कान्तिपुरसँगको कुराकानीमा सेयर विश्लेषक एवं लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले संस्थागत लगानीकर्ता, आधुनिक प्रविधि र कारोबारयोग्य सेयरमा आधारित परिसूचक बजारको विश्वसनीयताका लागि आवश्यक रहेको बताए।
काठमाडौँ — सेयर विश्लेषक एवं लगानीकर्ताका रूपमा परिचित अम्बिकाप्रसाद पौडेल हाइलाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिजका अध्यक्ष पनि हुन् । उनका अनुसार तीन दशकभन्दा लामो इतिहास बोकेको नेपालको पुाजी बजार अझै पनि अत्यावश्यक पूर्वाधारको कमी, कमजोर नियमन र संरचनागत समस्याबाट मुक्त छैन । हाल ८१ लाख २२ हजारभन्दा बढी नेपाली सेयर बजारसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । तर, लगानीकर्ताको अपेक्षा विपरीत आम लोकप्रियताका लागि बनाइएका नीतिले संस्थागत लगानीकर्तालाई निरुत्साहित गरेको छ । सेयर बजारसँगै अर्थतन्त्रको विकास, उद्योग, पर्यटनलगायत क्षेत्रमा लगानीको सम्भावनाका विषयमा पौडेल सँग कान्तिपुरका यज्ञ बञ्जाडे ले गरेको कुराकानीको सार :
नेपालको सेयर बजार स्थापना भएको झन्डै साढे तीन दशक भइसकेको छ । यो यात्रासँगै बजारको पछिल्लो अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
साढे तीन दशकको इतिहास हेर्दा नेपालको सेयर बजारमा विकास नै भएन भन्न मिल्दैन । विगतमा नेप्सेको ढोकामा गएर चिच्याएर खरिद गरेको सेयर आफ्नो भागमा परे/नपरेको तीन दिनपछि मात्र थाहा पाउने स्थिति थियो । अहिले अनलाइनमार्फत एक क्लिकमै सेयर भर्न, कारोबार गर्न, समग्र कारोबार हेर्न, बजारबारे सबै जानकारी पाउने सक्ने अवस्था छ ।
यो अवस्थासम्म आइपुग्दा हामीले प्रविधिको विकासमा धेरै फड्को मारेका छौं । तर, प्रश्न उठ्छ साढे तीन दशकमा नेपालको पुँजी बजार अन्तर्राष्ट्रियस्तरको भयो त ? हामीसँगै स्थापना भएका अन्य मुलुकका स्टक एक्सचेन्जले जस्तै नयाँ नयाँ उपकरण (प्रडक्ट) र सेवा सुविधा ल्याउन सक्यौं त ? नियामकहरूले लगानीकर्तामैत्री नीति ल्याउन सके ? यी प्रश्नको एउटै उत्तर हो छैन । यसरी हेर्दा अझै सेयर बजारमा धेरै नीतिगत तथा संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता छ । आज हामीले हेरिरहेको नेप्से परिसूचकले पनि समग्र बजारको प्रतिनिधित्व गर्न सकेको छैन । यसको गणना विधि नै परिमार्जन गर्नुपर्छ ।
तपाईंले आजका दिनमा नेप्से इन्डेक्स (परिसूचक) ले समग्र बजारको सही अवस्था प्रतिनिधित्व गर्न सक्दैन भन्नुभयो । यसबारे थप प्रस्ट पारिदिनुस् न ?
