Trending
Prev Story
Next Story

म:मःको स्वादसँगै प्रेमको कथा : काठमाडौंको परिकार जेनेभासम्म

Ekantipur •
November 12, 2026 • 10:32 AM
1
1 reads 0 reactions

आफ्नो यौनिक पहिचान लुकाएर बाँच्नुपर्ने बाध्यतादेखि परिवारको स्वीकृति र परदेशमा साझा व्यवसाय स्थापनासम्मको यात्रा सहज थिएन । पहिचानको संघर्ष र अनेक चुनौती पार गर्दै शक्ति र अभिषेक अहिले जेनेभामा नेपाली स्वाद चखाइरहेका छन् ।

म:मःको स्वादसँगै प्रेमको कथा : काठमाडौंको परिकार जेनेभासम्म

आफ्नो यौनिक पहिचान लुकाएर बाँच्नुपर्ने बाध्यतादेखि परिवारको स्वीकृति र परदेशमा साझा व्यवसाय स्थापनासम्मको यात्रा सहज थिएन । पहिचानको संघर्ष र अनेक चुनौती पार गर्दै शक्ति र अभिषेक अहिले जेनेभामा नेपाली स्वाद चखाइरहेका छन् ।

जेनेभा — चटपटे, भेज मःमः, चिकेन मःमः, पोर्क मःमः, चाउमिनलगायत परिकार । काठमाडौं र आसपासका रेस्टुरेन्टका मेनुमा देखिने यी परिकार कुनै नौलो होइनन् ।

तर, एकछिन पर्खनुस् । यहाँ केही फरक छ ।

यो काठमाडौं होइन, स्विट्जरल्यान्डको जेनेभा हो । जेनेभा ताल, जेट डी’ओ र प्लाज दे जो-विभ नजिकै रहेको एउटा आत्मीय रेस्टुरेन्ट— ‘बन्सएनस्पाइस–मःमः एन्ड मोर’।

रेस्टुरेन्टको ढोकामा इन्द्रेणी झन्डासहित एउटा सानो सन्देश टाँसिएको छ, ‘यहाँ सबैलाई स्वागत छ।’ आगन्तुकलाई स्वागत गर्न त्यहाँ शक्ति कार्की र अभिषेक पाठक सधैं तयार हुन्छन्।

विराटनगरका ३७ वर्षीय कार्की र बिर्तामोडका ३१ वर्षीय पाठक पछिल्ला चार महिनादेखि स्विट्जरल्यान्डको यस सहरमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । तर, उनीहरूको रेस्टुरेन्टको परिचित नेपाली परिकारको मेनुभित्र प्रेम, साहस र परदेशमा शून्यबाट जीवन सुरु गर्दाको एउटा कथा पनि लुकेको छ ।

कार्की सन् २००८ मा अध्ययनका लागि स्विट्जरल्यान्ड पुगेका थिए । पढाइ सकेपछि उनले एउटा कम्पनीमा प्रशिक्षार्थीका रूपमा काम सुरु गरे । पछि त्यही कम्पनीबाट जागिरको प्रस्ताव पाएपछि उनी त्यहीँ काम गर्न थाले ।

कोभिड–१९ महामारीका बेला सन् २०२० मा उनी नेपाल फर्किए । त्यही बेला डेटिङ एप टिन्डरमार्फत उनको भेट पाठकसँग भयो । चार महिनापछि कार्की जेनेभा फर्किए । तर, उनीहरूबीचको सम्पर्क टुटेन।

‘दूरीमा बसेर सम्बन्ध अघि बढाउन सजिलो थिएन,’ कार्कीले भने, ‘हामी सँगै बस्न चाहन्थ्यौं। त्यसैले विवाह गर्ने निर्णय गर्‍यौं।’

तर, सोचेजस्तो सहज थिएन यो निर्णय। साथीभाइसँग सल्लाह गर्दा उनीहरूले नेपालमा समलिंगी विवाहले कानुनी मान्यता पाए पनि विवाह दर्ता र अन्य प्रक्रियामा अनेक जटिलता आउन सक्ने बताए। अर्को समस्या थियो— पाठकसँग स्विट्जरल्यान्ड जाने भिसा थिएन।

