गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दाङ — मोटरसाइकलको ठक्करबाट देउखुरीमा एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–७ मानपुरका ३० बर्षीय राम कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
राजपुर गाउँपालिकाको बेलाबाट गढवातर्फ जाँदै गरेको लु ६ प ७७३ नम्वरको मोटरसाईकलले बुधबार राति सोही दिशाबाट आइरहेका साइकल यात्रीलाई गढवा गाउँपालिका–६ परिचोकमा ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते चौधरीलाई लु ८४ प ९८८४ नम्वरको अर्को मोटरसाइकलले समेत ठक्कर दिएको थियो । दुई वटा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा राति निधन भएको थियो । दुई वटै मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।