काठमाडौं । इटालीले सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटालाई करिब ८ हजार ४०० करोड रुपैयाँ जरिवाना गरेको छ । एन्ड्रोइड प्रयोगकर्ताका तस्बिरमा उनीहरूको स्पष्ट सहमतिबिना पहुँच बनाएको आरोपमा इटालीले मेटामाथि उक्त जरिवाना लगाएको हो ।
इटालीको डेटा संरक्षण प्राधिकरणका अनुसार फेसबुक एपको एक सुविधामार्फत मेटाले प्रयोगकर्ताका तस्बिर तथा भिडियो हेर्न सक्ने व्यवस्था गरेको थियो । तर, यसबारे करिब दुई करोड प्रयोगकर्तालाई पर्याप्त जानकारी नदिएको नियामकको ठहर छ ।
उक्त सुविधाले प्रयोगकर्ताको मोबाइल ग्यालरीमा रहेका तस्बिर तथा भिडियोका आधारमा फेसबुकमा पोस्टका सुझाव दिने गर्छ । यसका लागि फेसबुकले प्रयोगकर्तासँग एकपटक मात्र सम्पूर्ण फोटो ग्यालरीमा पहुँचको अनुमति मागेको थियो । तर, उक्त अनुमतिमार्फत तस्बिरका आधारमा पोस्टका सुझावसमेत दिन सकिनेबारे स्पष्ट जानकारी नदिइएको नियामकले जनाएको छ ।
इटालीको नियामकले मेटालाई उक्त सुविधा स्वतः सक्रिय हुने व्यवस्था रोक्न र प्रयोगकर्ताबाट छुट्टै अनुमति लिन ६० दिनको समय दिएको छ ।
नियामकका अनुसार यसबाट ठूलो संख्यामा प्रयोगकर्ता प्रभावित भएका छन् । एप अद्यावधिक नगरेका वा यसअघि नै उक्त सुविधा प्रयोग गर्न अनुमति दिइसकेका प्रयोगकर्ताका हकमा समेत समस्या कायम रहेको जनाइएको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।