कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको छ । टोलीले लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ — कप्तान परिवर्तन गरे पनि कर्णाली याक्सको नेपाल प्रिमियर लिग (एनपीएल) ३ को यात्रा उस्तै रह्यो । सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलरले कर्णालीको नेतृत्व गरे पनि दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १ सय ६ रनको लक्ष्यमात्र दिन सक्यो ।
कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको छ । र टोलीले लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो ।
तर टस जितेर ब्याटिङ रोजेको कर्णाली त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १९.२ मात्र टिक्न सक्यो । यस खेलमा पराजय भोग्यो भने कर्णालीको प्लेअफमा पुग्ने सम्भावना असम्भव जस्तै हुनेछ । लुम्बिनीलाई पनि प्ले अफमा पुग्न यस खेल जित्नै पर्ने अवस्था रहेको छ ।
कप्तान मात्र होइन कर्णालीले ओपनिङ ब्याटिङमा पनि परिवर्तन गरेको थियो । तर प्रतियोगितामा पहिलो खेल खेलिरहेका दीपेन्द्र रावत चार बलमात्र टिक्न सके । उनलाई शून्य रनको स्थितीमा अभिशेष गौतमले बोल्ड गरिदिए । अर्का ओपनर आरिफुल इस्लाम र दीपक डुम्रे समान ४ रनमा आउट भए । अभिशेषले दीपकलाई पनि आउट गरेका थिए भने किशोर महतोको बलमा रोहितले सानदार क्याच लिएर आरिफुललाई पेभेलियन फर्काए ।
मिलर आफै चौथो नम्बरमा ब्याटिङ गर्न आए । तर उनी पनि लुम्बिनीको उत्कृष्ट फिल्डिङको शिकार भए । आफ्नो पहिलो ओभर लिएर आएका शेर मल्लले मिलरलाई रुबेन ट्रम्पलमनबाट सानदार क्याच गराए ।
छैटौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले सर्वाधिक २८ रन बनाए । उनले १८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । डार्सी शर्टको बलमा उनी पनि लङ अनमा आसिफ शेखबाट सुन्दर क्याचमा आउट भए । पवन सर्राफलाई १२ रनमा शर्टले बोल्ड गरे । हुसैन तलातले २४ रन बनाए । उनले २२ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।
मार्क वाट २, गुलशन झा १३ र नन्दन ३ रनमै आउट भए । अभिशेषले ४ ओभरमा २१, कप्तान रोहित पौडेलले ३ ओभरमा १२, शर्टले ४ ओभरमा १३ र किशोर महतोले २.२ ओभरमा ६ रन खर्चेर २–२ विकेट लिए । एक विकेट ट्रम्पलमनको नाममा रहयो ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।