नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।
काठमाडौं — जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभाव, प्राकृतिक विपद् र मानवीय सेवाका विषयमा छलफल भोलि शुक्रबारदेखि काठमाडौंमा ११औं वार्षिक ड्रुक्पा परिषद् हुने भएको छ ।
ड्रुक अमिताभ माउन्टेनमा १३ देखि १७ नोभेम्बरसम्म सञ्चालन हुने परिषद्मा विश्वका विभिन्न मुलुकबाट ड्रुक्पा बौद्ध गुरु, आध्यात्मिक अगुवा, विद्यार्थी तथा प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ । ‘विश्वव्यापी अनिश्चितताको सामना करुणा, समानता र सम्मानका साथ’ भन्ने नारासहित आयोजना हुने परिषद्मा विशेषगरी जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभाव र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल हुनेछ ।
नेपालमा पछिल्लो समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा बौद्ध दर्शन र आधुनिक विज्ञानलाई जोडेर जलवायु परिवर्तनको सामना गर्ने उपायबारे बहस हुने आयोजकले जनाएको छ ।
परिषद् उद्घाटनका दिन रसुवामा हालै भएको प्राकृतिक विपद्बाट प्रभावित तथा ज्यान गुमाएकाहरूको सम्झनामा विशेष प्रार्थना कार्यक्रम आयोजना गरिनेछ । ड्रुक्पा बौद्ध गुरुहरूले विपद्का पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्ने कार्यक्रम छ ।
प्रार्थनापछि जलवायु परिवर्तन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वका विषयमा बौद्ध दर्शन तथा विज्ञानका दृष्टिकोणबाट छलफल हुनेछ ।
यस वर्षको परिषद्मा ड्रुक्पा कुङ्फु ननहरूको मानवीय तथा सामाजिक सेवाका गतिविधि पनि विशेष रूपमा प्रस्तुत गरिनेछ । मार्सल आर्ट्समा दक्षताका कारण अन्तर्राष्ट्रिय रूपमा परिचित यी भिक्षुणीहरूले हिमाली क्षेत्रमा विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका काममा समेत योगदान पुर्याउँदै आएका छन् ।
उनीहरूले प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई पुनःस्थापना गर्न सहयोग गर्नुका साथै वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जनचेतना फैलाउँदै आएका छन् । यसका लागि उनीहरूले पदयात्रा र साइकल यात्रामार्फत शान्ति, अहिंसा र वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै आएका छन् ।
त्यस्तै, लैंगिक समानता प्रवर्द्धन, रक्तदान कार्यक्रम तथा स्थानीय समुदायमा वातावरण संरक्षणसम्बन्धी अभियान सञ्चालनमा पनि उनीहरू सक्रिय छन् ।
सन् २००९ मा ड्रुक्पा सम्प्रदायका प्रमुख ग्याल्वाङ ड्रुक्पाले स्थापना गरेको वार्षिक ड्रुक्पा परिषद् विश्वभरका ड्रुक्पा बौद्ध समुदायलाई एकै ठाउँमा जोड्ने अन्तर्राष्ट्रिय मञ्च हो । ग्याल्वाङ ड्रुक्पा अन्तर्राष्ट्रिय मानवीय संस्था ‘लाइभ टु लभ’का संस्थापकसमेत हुन् । परिषद्ले आध्यात्मिक अभ्यासलाई सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र समुदायको सेवासँग जोड्नुपर्ने मान्यतालाई प्राथमिकता दिँदै आएको छ ।
१७ नोभेम्बरसम्म चल्ने परिषद्मा युवाका आवाज, बौद्ध दर्शन, दिगो सामुदायिक सेवा र विश्वव्यापी चुनौतीको सामना गर्न आध्यात्मिक मूल्यको भूमिकाबारे छलफल हुने कार्यक्रम छ ।