टिपताला भन्ज्याङमा भारी हिमपात भएपछि मंसिर ३ गते ताप्लेजुङमा हुने द्विदेशीय सीमा बैठक तत्कालका लागि रोकिएको हो।
ताप्लेजुङ — नेपालको ताप्लेजुङ र चीनको डिङजे काउण्टीका सीमा सुरक्षा अधिकारीबीच मंसिर ३ का लागि तय भएको द्विदेशीय सीमा सुरक्षा बैठक स्थगित हुने भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला र चीनको स्वशासित क्षेत्र तिब्बतको डिङजे काउण्टीको सीमावर्ती क्षेत्र टिपताला भन्ज्याङमा परेको हिमपातका कारण सीमा बैठक स्थगित गर्नु परेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जानकारी दिए । ‘औपचारिक निर्णयचाहिँ भोलि सोमबार गछौँ,’ दाहालले भने, ‘तर, सीमा बैठकचाहिँ अहिलेलाई स्थगित गर्ने टुङ्गोमा पुग्यौँ ।’
५३ सय मिटर उचाइमा रहेको टिपताला भन्ज्याङ क्षेत्रमा अहिले धेरै हिउँ जमेको ओलाङचुङगोलामा तेन्जिङ शेर्पाले बताए। ‘उता चाइनातिर पनि सडक पुरै ढाक्नेगरी तलैसम्म हिउँ परेको छ,’ तेन्जिङले भने, ‘यता हाम्रोतिर (ओलाङचुङगोला क्षेत्र)मा पनि हिउँ टिपताला भन्ज्याङको तलैसम्म परेको छ ।’ यो मार्ग तत्काल प्रयोग गर्न सक्ने अवस्था नभएकाले बैठक स्थगनको निर्णय गर्नुपर्ने अवस्था भएको दाहालले बताए ।
ताप्लेजुङमा पहिलो पटक चिनियाँ अधिकारीसँग बैठक हुन लागेको थियो । यसअघि बिभिन्न समयमा ताप्लेजुङका सुरक्षा अधिकारी भनें चिनको रिउ र घुम्तिमामा पुगेर सीमा बैठकमा सहभागी भएका थिए । यस पटक जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमै आयोजना गरेर चिनियाँ सुरक्षा अधिकारीलाई आमन्त्रण गरिएको थियो । चिनियाँ अधिकारीले आउनका लागि तयारी गरे पनि मौसमका कारण तत्काल नहुने भएको फक्ताङलुङ-७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले बताए ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।