नेपालको पुँजी बजारको इन्डेक्स मापनले बजारलाई सही रूपमा प्रतिनिधित्व गर्न सक्दैन भन्नेमा म पहिलेदेखि नै स्पष्ट छु । हाम्रोमा इन्डेक्सको गणना विधि नै सही छैन । कुल बजार पुँजीकरणमा उच्च भार (वेटेज) ओगट्ने तर बजारमा कारोबारयोग्य (ट्रेडेबल) सेयर ५ प्रतिशतभन्दा पनि कम भएका विशाल बजार, युनिलिभर वा नेपाल टेलिकम जस्ता सीमित कम्पनीहरूको सेयर मूल्यमा हुने उतारचढावले समग्र इन्डेक्सलाई बढाउने वा घटाउने गर्छ । ती कम्पनीको थोरै कित्ता कारोबार हुँदा पनि उच्च मूल्यका कारण बजार पुँजीकरण ठूलो देखिन्छ, जसले सर्वसाधारण लगानीकर्तालाई बजारको वास्तविक चित्र दिँदैन ।
इन्डेक्सलाई वास्तविक चित्र दिने बनाउन कुल सेयरमा नभई कारोबारयोग्य सेयरको कारोबार रकमका आधारमा नेप्से इन्डेक्स गणना हुने नीति बनाउनुपर्छ । हालको अवस्थामा समग्र इन्डेक्सभन्दा पनि सूचीकृत कम्पनीको वास्तविक वित्तीय अवस्था, नेटवर्थ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) लगायतका आधारमा लगानीकर्ताले लगानी गर्ने नगर्ने निर्णय गर्नुपर्छ । केही अवस्थामा क्षेत्रगत उपसमूह र केही अवस्थामा व्यक्तिगत कम्पनीको अवस्था विश्लेषण गरेर लगानीका लागि कम्पनी छनोट गर्नुपर्छ ।
अहिले बैंकमा पर्याप्त तरलता छ, ब्याजदर घटेको छ र नीतिहरू पनि सेयर बजार अनुकूल नै देखिन्छन् । तैपनि लगानीकर्ताले सोचेअनुसार लगानी बढाउन किन नसकेका होलान् ?
शब्द वा बोलीमा नीतिहरू बजारमैत्री देखिए पनि व्यवहारमा ठ्याक्कै विपरीत देखिन्छ । नीतिगत सहजता भएकाले बजारमा यो पक्षमा सुधार भयो भन्ने अवस्था छैन । बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भए पनि बैंक तथा वित्तीय संस्था र संस्थागत लगानीकर्तालाई पुँजी बजारमा कर्जा प्रवाह गर्न विभिन्न नीतिगत जटिलता अहिले पनि कायम छन् ।
अर्को मुख्य समस्या हामीले पुँजी बजारलाई व्यक्ति केन्द्रित बनायौं । संस्थागत लगानीकर्ताको प्रवेश रोक्यौं । १० कित्ते नीति जस्ता लोकप्रिय निर्णयका कारण बजारमा वास्तविक सुधार हुन सकेन । राजनीतिक वा अल्पकालीन लोकप्रियताका लागि ल्याइएका ‘पपुलिस्ट’ नीतिहरू पछि हटाउन गाह्रो हुन्छ । अहिले बजारमा त्यही भएको छ । संस्थागत लगानीकर्ताले लगानी विस्तार गर्न पाएका छैनन् । व्यक्तिगत लगानीकर्ताको हालीमुहाली छ । यसले पुँजी निर्माण र बजारको दीर्घकालीन विकासलाई नै असर गर्छ ।
तपाईंले अहिलेका सबैलाई कम्तीमा १० कित्ता सेयर वितरण गर्नुपर्ने नीति ठीक भएन भन्न खोज्नुभएको हो ?
