चौधरी, छठ पूजा समितिका संस्थापक अध्यक्ष यादव लगायत समितिका पदाधिकारी र अन्य बजारबासीले पूजास्थल नदी किनारमा सामूहिक सरसफाइ गरेका थिए।

प्रकाशित: २९ कार्तिक २०८३ २०:४८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
9h ago
छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित

छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित

काठमाण्डौ । सूर्य उपासनाको महापर्व छठसँगै तराईका बजारमा आर्थिक चहलपहल बढेको छ। तिहार सकिएलगत्तै सुरु भएको छठको...

#छठको #रौनक
Compare →
Onlinekhabar
14h ago
छठको रौनकले बजारमा चहलपहल, बाँसका सामग्रीको माग उच्च

छठको रौनकले बजारमा चहलपहल, बाँसका सामग्रीको माग उच्च

२९ कात्तिक, सुनसरी । आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भिड …

#छठको #रौनक
Compare →
Hamro Patro News
2d ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#छठको #घाट
Compare →

Related Stories

National (Nepal)
Build #2612