Trending
Prev Story
Next Story

के हो माचा ? किन युवापुस्ताले रुचाउँदैछन्, यो पेय ?

Onlinekhabar •
November 13, 2026 • 08:31 AM
1
1 reads 0 reactions

कफीको चुस्की लिने बानी परेकाहरूको हातमा आजभोलि हरियो पेय देखिन थालेको छ । क्याफेमा अर्डर गर्दा पनि कफी होइन, माचा खोज्नेहरू बढेका छन् । कपमा हेर्दा हरियो, स्वादमा अलि फरक । नाम हो, माचा । सामाजिक सञ्जालमा …

के हो माचा ? किन युवापुस्ताले रुचाउँदैछन्, यो पेय ?

कफीको चुस्की लिने बानी परेकाहरूको हातमा आजभोलि हरियो पेय देखिन थालेको छ । क्याफेमा अर्डर गर्दा पनि कफी होइन, माचा खोज्नेहरू बढेका छन् ।

कपमा हेर्दा हरियो, स्वादमा अलि फरक । नाम हो, माचा ।

सामाजिक सञ्जालमा यसकै चर्चा छ । युवापुस्तामाझ त माचा पिउनु एउटा नयाँ ट्रेन्ड नै बनेको छ ।

माचा लाते, आइस्ड माचा हुँदै अहिले ‘डर्टी माचा’ समेत चर्चामा छ ।

आखिर, यो माचा के हो ? किन यसको मोह बढिरहेको छ ?

माचा जापानमा परम्परागत रूपमा प्रयोग हुँदै आएको एक प्रकारको हरियो चिया हो । सामान्य हरियो चियामा पातलाई पानीमा उमालेर वा भिजाएर त्यसको रस पिइन्छ ।

माचामा भने विशेष तरिकाले उत्पादन गरिएका चियाका पातलाई सुकाएर मसिनो पाउडर बनाइन्छ । यही पाउडरलाई पानी वा दूधमा घोलेर पिइन्छ ।

त्यसैले, माचा पिउँदा चियाको पानी मात्र होइन, चियाको पात नै पाउडरका रूपमा सेवन गरिन्छ ।

माचामा क्याटेचिन लगायतका एन्टिअक्सिडेन्ट पाइन्छन् । यस्ता तत्त्वले शरीरमा हुने अक्सिडेटिभ स्ट्रेस कम गर्न भूमिका खेल्छन् ।

हरियो चियामा पनि एन्टिअक्सिडेन्ट पाइने भएकाले त्यससँग सम्बन्धित स्वास्थ्य फाइदाबारे विभिन्न अध्ययन भएका छन् ।

माचामा पाइने एन्टिअक्सिडेन्टले छालालाई अक्सिडेटिभ तनावबाट जोगाउन र समयअगावै चाउरी पर्ने प्रक्रिया कम गर्न सहयोग गर्न सक्छ।

यसले शरीरका कोषलाई क्षति हुनबाट जोगाउन, रोग प्रतिरोधात्मक क्षमतामा सहयोग पुर्‍याउन तथा मुटुको स्वास्थ्यका लागि लाभ दिन सक्छ।

यद्यपी, माचा सामान्य हरियो चियाभन्दा स्वास्थ्यका लागि कति बढी प्रभावकारी हुन्छ भन्ने विषयमा अझै थप खोजीकै विषय रहेको यसबारे अध्ययन गर्ने विज्ञहरू बताउँछन् ।

त्यसैले, माचालाई कुनै रोगको उपचार वा सबै स्वास्थ्य समस्याको समाधानका रूपमा बुझ्नु उचित हुँदैन ।

माचामा क्याफिनसँगै एल–थियानिन पनि पाइन्छ ।

क्याफिनले शरीरलाई जागरुक राख्न र ध्यान केन्द्रित गर्न सहयोग गर्न सक्छ । एल–थियानिनले पनि मस्तिष्कको कार्यक्षमतासँग सम्बन्धित केही प्रभाव पार्न सक्ने अध्ययनहरू छन् ।

यही कारण माचा पिएपछि कफी वा अन्य क्याफिनयुक्त पेयजस्तै जागरुक महसुस हुने, तर केही मानिसमा तुलनात्मक रूपमा शान्त किसिमको ऊर्जा प्राप्त हुने अनुभव हुनसक्छ ।

तर यसको प्रभाव सबै व्यक्तिमा एउटै हुन्छ भन्ने छैन ।

के त्यसोभए, तौल घटाउन पनि सहयोग गर्छ ?

हरियो चिया र तौल व्यवस्थापनबीचको सम्बन्धबारे केही अध्ययन भएका छन् । हरियो चियामा पाइने क्याटेचिन र क्याफिनले शरीरको ऊर्जा खर्च तथा बोसोको मेटाबोलिजम केही प्रभाव पार्न सक्ने देखिएको छ ।

नेशनल लाइब्रेरी अफ मेडिशिनमा प्रकाशित एक अध्ययन अनुसार माचामा पनि यस्ता तत्व पाइने भएकाले तौल घटाउन सहयोग गर्छ भन्ने चर्चा हुने गरेको हो ।

तर माचा पिउँदैमा तौल घट्छ भन्ने होइन । तौल व्यवस्थापनका लागि खानपान, शारीरिक गतिविधि, निद्रा र समग्र जीवनशैली महत्वपूर्ण हुन्छन् ।

फाइदाजनक भए, कफीको विकल्प बन्न सक्छ ?