सबैलाई १० कित्ता सेयर वितरण गर्ने नीति सुन्दा निकै लोकप्रिय र समावेशी देखिन्छ । तर, यही नीति बजारको दीर्घकालीन विकास र विस्तारका लागि बाधक पनि देखिएको छ । किनकि १० कित्ते नीतिका कारण जुनसुकै कम्पनीको आईपीओ आए पनि हजार रुपैयाँमा खरिद गर्न पाइने भएपछि सबैले फारम भर्ने र अलिकति बढ्दा बेचिहाल्ने परिपाटी बस्यो ।
साना लगानीकर्तासँग १० कित्ता सेयर रहने र जहिले पनि किनबेच गर्न सकिने । अर्कोतिर संस्थापक सेयरधनीसँग रहेको सेयर ३ वर्षको ‘लकइन पिरियड’ हुने भएकाले बजारमा फेयर प्राइसिङ (उचित मूल्य निर्धारण) हुन पाएन । यसको फाइदा उठाएर सेयर खेलाडी वा स्पेकुलेटरले बजार ‘म्यानिपुलेट’ गर्ने अवसर पाए । विश्वका कुनै पनि पुँजी बजारमा सबैलाई अनिवार्य १० कित्ता बाँड्नैपर्ने र संस्थागत लगानीकर्तालाई रोक्ने नियम छैन । संस्थागत लगानीकर्ता बजारमा व्यावसायिकता र फेयर प्राइसिङ कायम गर्न स्थापित भएका हुन्छन्, तर उनीहरूलाई बन्देज गर्दा कम्पनीहरूको वास्तविक मूल्य निर्धारण हुन सक्दैन । बजारमा स्थायित्व हुन सकेन ।
अहिलेको बजार प्रवेश गर्ने कि बाहिरिने समय हो ? नयाँ लगानीकर्ताका लागि कुन–कुन उपसमूह वा कम्पनीको सेयरमा लगानीका लागि उपयुक्त देख्नुहुन्छ ?
समग्रतामा हेर्दा अहिले बजार ऐतिहासिक न्यून बिन्दुमा छ । राम्रा कम्पनीमा लगानीका लागि यो उपयुक्त समय हो । धेरै कम्पनीको सेयर मूल्य तिनको नेटवर्थभन्दा पनि तल वा एकदमै कम जोखिमको अवस्थामा छ । तर, नीतिगत समस्याका कारण केही कम्पनीको सेयर मूल्य अधिमूल्यन (वास्तविकताभन्दा बढी) र केहीको अवमूल्यन (वास्तविकताभन्दा कम) छन् । त्यसैले अहिले नेप्से इन्डेक्स मात्र नहेरी कम्पनीको कार्य सम्पादन (पर्फर्मेन्स) हेर्नुपर्छ । क्षेत्रगत रूपमा हेर्दा पनि हालको अवस्थामा म्यानुफ्याक्चरिङ (उत्पादनमूलक) र प्रभावकारी नियमन भएको बैंकिङ क्षेत्र तुलनात्मक रूपमा सुरक्षित र राम्रो देखिन्छन् ।
बजार केही सीमित व्यक्तिको हातमा छ, यही कारण ‘इन्साइडर ट्रेडिङ’ र ‘म्यानुपुलेसन’ हुन्छ भन्ने आरोप छ नि ?
बजार सीमित व्यक्तिको हातमा छ भन्ने कुरामा म सहमत छैन । अहिले ८० लाखभन्दा बढी डिम्याट खाता र ३५ लाखभन्दा बढी सक्रिय लगानीकर्ता भइसकेका छन् । मुख्य समस्या भनेको नियामक र नेप्सेले प्रविधिमा पर्याप्त लगानी नगर्नु हो । आजको कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको जमानामा आधुनिक प्रविधि भित्र्याएको भए ‘इन्साइडर ट्रेडिङ’ वा ‘म्यानुपुलेसन मिलिसेकेन्ड’मै पहिचान गरेर नियन्त्रण गर्न सकिन्थ्यो । विडम्बना हामी अझै पनि १० वर्ष पुरानै प्रविधि र कागजमैत्री प्रणालीमा विश्वास गरिरहेका छौं ।
तपाईंले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गर्नुभएको छ । हाइलाइफ ब्रान्ड निकै चर्चामा छ । हाइलाइफ के हो, त्यसको बारेमा बताइदिनुस् न ?