त्यसपछि कार्कीले नेपाल नै फर्किने सोच बनाए । उनी सन् २०२४ को अक्टोबरमा नेपाल आए। परिवारसँगै बस्ने र आफ्नो जीवनसाथीसँग समय बिताउने उनको चाहना थियो। विमानस्थलमा उनलाई लिन पाठक पुगेका थिए। तर, कार्की नेपाल ओर्लिएको केही समयमै पाठकको भिसा आयो। त्यसपछि उनीहरूको योजना फेरियो।

‘म नेपाल आइपुग्नेबित्तिकै हामी दुवैको फर्किने टिकट बुक गर्न थाल्यौं,’ कार्की हाँस्दै सम्झन्छन्।

अन्ततः उनीहरूले जेनेभामै विवाह दर्ता गरे।

कार्कीलाई खाना पकाउन पहिलेदेखि नै रुचि थियो। आफ्नो रुचिलाई केही उत्पादनमूलक काममा बदल्ने उनको चाहना थियो। भान्सामा नयाँनयाँ परिकार बनाउन उत्तिकै रुचि राख्ने साथी पनि भेटिए।

‘हामीले रेस्टुरेन्ट सुरु गर्‍यौं। पछि उसैले यसको जिम्मेवारी सम्हाल्यो र विस्तार पनि गर्‍यो,’ कार्कीले आफ्नो जीवनसाथीतर्फ संकेत गर्दै भने।

उनीहरूको व्यावसायिक यात्रा मःमःबाट सुरु भएको थियो।

‘हामी प्रायः सप्ताहान्तमा मःमः बनाउँथ्यौं र साताभरि बेच्थ्यौं,’ पाठकले भने, ‘शक्ति अफिसबाट फर्किएपछि साँझ मलाई सघाउँथ्यो। भान्सामा पकाउनेदेखि ग्राहकलाई पस्किने र डेलिभरी गर्ने सबै काम म आफैं गर्थें।’

कार्कीका अनुसार रेस्टुरेन्ट खोल्ने सोच पाठककै थियो।

‘मलाई पनि खाना, पकाउने काम र नयाँ परिकारको स्वाद चाख्न उत्तिकै मन पर्छ। त्यसपछि मैले लगानी गर्ने साथी पनि भेटेँ,’ पाठकले कार्कीतिर मायालु नजर लगाउँदै हाँसेर भने।

घरमै मःमः बनाएर सहरका विभिन्न ठाउँमा पुर्‍याउने उनीहरूको सानो प्रयास बिस्तारै रेस्टुरेन्टसम्म आइपुग्यो।

पाठकका लागि रेस्टुरेन्ट खोल्नु खाना पकाउने रहर पूरा गर्नु मात्र थिएन। जेनेभा पुगेपछि उनले सबैभन्दा पहिले फ्रेन्च भाषा सिक्न थाले। त्यसपछि एउटा भारतीय रेस्टुरेन्टमा प्रशिक्षार्थीका रूपमा काम गरे। त्यहाँ उनले व्यावहारिक अनुभव बटुले र आफ्नै व्यवसाय सञ्चालन गर्न आवश्यक सिप सिके।

खानपान र व्यवसायको कुराकानीबाट उनीहरूको सम्बन्धको प्रसंगतिर जाँदा दुवै खुलेर आफ्ना अनुभव सुनाउन तयार देखिन्थे।

धरानको भेडेटारमा भएको पहिलो भेटपछि उनीहरू बिस्तारै एकअर्काको जीवनको हिस्सा बन्दै गए। एकअर्काको घर जाने, परिवारसँग भेटघाट गर्ने क्रम पनि बढ्दै गयो।

पाठकले कार्कीलाई आफ्नो परिवारसँग साथीका रूपमा चिनाएका थिए। उनकी आमालाई पनि कार्की मन पर्थे। तर, उनीहरूबीच प्रेम सम्बन्ध रहेको कुरा भने आमालाई थाहा थिएन।

‘आमालाई हामी विवाह गरेर जेनेभा जाने योजनाबारे बताउँदा उहाँको प्रतिक्रिया कस्तो होला भन्नेमा म ढुक्क थिइनँ,’ पाठकले भने, ‘तर मेरो आश्चर्यको सीमा रहेन, उहाँले सहजै हुन्छ भन्नुभयो।’

