भाइटीकादेखि सुरु भएको मेलामा च्याब्रुङ, पालाम, हाक्पारे, साम्लो, रोटेपिङ र खुला भलिबलले वासाङ्गुलाई उत्सवमय बनाएको छ।
पाँचथर — कोही रोटेपिङमा मच्चिँदै छन्, कोही च्याब्रुङको तालमा नाच्दै । कतै पालामको भाका घन्किरहेको छ त कतै हाक्पारे र साम्लोमा रमाउनेहरूको जमघट छ । युवा पुस्ता भलिबल प्रतियोगितामा झुम्मिएका छन् भने गीतसंगीतका पारखी कन्सर्टमा रमाइरहेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, वासाङ्गुमा लागिरहेको दुतिया मेलाको दृश्य हो यो । तिहारको भाइटीकाका दिनदेखि सुरु भएको मेलामा लिम्बू समुदायको बाक्लो उपस्थिति छ । मौलिक जातीय पहिचान झल्काउने पहिरनमा सजिएका महिला तथा पुरुषको जमघटले मेलास्थल थप रंगीन बनेको छ । परम्परागत गरगहना र पहिरनमा सजिएका महिलाले मेलाको रौनक बढाइरहेका छन् ।
यो मेला मनोरञ्जनको थलो मात्र नभइ पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको संस्कृति र परम्पराको निरन्तरता पनि हो । यसको इतिहास १७३ वर्षभन्दा पुरानो छ । विक्रम संवत् १९१० तिर कुरुम्बाङ वंशको २७ औं पुस्तामा जन्मिएका सासोरसिंह कुरुम्बाङले विवाहपछि लामो समयसम्म सन्तान नभएपछि यस ठाउँमा रोटेपिङ लगाएर गाउँलेलाई भेला गरी मेला सुरु गराएको स्थानीय इतिहास छ । त्यही समयदेखि सुरु भएको मेला अहिलेसम्म निरन्तर लाग्दै आएको छ ।
देशमा २०५२ देखि २०६२ सम्म चलेको सशस्त्र द्वन्द्वका बेला देशभरका हाटबजार र परम्परागत मेला प्रभावित भए । कतिपय मेला बन्दसमेत भए । तर वासाङ्गुको दुतिया मेलाले भने आफ्नो निरन्तरता टुट्न दिएन ।
दुतिया मेलाको पर्याय यहाँ सञ्चालन हुने भलिबल प्रतियोगिता पनि हो । यहाँ २०३३ सालदेखि भलिबल खेलाउन थालिएको इतिहास छ । यसअघि गाविस, पालिका, पूर्वाञ्चल क्षेत्रीय र आमन्त्रित भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएका थिए । यस वर्ष भने खुला प्रतियोगिता आयोजना गरिएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
हरेक वर्ष भाइटीकादेखि पाँच दिनसम्म लाग्ने मेलामा पाँचथरसहित ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, मोरङ, सुनसरी र झापासम्मका मानिस पुग्छन् । बूढापाकादेखि युवा पुस्तासम्मको सहभागिताले मेलालाई अन्तरपुस्ता सांस्कृतिक भेटघाटको थलोसमेत बनाएको छ ।
फाल्गुनन्द–४, चिलिङदिनकी ६० वर्षीया रामकुमारी नेम्बाङ बाल्यकालदेखि नै यो मेला भर्न आउँछिन् । यहाँ आएर च्याब्रुङ नाच हेर्न, रोटेपिङ खेल्न र भलिबल हेर्न पाउँदा निकै रमाइलो लाग्ने उनी बताउँछिन् ।
फाल्गुनन्द–६ की ७३ वर्षीया फिपरानी आङ्देम्बे पनि परम्परागत पहिरन र गहनामा सजिएर मेलामा भेटिइन् । पुस्तौंदेखि चलिआएको परम्परालाई निरन्तरता दिन आफू यस वर्ष पनि मेलामा आएको उनले सुनाइन् ।
धरानबाट आएकी टेकरानी लावतीलाई भने यो मेलाको इतिहासबारे पहिल्यै जानकारी थियो । वर्षौंदेखि मेला भर्ने इच्छा भए पनि यसपटक मात्रै त्यो पूरा भएको उनले बताइन् ।
मेलामा लिम्बू समुदायको मौलिक संस्कृति झल्काउने च्याब्रुङ नाच र धाननाच प्रस्तुत गरिन्छ । पालाम, हाक्पारे र साम्लोका भाकाले मेलास्थल गुञ्जायमान बनाउँछन् । यस्ता सांस्कृतिक प्रस्तुतिले नयाँ पुस्तालाई पुर्खाको भाषा, भेषभूषा र परम्परासँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ ।
मेलामा हरेक वर्ष करिब १० हजार मानिस सहभागी हुने गरेको आयोजकको तथ्यांक छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयंसेवक र सुरक्षा निकायको सहकार्यले मेला व्यवस्थापनमा सहज भएको आयोजक समितिका संयोजक अमर आङ्देम्बे बताउँछन् ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।