बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् ।
शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको छ । निर्माताले सार्वजनिक गरेको नयाँ प्रोमोमा दुई मिल्ने साथीबीचको विवादले उग्र रूप लिएको देखिन्छ । प्रोमोमा यङ डीएसए कन्फेसन रुममा बसेर स्काउटसँग अब एउटै घरमा बस्न नसक्ने बताइरहेका छन् ।
उनी भन्छन्, ‘मेरो पहिलो कम्पनीको साथीसँग पनि मेरो झगडा भएको थियो ।’
त्यसपछि दृश्य एकाएक परिवर्तन हुन्छ र आम्रपालीको आवाज सुनिन्छ, ‘स्काउट, तिमी उसलाई हिर्काउन सक्दैनौं ।’
प्रोमोमा दुवैबीचको वास्तविक हात हालाहाल भने देखाइएको छैन । तर, स्काउटलाई काजी तौकीरले पछाडि तानिरहेको र यङ डीएसएलाई गुल्लूले सम्हालिरहेको दृश्य देखिन्छ । यसक्रममा फिल्म ‘एनिमल’को गीतसमेत ब्याकग्राउन्डमा सुनिन्छ ।
काजीले स्काउटलाई ‘तँ बेवकुफ होस् ?’ भन्दै सम्झाइरहेको पनि सुनिन्छ ।
प्रोमो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दर्शकले यसको सम्पादनको प्रशंसा गरेका छन् ।
एक प्रयोगकर्ताले ‘बिग बोसका पुराना अनुभवी सम्पादकहरू फर्किएछन्’ भन्दै प्रतिक्रिया दिएका छन् । अर्का प्रयोगकर्ताले ‘सम्पादकले दिवाली बोनस पाएजस्तो छ, त्यसैले यति राम्रो प्रोमो बनाएका छन्’ लेखेका छन् ।
केही दर्शकले पछिल्ला केही दिनदेखि यस्तै रोमाञ्चक प्रोमोको प्रतीक्षा गरिरहेको बताएका छन् । कतिपयले यसको सम्पादनले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।
यङ र स्काउटबीच झगडा हुनुको वास्तविक कारण भने प्रोमोमा खुलाइएको छैन । तर, रेडिटमा गरिएको एउटा पोस्टमा उनीहरूबीचको विवाद टर्चर टास्कका क्रममा सुरु भएको दाबी गरिएको छ ।
उक्त पोस्टअनुसार, टास्कका क्रममा उदिति रोबोट कुर्सीमा बसिरहेकी हुन्छिन् । उनलाई भावुक बनाउने उद्देश्यले स्काउटले उदितिको पारिवारिक तस्बिर ल्याएर कुनामा जलाउने प्रयास गर्छन् ।
त्यसपछि गुल्लू र यङ डीएसएले स्काउटलाई लगातार रोक्न खोज्छन् । यही विषयलाई लिएर उनीहरूबीच सुरुमा भनाभन हुन्छ ।
पछि विवाद बढ्दै जाँदा गालीगलौज र धक्कामुक्कीसम्म पुगेको दाबी गरिएको छ । यद्यपि, झगडाको वास्तविक कारण र घटनाको विस्तृत विवरण भने आजको एपिसोड प्रसारण भएपछि मात्रै स्पष्ट हुनेछ ।