Trending
Prev Story
Next Story

आस्थाको महासागरमा डुब्यो मधेस, ३६ घण्टे निर्जल व्रतमा छठव्रती

Nagarik News •
November 15, 2026 • 10:58 AM
3
3 reads 0 reactions

मधेस यतिबेला छठमय बनेको छ। घरआँगनदेखि गाउँबस्ती, नदी, पोखरी र जलाशयका किनारसम्म छठीमाताको महिमा गाउने लोकगीत गुञ्जिरहेका छन्।

1 / 12
Swipe Photos

मधेस यतिबेला छठमय बनेको छ। घरआँगनदेखि गाउँबस्ती, नदी, पोखरी र जलाशयका किनारसम्म छठीमाताको महिमा गाउने लोकगीत गुञ्जिरहेका छन्। बाँसका सुप, दउरा र कोनियामा सजिएका पूजासामग्री, केराका घरी, ठेकुवा, भुसुवा तथा विभिन्न फलफूलले सिँगारिएका छठघाट र श्रद्धाले भरिएका भक्तजनका अनुहारले तराई–मधेसको धार्मिक तथा सांस्कृतिक सौन्दर्यलाई जीवन्त बनाएका छन्।

“उजे मारबौ रे सुगवा धनुष से, ओइ पर सुगा मेरराए...” “उजे काँचहि बाँसके चङ्गेरा, बहङ्गिया बहङ्गी लचकैत जाए...”

यी कालजयी लोकभाकाले अहिले मधेसका गाउँबस्ती मात्र होइन, समग्र तराई क्षेत्रलाई नै भक्तिरसमा डुबाएको छ। छठका परम्परागत गीत, पूजाको तयारी र घाटको चहलपहलले मधेसमा छुट्टै उत्सवको माहोल सिर्जना गरेको छ।

लोकआस्था, प्रकृतिप्रेम, आत्मसंयम र पारिवारिक एकताको प्रतीकका रूपमा स्थापित छठ महापर्वको आज तेस्रो तथा मुख्य दिन हो। यस दिन छठव्रतीहरूले अस्ताउँदो सूर्यदेवलाई पहिलो अर्घ अर्पण गर्दैछन्। त्यसका लागि देशभरका नदी, पोखरी तथा जलाशयका किनारमा श्रद्धालुहरूको घुइँचो लाग्ने तयारी छ।

सूर्यदेव र छठीमाताप्रतिको अटुट श्रद्धा तथा विश्वासका साथ मनाइने यो पर्वले विशेषगरी मधेस प्रदेशलाई भक्तिमय बनाएको छ। परिवारका सदस्य, आफन्त र छरछिमेकको सामूहिक सहभागितामा मनाइने छठ धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यसले सामाजिक सद्भाव, पारस्परिक सहयोग, अनुशासन र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाएको पण्डित जयप्रकाश मिश्र बताउँछन्।

छठ पर्वलाई लक्षित गर्दै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका नदी, पोखरी तथा विभिन्न जलाशयका किनार सरसफाइ गरी आकर्षक ढङ्गले सजाइएको छ। रंगीचंगी बत्ती, फूलमाला, केराका बोट र परम्परागत सजावटले छठघाटहरू दुलहीझैँ सिँगारिएका छन्। घाटको व्यवस्थापन र सजावटमा स्थानीय युवा, सामाजिक संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ।

साँझ अस्ताउन लागेको सूर्यको स्वर्णिम किरण जलाशयको सतहमा पर्दा अर्घ अर्पणका लागि पानीमा उभिएका व्रतालुहरूको दृश्यले छठको धार्मिक तथा सांस्कृतिक महिमालाई थप जीवन्त बनाउनेछ। हातमा पूजाका सामग्री, मनमा अटुट श्रद्धा र ओठमा छठीमाताका लोकगीत बोकेर घाट पुग्ने व्रतालुहरू सूर्यदेवको उपासनामा लीन हुनेछन्।

चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ अर्पण गरिन्छ। भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि छठ महापर्व विधिवत् सम्पन्न हुनेछ।

छठ पर्वको सबैभन्दा कठिन र अनुशासित पक्ष मानिने ३६ घण्टे निर्जल तथा निराहार व्रत सुरु भइसकेको छ। पर्वको दोस्रो दिन अर्थात् खरना सम्पन्न गरेका व्रतालुहरूले माटोको चुल्होमा शुद्धतापूर्वक पकाइएको खीर, रोटी, केरा लगायतका प्रसाद ग्रहण गरेपछि कठोर व्रत आरम्भ गरेका हुन्।

खरनाको प्रसाद ग्रहण गरेसँगै सुरु हुने यस व्रतमा छठव्रतीहरूले पानीसमेत नपिई अन्नजल त्यागेर सूर्यदेव र छठीमाताको आराधना गर्छन्। निरन्तर ३६ घण्टासम्म चल्ने यो कठिन साधना भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि मात्र पूरा हुनेछ।

छठ पर्वमा शुद्धता, पवित्रता र आत्मसंयमलाई विशेष महत्त्व दिइन्छ। पूजाका सामग्री तयार पार्नेदेखि प्रसाद पकाउने, घाट सजाउने र अर्घ अर्पण गर्नेसम्मका प्रत्येक विधिमा स्वच्छता र शुद्धताको ख्याल गरिन्छ। यस पर्वले मानिसलाई अनुशासन, निष्ठा, स्वच्छता र प्रकृतिप्रति कृतज्ञ हुन प्रेरित गर्ने धार्मिक तथा सांस्कृतिक विश्वास छ।

अस्ताउँदो र उदाउँदो सूर्यको समान उपासना

संसारलाई जीवन, ऊर्जा र प्रकाश प्रदान गर्ने सूर्यदेवको आराधना नै छठ पर्वको मूल विशेषता हो। प्रकृतिका प्रत्यक्ष देवताका रूपमा पूजिने सूर्यप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ अर्पण गरिन्छ।