पाठकका अनुसार उनकी आमाले एलजीबीटीक्यू प्लस समुदायका मानिसबारे आफूलाई थाहा भएको बताएकी थिइन्। सन्तानको जीवनलाई अभिभावकका कारण जटिल बनाउन नचाहेको उनको भनाइ थियो। पछि आमाले नै पाठकका बुबालाई उनीहरूको सम्बन्धबारे जानकारी दिइन्। अन्ततः परिवारले उनीहरूको निर्णय स्वीकार गर्‍यो।

कार्कीका लागि भने आफ्नो यौनिक पहिचान परिवारसामु खुलाउनु त्यति सहज थिएन।

लामो समयसम्म उनले आफ्ना भावना आफैंभित्र दबाएर राखेका थिए। तर, आफ्नो पहिचान लुकाउनुपर्ने बाध्यता र विवाह गर्नुपर्ने पारिवारिक अपेक्षाले उनलाई विस्तारै असहज बनाउन थाल्यो।

‘त्यसैले एक दिन मैले आमालाई आफ्नोबारे सबै कुरा भनेँ,’ उनले भने, ‘मेरो कुरा सुनेपछि सुरुमा आमा रुनुभयो। तर पछि उहाँले मलाई साथ दिनुभयो।’

पछि कार्कीकी आमाले परिवारका अन्य सदस्य र आफन्तलाई पनि यसबारे जानकारी गराइन्। उनीहरू एक आफन्तको विवाहमा सहभागी हुन नेपाल फर्किँदा परिवार र आफन्तबाट पाएको साथले दुवैलाई आश्चर्यचकित बनायो।

‘यसपटक मैले आफू जे हुँ, त्यही रूपमा बाँच्दा साँच्चिकै खुसी महसुस गरेँ,’ कार्कीले भने।

नेपालमा समलिंगी विवाहले कानुनी मान्यता पाए पनि विवाह दर्ताका क्रममा आफूहरूले असहज र अप्ठ्यारा अनुभव भोग्नुपरेको उनीहरू बताउँछन्।

‘विवाह गर्न खोज्दा फाराममा पुरुषका लागि मिस्टर र महिलाका लागि मिस मात्रै विकल्प हुन्छन्,’ पाठकले भने।

यस्तो अनुभवले उनीहरूलाई एउटा कुरा महसुस गरायो—कानुनी मान्यता पाउनु मात्रै पर्याप्त हुँदैन। प्रशासनिक प्रक्रिया र कर्मचारीको सोचमा पनि परिवर्तन आवश्यक छ। समलिंगी जोडी विवाह दर्ताका लागि पुग्दा अझै पनि कर्मचारीहरू आश्चर्यमा पर्ने गरेको उनीहरूको अनुभव छ।

जेनेभामा सँगै जीवन बिताइरहेका पाठक अब युरोपका अन्य ठाउँ घुम्न र नयाँ अनुभव बटुल्न चाहन्छन्। कम्तीमा अर्को एक दशक नेपाल फर्किने योजना उनको छैन।

‘म व्यवसाय विस्तार गर्न चाहन्छु,’ उनले भने, ‘भविष्यमा जेनेभामै अरू रेस्टुरेन्ट खोल्ने इच्छा छ। सम्भव भयो भने नेपालबाटै बच्चा धर्मपुत्र वा धर्मपुत्रीका रूपमा ल्याउन चाहन्छु। उनीहरूलाई यहीँ हुर्काउने र अवकाश जीवन बिताउने बेला सायद नेपाल फर्किने सोच छ।’

कार्की पनि यी सपनाको यात्रामा सँगै रहने योजनामा छन्। ‘अभिषेकले यहाँको जीवन अझै अनुभव गर्न बाँकी छ। भर्खरै यहाँको जीवन सुरु गरेको छ, केही घुमफिर पनि गर्नुपर्छ,’ उनले भने, ‘म पनि केही महिनापछि रेस्टुरेन्टको काममा सहभागी हुनेछु। त्यसपछि जीवनले कता लैजान्छ, हेर्दै जाऔंला।’

तर, जेनेभामा रेस्टुरेन्ट स्थापना गर्नु उनीहरूले सोचेभन्दा कठिन रह्यो।

उनीहरूका अनुसार रेस्टुरेन्ट खोल्न सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी तालिम पूरा गर्नेदेखि उपयुक्त स्थान खोज्ने र बाहिर साइनबोर्ड राख्नसमेत अनुमति लिनुपर्ने हुन्छ।

