सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।
काठमाडौँ — सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।
सामराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अर्को उत्कृष्ट इनिङ्स खेल्नेक्रममा ४७ बलमा ८४ रन बनाए । तर कप्तान सन्दीपले हृयाटिकसहित ६ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको पोखरा १७.५ ओभरमा १ सय ३२ रनमा अलआउट भयो ।
कर्णाली याक्सविरुद्धको अघिल्लो खेलमा ४५ बलमा शतक बनाएका सामराले आफ्नो इनिङ्समा ७ चौका र ५ छक्का प्रहार गरे । सामरालाई सन्दीपले १५ औं ओभरमा आउट गरेपछि पोखराले अन्तिम ५ विकेट १० रनका लागि गुमाएको थियो ।
१५ औं ओभरमा सामराले पहिलो दुई बलमा सन्दीपलाई छक्का र चौका प्रहार गरेका थिए । सन्दीपले त्यसपछि सामरालाई प्वाइन्टमा इसुरु उडानको हातबाट क्याच गराए । अर्को लगातार दुई बलमा सन्दीपले पोखराका कप्तान चामिका करुणारत्ने र किरण ठगुन्नालाई एलबीडब्लु आउट गरेका थिए । एनपीएल ३ मा यो पहिलो हृयाट्रिक विकेट हो ।
अघिल्लो ५ खेलमा १ विकेटमात्र लिनका सकेका सन्दीप एनपीएल ३ को एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी पनि बने । उनले सबै ६ विकेट ३ ओभर भित्र लिएका थिए । सन्दीपले कुल ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् ।
एनपीएल इतिहासको यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । गत वर्ष काठमान्डु गोर्खाजका शाहव आलमले पोखराविरुद्ध नै ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिएका थिए, जुन एनपीएल इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । एनपीएल इतिहासमा ३ पटक एकै खेलमा ६ विकेट सम्भव भएको छ । २०२४ को पहिलो सिजनमा कर्णाली याक्सका विलियम बोसिस्टोले पोखराविरुद्ध २८ रन खर्चेर ६ विकेट लिएका थिए ।
सामराबाहेक पोखराबाट सन्नी विकले १२ र धनन्जय लक्षणले १५ बलमा समान १ चौका र छक्का प्रहार गरि २२ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर पनि बनाउन सकेनन् । अर्जुन कुमाल १, कुशल भुर्तेल शुन्य, अर्जुन घर्ती ५, रमेश मेन्डिससहित करुणारत्ने र किरण खाता नखोली आउट भएका थिए । विपिन खत्री ५ रनमा आउट भए ।
सन्दीपबाहेक विराटनगरबाट एन्जेलो म्याथ्यु, चारिथ असलंका र रुपेश र्सिहले १–१ विकेट लिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।