माचामा क्याफिन हुन्छ । त्यसैले, यसलाई कफीको विकल्पका रूपमा पनि धेरैले प्रयोग गर्छन् ।

तर माचामा पनि क्याफिन हुने भएकाले धेरै पिउनु फाइदाजनक हुँदैन । बढी क्याफिन सेवन गर्दा मुटुको धड्कन बढ्ने, बेचैनी हुने, निद्रामा समस्या आउने वा चिन्ता बढ्ने जस्ता समस्या देखिन सक्छन् ।

विशेषगरी क्याफिनप्रति संवेदनशील व्यक्तिले यसको मात्रा ख्याल गर्नुपर्छ ।

चर्चित बनिरहेको अर्को पेय, ‘डर्टी माचा’

माचा आफैंमा चर्चित छ । तर अहिले यसको अर्को रूप पनि क्याफेहरूमा लोकप्रिय हुँदै गएको छ– ‘डर्टी माचा ’।

नाम सुन्दा केही अस्वस्थ वा फोहोर पेयजस्तो लाग्न सक्छ । तर त्यस्तो होइन ।

डर्टी माचा भनेको सामान्यतया माचा, दूध र एस्प्रेसो मिलाएर बनाइने पेय हो । माचा र दूधको मिश्रणमा माथिबाट एस्प्रेसो थपिन्छ ।

हेर्दा पनि यसको तह छुट्टाछुट्टै देखिन सक्छ,  हरियो माचा, सेतो दूध र माथि गाढा कफी ।

स्वादका हिसाबले पनि यो सामान्य माचा लातेभन्दा फरक हुन्छ । माचाको हल्का तितोपन र कफीको गहिरो स्वाद एकैपटक पाइन्छ ।

तर डर्टी माचा पिउँदा एउटा कुरा भने ध्यान दिनुपर्छ, यसमा माचा र कफी दुवैबाट क्याफिन आउँछ ।

माचामा आफैं क्याफिन हुन्छ । त्यसमा फेरि एस्प्रेसो थपिँदा कुल क्याफिनको मात्रा बढ्न सक्छ । धेरै क्याफिन सेवन गर्दा बेचैनी, मुटुको धड्कन बढ्ने, हातखुट्टा काम्ने वा राति निदाउन समस्या हुनेजस्ता असर देखिन सक्छन्।

त्यसैले, डर्टी माचा स्वादका लागि कहिलेकाहीँ रोज्न सकिने पेय भए पनि यसलाई सामान्य माचाभन्दा बढी ‘स्वास्थ्यकर’ ठान्नु उचित हुँदैन ।

माचा पिउँदा ध्यान दिनुपर्ने कुरा पनि छन्

माचा स्वास्थ्यका लागि राम्रो हुन सक्छ भन्दैमा जति धेरै पियो, उति राम्रो हुने होइन ।

माचा लाते वा अन्य लोकप्रिय पेयमा धेरै चिनी, सिरप, क्रिम वा अन्य गुलियो पदार्थ थपिएको हुन सक्छ । यस्तो अवस्थामा माचाबाट पाइने सम्भावित फाइदाभन्दा थपिएको चिनीको मात्रा महत्वपूर्ण हुन सक्छ ।

त्यसैले, माचा रोज्दा कम चिनी भएको वा चिनी नथपिएको माचा रोज्नु राम्रो हुन्छ ।

त्यस्तै, बजारमा पाइने सबै माचा एउटै गुणस्तरका नहुन पनि सक्छन् । उत्पादनको गुणस्तर, शुद्धता र त्यसमा मिसाइएका अन्य सामग्रीबारे पनि ध्यान दिनुपर्छ ।

माचाको लोकप्रियता अहिले नेपालमा पनि बढिरहेको छ । क्याफेहरूमा नयाँ स्वाद र शैलीमा यसको प्रयोग हुन थालेको छ । सामाजिक सञ्जालको ट्रेन्ड  होला भनेर पछ्याउनु र  ‘सुपरफुड’ भनेर अन्धाधुन्ध सेवन गर्नु उचित होइन ।

यसमा पाइने एन्टिअक्सिडेन्ट, क्याफिन र एल–थियानिन बारे जान्नुका साथै व्यक्तिको स्वास्थ्य अवस्था, सेवन गर्ने मात्रा र माचा तयार गर्ने तरिका जानेर पिउनु उचित हुनसक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
13h ago
चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो

चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो

काठमाडौं । नेपाली चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट चिया तथा कफीजन्य विभिन्न उत्पादनको निर्यात उल्लेख्य देख...

#कफी #चिया
Compare →

Related Stories

Sports
Build #2611