‘अहिले पनि धेरै कुराको अनुमति लिने प्रक्रियामै छौं,’ पाठकले भने, ‘सुरुमा हामीले टेकअवे अर्थात् ग्राहकले खाना किनेर लैजाने सेवाका लागि अनुमति पाएका थियौं। पछि बसेर खान मिल्ने रेस्टुरेन्ट पनि सञ्चालन गर्न चाह्यौं। त्यसका लागि अझ उच्च तहको खाद्य स्वच्छता तालिम पूरा गरेको व्यक्ति नियुक्त गर्नुपर्छ।’

रेस्टुरेन्टको प्रकृति र सेवाअनुसार आवश्यक प्रक्रिया र खर्च पनि फरकफरक हुन्छ। ग्राहकलाई रेस्टुरेन्टमै बसेर खाने सुविधा दिँदा करको दायित्व बढ्छ भने थप जिम्मेवारी पनि वहन गर्नुपर्छ। व्यवसायीले रेस्टुरेन्टको भित्री संरचना, बस्ने ठाउँको क्षमता, सुरक्षा व्यवस्था र आपत्कालीन अवस्थामा बाहिरिने मार्गसमेत समेटिएको विस्तृत योजना पेस गर्नुपर्छ।

अहिले उनीहरूको रेस्टुरेन्टमा सानो भान्सा र ग्राहक बस्ने ठाउँ छ। व्यवसाय सञ्चालनमा सहयोगका लागि उनीहरूले एक जना स्थानीय व्यक्तिलाई पनि काममा राखेका छन्।

विभिन्न चुनौतीका बाबजुद उनीहरू ‘बन्सएनस्पाइस’ लाई नेपाली खानाको स्वाद चाख्न र रमाउन सकिने एउटा परिचित गन्तव्य बनाउन चाहन्छन्।

रोचक कुरा त के छ भने, उनीहरूका अनुसार नेपाली खानाको स्वाद लिन विदेशी पृष्ठभूमिका ग्राहक बढी उत्साहित देखिन्छन्। जेनेभामा बस्ने नेपालीहरू भने यी परिकारसँग पहिल्यै परिचित भएकाले तुलनात्मक रूपमा कम उत्सुक देखिन्छन्।

‘हाम्रो मुख्य लक्षित ग्राहक नेपाली होइनन्,’ पाठकले भने, ‘नेपाली खानाको माग छ भन्न पनि अहिले सकिँदैन, किनभने यहाँका धेरै मानिसलाई नेपाली परिकारबारे थाहै छैन। तर, एकपटक हाम्रो खाना चाखेपछि ग्राहक फेरि फर्केर आउँछन्। हामी यहाँ त्यस्तै वातावरण बनाउन खोजिरहेका छौं।’

आफ्नै बचतबाट उनीहरूले ‘बन्सएनस्पाइस’ सुरु गरेका हुन्। रेस्टुरेन्टबाटै खाना लैजान सकिने सुविधासँगै उबर इट्समार्फत पनि परिकार अर्डर गर्न सकिन्छ।

मःमः, चाउमिन र थुक्पा यहाँका लोकप्रिय परिकार हुन्। अब उनीहरू मेनुमा नेपाली तपस पनि थप्ने तयारीमा छन्। भुटन र सेकुवा त्यसका केही परिकार हुनेछन्।

उनीहरूको कथा सुन्दै जाँदा ‘बन्सएनस्पाइस– मःमः एन्ड मोर’ केवल नेपाली खानाका परिकार पाइने एउटा रेस्टुरेन्ट मात्र होइन भन्ने स्पष्ट हुन्छ। यो त एकअर्कालाई भेटेका, सँगै जीवन बिताउने निर्णय गरेका र आफ्नो साझा रुचिलाई परदेशमा जीविकोपार्जनको माध्यम बनाएका दुई व्यक्तिको कथा पनि हो।

सायद रेस्टुरेन्टको प्रवेशद्वारमा टाँसिएको सानो सन्देशले उनीहरूको जीवन र सोच दुवैलाई अभिव्यक्त गर्छ—‘यहाँ सबैलाई स्वागत छ।’

कृष्णा प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं
Compare →
Nagarik News
3h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
8h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Onlinekhabar
11h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611