म पुँजी बजारकै जगमा उभिएको मान्छे हुँ, तर उद्योग सञ्चालन गर्दा पाइने आत्मसन्तुष्टि फरक हुन्छ । हाम्रो उद्योग ‘हाइलाइफ एग्रो एन्ड फुड इन्डस्ट्रिज लिमिटेड’ भैरहवामा छ, जहाँ करिब ४ सय जनाले रोजगारी पाएका छन् । हामीले कुरुम–कुरुम चिउरा, चोकोज, कर्नफ्लेक्स, ओट्स, चिया, दाल, चामल, कर्णाली ब्रान्डका खाद्यान्न उत्पादन गर्छौं । आगामी ५ वर्षभित्र ३ देखि ४ अर्ब रुपैयाँ थप लगानी गरी ८० प्रतिशत नेपालीको चुलोसम्म बिहानदेखि बेलुकासम्मका उपभोग्य वस्तु पुर्याउने लक्ष्य राखेका छौं ।
तपाईंले पर्यटन (होटल) क्षेत्रमा पनि लगानी गर्नुभएको छ । यस क्षेत्रको सम्भावना, चुनौती र आगामी योजना के छ ?
नेपालमा पर्यटनको अथाहा सम्भावना भए पनि यो क्षेत्र चुनौतीपूर्ण छ । गएको दुई वर्षमा कहिले सीमावर्ती समस्या, कहिले जेन–जी आन्दोलनलगायत कारण पर्यटन उद्योग पटक–पटक प्रभावित हुँदै तंग्रिँदै आएको छ । सरकारको पर्यटन प्रवर्द्धन नीति प्रोत्साहन गर्ने खालको छैन । यो क्षेत्रमा धेरै लगानी र कम प्रतिफल भएको अवस्था छ । त्यसैले हाल सञ्चालनमा रहेको होटल ‘लेमन ट्री’लाई नै उत्कृष्ट बनाउने मेरो योजना हो । तत्काल पर्यटन क्षेत्रमा नयाँ लगानी थप्ने मेरो योजना छैन ।
तपाईंलाई उद्यमी कम लगानीकर्ता बढी भनेर चिन्छन् । यद्यपि तपाईंले म्यानुफ्याक्चरिङ, पर्यटनलगायत क्षेत्रमा ठूलो लगानी गरिसक्नुभएको छ । पैसा कमाउन कहाँ सजिलो हुँदो रहेछ, सेयर बजार कि म्यानुफ्याक्चरिङ तथा सेवा क्षेत्रमा ?
संसारमा कमाउन कतै पनि सजिलो छैन । सेयर बजारले मलाई पहिचान र आर्थिक ब्याकअप दियो । तर यसले मेरो व्यक्तिगत बैंक खाता र राज्यको राजस्व खाता मात्र चिन्छ । उद्योग र पर्यटन क्षेत्रमा लगानी गर्दा सयौं परिवारको रोजगारी, किसान, गाडी चालक र कर्मचारीको अनुहारमा मुस्कान ल्याउँछ । नागरिकका जीवनका वास्तविक रङहरू उद्योग–व्यवसायमै देख्न पाइन्छ, त्यसैले मलाई उद्योगमै काम गर्दा बढी आनन्द मिल्छ ।
नेपालको सेयर बजारलाई अन्तर्राष्ट्रियस्तरको र सुशासित बनाउन सरकार वा नियामक निकायलाई यहाँका मुख्य तीन सुझाव के–के छन् ?
पहिलो आम मानिस वा भीडको आकर्षण हेरेर नीति नबनाउनुस् । नीति नियम बनाउँदा अन्तर्राष्ट्रिय अभ्यास, बजारको अवस्था विचार गरेर दीर्घकालसम्म लागू हुने बनाउनुपर्छ । दोस्रो पुँजी बजारलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनुपर्छ । अहिलेजस्तो प्रविधि र लगानीकर्ताको अपेक्षाबीचको अन्तर अन्त्य गर्नुपर्छ । तेस्रो, संस्थागत लगानीकर्तालाई पुँजी बजारमा पर्याप्त स्थान र प्रोत्साहन गर्नुपर्छ । संस्थागत लगानीकर्ता नै बजार निर्माता र वास्तविक आधारस्तम्भ हुन् ।
यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।