भेटका क्रममा उनीहरूबीच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको बताइएको छ ।
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँगको भेटवार्तामा यस्तो आग्रह गरेका हुन् । भेटका क्रममा उनीहरूबीच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको बताइएको छ । भेटमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरे । पर्याप्त स्वच्छ ऊर्जा र चिसो हावापानीका कारण सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि नेपाल अत्यन्त आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।
यसका साथै केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा समेत लगानीको ठुलो अवसर रहेको उनले जनाए । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । आगामी वर्ष सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गरे । लगानीकर्तालाई नीतिगत र नियमनकारी स्पष्टतासहित विश्वास दिलाउन द्विपक्षीय लगानी सम्झौता (बीआर्इए) तथा दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता ढकालले औंल्याए । ढकालले फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गरिदिन अनुरोध गरेको जनाइएको छ ।