महिलाहरू घरभित्रका समस्यासँग मात्र होइन, देशमा राजनीतिक र सामाजिक परिवर्तन ल्याउन पनि निरन्तर संघर्ष गर्दै आएका छन् । राणाशासनको अन्त्यदेखि पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यसम्मका आन्दोलनमा महिलाको योगदान महत्त्वपूर्ण छ । तर राजनीतिक परिवर्तन भए पनि गाउँदेखि सहरसम्मका महिलाले भोग्दै आएका विभेद र हिंसामा अपेक्षित सुधार हुन सकेको छैन ।
महिला अधिकारका लागि संसारभर शताब्दियौँदेखि आन्दोलन हुँदै आएका छन् । यही संघर्षको एउटा महत्त्वपूर्ण अभियान हो, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न ऐक्यबद्धता, पीडितको संरक्षण र न्यायको सुनिश्चितता’ भन्ने भावमा केन्द्रित छ ।
नेपालमा यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन भइरहेको छ ।
तीन दिदीबहिनीको हत्याबाट सुरु भएको अभियान
सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिराबेल परिवारका तीन दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन निरंकुश त्रुजिलो सरकारले हत्या गरेको थियो । उनीहरू अन्याय र निरंकुश शासनविरुद्धको आन्दोलनमा सक्रिय थिए । पटकपटक पक्राउ परेका उनीहरूलाई अन्तिमपटक जेलबाट फर्किने क्रममा गाडीचालकसहित निर्ममतापूर्वक हत्या गरिएको थियो ।
उक्त घटनाको विरोधमा सन् १९८१ देखि ल्याटिन अमेरिकामा नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालियो । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन हुन थालेको हो ।
नेपालमा पनि सन् १९९७ देखि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सरकारले २०७६ जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकबाट प्रत्येक वर्ष जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
महिला अधिकारका लागि आवाज उठाउने प्रारम्भिक अभियन्तामध्ये बेलायती लेखिका मेरी वोल्स्टनक्राफ्ट अग्रणी मानिन्छिन् । उनले सन् १७९२ मा ‘अ भिन्डिकेसन अफ द राइट्स अफ वुमन’ पुस्तक लेख्दै महिला र पुरुष समान जन्मिने भएकाले शिक्षा र अवसरमा पनि समानता हुनुपर्ने तर्क गरेकी थिइन् । महिलालाई पुरुषभन्दा कमजोर बनाउने आधार प्राकृतिक नभई सामाजिक संरचना हो भन्ने उनको धारणा थियो ।
सन् १८४८ जुलाई १९ र २० मा अमेरिकामा पहिलो महिला अधिकार सम्मेलन आयोजना भयो । उक्त सम्मेलनले महिलालाई मताधिकार, शिक्षा र रोजगारीमा समान अवसर तथा कानुनी समानताको मागसहित घोषणापत्र जारी गरेको थियो ।
महिला अधिकार आन्दोलनलाई सामान्यतया तीन चरणमा विभाजन गरिन्छ । पहिलो चरणमा मताधिकारका लागि संघर्ष भयो । दोस्रो चरणमा सामाजिक, आर्थिक र राजनीतिक समानताको माग उठ्यो । तेस्रो चरणमा महिलाको पहिचान, स्वतन्त्रता र विविधताको अधिकारलाई प्राथमिकता दिइयो ।
सन् १९६३ मा अमेरिकी लेखिका बेट्टी फ्रिड्यानले ‘द फेमिनाइन मिस्टिक’ पुस्तकमार्फत महिलालाई घरायसी भूमिकामा मात्र सीमित राख्ने सामाजिक सोचमाथि प्रश्न उठाइन् । त्यसपछि शिक्षा, समान कामको समान ज्याला, प्रजनन अधिकार, घरेलु हिंसाको अन्त्य र कार्यस्थलमा समान अवसरका मुद्दाले थप महत्त्व पाए ।
महिला अधिकारका लागि भएका लामो संघर्षपछि संसारका धेरै देशमा कानुनी र राजनीतिक परिवर्तन भएका छन् । तर कानुनी समानता प्राप्त हुँदैमा सामाजिक विभेद अन्त्य हुँदैन भन्ने वास्तविकता अझै देखिन्छ ।
लिङ्ग र लैङ्गिकता फरक विषय हुन् । लिङ्ग जैविक पक्ष हो भने लैङ्गिकता समाज र संस्कृतिले निर्माण गरेको अवधारणा हो । महिला र पुरुषबीचको विभेद प्राकृतिक नभई सामाजिक सोच र व्यवहारबाट सिर्जना भएको हो । यही सोचले महिलालाई कमजोर ठान्ने, निर्णय प्रक्रियाबाट टाढा राख्ने र उनीहरूको स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रवृत्तिलाई बढावा दिएको छ ।
नेपालले सन् १९७९ मा संयुक्त राष्ट्रसङ्घबाट पारित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सीड) अनुमोदन गरिसकेको छ । महिला अधिकार संरक्षणका लागि विभिन्न कानुन र नीतिसमेत बनेका छन् । तर महिलामाथि हुने शारीरिक, मानसिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिंसा अझै कायम छ । विशेषगरी दलित, जनजाति तथा आर्थिक रूपमा कमजोर महिलाले थप विभेद भोग्नुपरेको छ ।
महिला हिंसाको जरो हाम्रो घरपरिवार र सामाजिक व्यवहारमै भेटिन्छ । छोरालाई बढी स्वतन्त्रता दिने, छोरीलाई घरायसी काममा सीमित राख्ने, छोराको निर्णयलाई प्राथमिकता दिने र छोरीको इच्छालाई बेवास्ता गर्ने व्यवहारले बाल्यकालदेखि नै विभेदको आधार तयार गर्छ ।
यही विभेद पछि समाजमा महिलामाथि हुने हिंसा र असमानताको कारण बन्छ । त्यसैले महिला हिंसा अन्त्य गर्ने अभियान नारामा मात्र सीमित हुनु हुँदैन । घरभित्र छोरा र छोरीलाई समान व्यवहार गर्ने, महिलाको निर्णय र स्वतन्त्रताको सम्मान गर्ने तथा हिंसाविरुद्ध आवाज उठाउने संस्कार विकास गर्नुपर्छ ।
महिलाहरूले राजनीतिक परिवर्तनदेखि सामाजिक रूपान्तरणसम्म महत्त्वपूर्ण योगदान दिएका छन् । अब उनीहरूले आफ्नो अधिकारका लागि मात्रै होइन, हिंसामुक्त र समान समाज निर्माणका लागि पनि निरन्तर आवाज उठाउनुपर्नेछ ।
महिला र पुरुषबीच जैविक भिन्नताबाहेक क्षमता, अवसर र अधिकारमा भेदभाव हुनु हुँदैन भन्ने सोच स्थापित गर्न सके मात्र लैङ्गिक हिंसा अन्त्यको अभियान सार्थक हुनेछ ।