अभिनेता तथा निर्देशक भुवन केसीको नयाँ फिल्म ‘बाटुलो जून’ यतिबेला प्रदर्शनरत छ । केसीले यो फिल्मले पुरानो समयको प्रेम, ग्रामीण जीवन, सामाजिक विविधता र परिवारभित्रको भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखेको बताए ।
काठमाडौँ — अभिनेता तथा निर्देशक भुवन केसीको नयाँ फिल्म ‘बाटुलो जून’ यतिबेला प्रदर्शनरत छ । ४० को दशकको प्रेमकथामा आधारित फिल्ममा भुवनका छोरा अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ । फिल्ममा भुवन स्वयंको पनि अभिनय छ । फिल्मबारे कान्तिपुर टेलिभिजन सँग उनले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
बाटुलो जून कस्तो फिल्म हो ? तपाईंको अघिल्लो फिल्मभन्दा यसमा के फरक छ ?
यो फिल्मले ४० को दशकको कथा भन्छ । आधुनिक प्रेमभन्दा फरक, त्यस समयको प्रेम र समाजलाई यसले प्रतिबिम्बित गरेको छ । मेरो अघिल्लो चलचित्र ‘ड्रिम्स’भन्दा यो फरक छ । यसलाई मेरो आफ्नै सिनेमा यात्रासँग पनि जोड्न सकिन्छ । यो फिल्ममा नेपालको उत्कृष्ट लोकेसन र गाउँ देखाइएको छ। सबै जातिको समाज, गाउँको मेलमिलाप र विविधता छ । अँध्यारो र उज्यालोको कुरा छ, आमा-हजुरआमाको भूमिका र घरको उज्यालो किरणको कुरा छ । यो मेरो गाउँको कथा हो, जहाँ हर नागरिकले आफ्नो कथा देख्न सक्छ । आधुनिक समयमा पनि आदर्श प्रेमलाई फर्काउने प्रयास हो ।
चलचित्र प्रदर्शनमा आएपछि दर्शकको प्रतिक्रिया कस्तो छ ?
सुरुआतका संकेतले चलचित्र सुपरहिट हुने देखाएको छ । ओपनिङ नै धमाकेदार भयो र प्रतिक्रिया पनि राम्रो छ । मलाई स्क्रिप्टमा विश्वास थियो र नेपाली दर्शकको मनले यसलाई स्वीकार्छ भन्ने लागेको थियो ।
तपाईंको चलचित्र यात्रा, भूमिका र नेपाली चलचित्रले अँगाल्नुपर्ने बाटोबारे के भन्नुहुन्छ ?
यो क्षेत्रमा मैले अभिनय, निर्देशन र निर्माण सबै गरेको छु । चलचित्र क्षेत्रको जानकारी र विशेषज्ञताका हिसाबले आफूलाई कम्प्लिट प्याकेज भन्न सकिन्छ । मैले कलेजको केटा, प्रेमी र ग्रामीण युवा जस्ता भूमिका गरेँ । हाम्रो नेपाली चलचित्रमा नेपालीपन, मौलिकता र भाषा हुनुपर्छ । नयाँ र मोर्डन विषय पनि चाहिन्छ तर घरको कथा र सामाजिक न्यायमुखी मनोरञ्जन पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
नेपाली चलचित्र क्षेत्रका कमजोरी र चुनौती के-के हुन् ? हिन्दी चलचित्रको प्रभावबारे के भन्नुहुन्छ ?
हाम्रा चुनौती भारतीय बजारको प्रभाव, उत्पादन खर्च, र स्क्रिप्ट, निर्देशन र अभिनयका कमजोरी हुन् । यी सुधार गर्नुपर्छ । विदेशी चलचित्र ५०० देखि ५००० करोडमा बन्छन्, हाम्रा एक करोडमा । त्यसैले हाइ बजेटसँग टक्कर गर्न गाह्रो छ । तैपनि विषयवस्तु राम्रो भए सफल हुन सकिन्छ । दर्शक हिन्दी चलचित्रतिर आकर्षित भएका छन् । तर हामीले गाउँ-गाउँ, बस्ती-बस्ती, घर-परिवारमा पुगेर आफ्नै चलचित्रलाई साथ दिन अपिल गर्नुपर्छ । विदेशमा पनि नेपाली दर्शकबाट राम्रो प्रतिक्रिया आउँछ । मलेसियालगायत लगभगका देशमा नेपाली चलचित्र प्रदर्शन हुन्छन् । युट्युबमा क्लिप र दृश्य राख्दा प्रचारप्रसार त हुन्छ तर समस्या पनि छ । साइबर ब्युरोमा उजुरी गर्नुपर्ने अवस्था पनि आउँछ ।
तपाईंलाई बलिउडमा काम गर्ने चाहना छ ?
बलिउड ठूलो इन्डस्ट्री हो । त्यहाँ काम गर्ने हरेक कलाकारको सपना हुन्छ । बलिउडका कलाकारको सपना हलिउड जाने हुन्छ, हाम्रो सपना बलिउड जाने हुन्छ । त्यहाँ ठूलो बजार छ । मौका आए र उपयुक्त भूमिका पाए अवश्य गर्छु । स्क्रिप्ट राम्रो भए अवश्य गर्छु ।
सुरेन्द्र कट्टेल कान्तिपुर टिभीमा आवद्ध छन् ।