सामान्यतः अस्ताउँदो सूर्यलाई बिदाइ र उदाउँदो सूर्यलाई स्वागत गर्ने परम्पराका रूपमा मात्र नभई जीवनका हरेक अवस्था र प्रकृतिका चक्रप्रति सम्मान प्रकट गर्ने पर्वका रूपमा पनि छठलाई लिइन्छ।

छठ व्रत गर्नाले शारीरिक तथा मानसिक शुद्धता प्राप्त हुने, सन्तान सुख मिल्ने र परिवारमा सुख, शान्ति एवं समृद्धि कायम हुने धार्मिक जनविश्वास छ। यही आस्था र विश्वासका कारण पुस्तौँदेखि छठ पर्वको महिमा र गरिमा कायम रहँदै आएको छ।

रौतहटको सदरमुकाम गौरसहित गंगापिपरा, शिवनगर, गरुडा, कटहरिया र चन्द्रनिगाहपुरलगायतका क्षेत्रमा लाखौँ श्रद्धालु अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने तयारीमा छन्। जिल्लाका विभिन्न छठघाटमा देखिएको चहलपहलले पर्वप्रतिको जनआस्था र सांस्कृतिक एकताको गहिराइलाई प्रतिबिम्बित गरेको छ।

राम–सीतादेखि कर्ण र द्रौपदीसम्म जोडिएको धार्मिक विश्वास

धार्मिक परम्पराअनुसार छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई कार्तिक शुक्ल सप्तमीसम्म चार दिन मनाइन्छ। पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई बिहानको अर्घ अर्पण गरी पर्व सम्पन्न गरिन्छ।

पौराणिक मान्यताअनुसार त्रेतायुगमा भगवान् श्रीराम र माता सीता लङ्का विजयपछि अयोध्या फर्किएर राज्याभिषेकको अवसरमा कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको उपासना तथा व्रत बसेको र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेको विश्वास गरिन्छ। यही परम्पराबाट छठ पूजाको प्रचलन विस्तार भएको जनविश्वास छ।

त्यस्तै, महाभारतकालमा सूर्यपुत्र कर्णले सूर्यदेवको नियमित आराधना गर्ने गरेको तथा द्रौपदीले पाण्डवहरूको सुख, समृद्धि र संकट निवारणका लागि सूर्य उपासना गरेको प्रसङ्गले पनि यस पर्वको धार्मिक महत्त्वलाई उजागर गर्छ। राजा प्रियव्रतले सन्तान प्राप्तिको कामनासहित षष्ठी देवीको आराधना गरेको पौराणिक कथासमेत छठ पर्वसँग जोडिएको पाइन्छ।

छठ महापर्वको विशिष्टता धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। जात, वर्ग, भाषा र सामाजिक विभेदभन्दा माथि उठेर सबैलाई एउटै घाटमा उभ्याउने यसको विशेषता छ। धनी–गरिब, सानो–ठूलो सबैले समान श्रद्धाका साथ सूर्यदेवलाई अर्घ अर्पण गर्ने यस पर्वले सामाजिक समरसता, समानता र सामूहिक एकताको सन्देश प्रवाह गर्छ।

बाँसका सामग्री, माटाका भाँडा, स्थानीय फलफूल तथा घरमै तयार गरिने परिकारको प्रयोगले छठलाई स्थानीय उत्पादन, परम्परागत सीप र मौलिक अर्थतन्त्रसँग समेत जोडेको छ। छठका लोकगीतमा अभिव्यक्त मातृत्व, सन्तानप्रतिको माया, पारिवारिक सुख र प्रकृतिप्रतिको सम्मानले यस पर्वलाई सांस्कृतिक दृष्टिले थप समृद्ध बनाएको छ।

अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठव्रतीहरू भोलिको नयाँ बिहानी र उदाउँदो सूर्यको प्रतीक्षामा रहनेछन्। रातभर दीपको उज्यालो, लोकगीतको मधुर धुन र भक्तिभावले छठघाट गुञ्जायमान रहनेछ। भोलि बिहान सूर्यका प्रथम किरणसँगै पुनः श्रद्धा र आस्थाको महासागर उर्लिनेछ।

अस्ताउँदो सूर्यलाई नमन र उदाउँदो सूर्यलाई वन्दन गर्दै सम्पन्न हुने छठ महापर्वले मानव जीवनमा आशा, धैर्य, समर्पण, प्रकृतिप्रेम र नयाँ सुरुवातको सन्देश दिन्छ। त्यसैले छठ मधेसको एउटा धार्मिक पर्व मात्र होइन, यहाँको आत्मा, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सांस्कृतिक सम्पदा पनि हो।

प्रकाशित: २९ कार्तिक २०८३ १६:४३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
22h ago
मधेस पुगेर रविको घोषणा : ‘परिवर्तनको अनुभूति गराउन नसके फेरि मत माग्न आउँदिनँ’

मधेस पुगेर रविको घोषणा : ‘परिवर्तनको अनुभूति गराउन नसके फेरि मत माग्न आउँदिनँ’

मधेस पुगेर रविको घोषणा : ‘परिवर्तनको अनुभूति गराउन नसके फेरि मत माग्न आउँदिनँ’ केहि सेकेन्ड अघि धनुषा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको बहस र आलोचना आन...

#मधेस
Compare →
Ekantipur
1w ago
मधेस प्रदेश सरकारबाट बाहिरियो नेकपा

मधेस प्रदेश सरकारबाट बाहिरियो नेकपा

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता जवाहरलाल कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।

#मधेस
Compare →

Related Stories

Technology
Build #2612