दुर्घटनामा मृत्यु हुनेहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका हुन् । उनीहरू छठ मनाउन काठमाडौंबाट हिँडेका थिए ।
रौतहट/हेटौंडा — भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका दसैजना सर्लाही जिल्लाको एउटै वडाका परेका छन् । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदीमा दुर्घटना भएको हो ।
घटनास्थलमै ३ महिला, २ बालिका र ५ पुरुषको मृत्यु भएको थियो । एक तीन वर्षका बालकलाई भने दुर्घटनास्थलभन्दा केही माथि डाँडामा जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरु सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका रहेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । ‘छठपर्व मनाउन आउँदै रहेछन्, सबै दुर्घटनामा परे । अत्यन्तै दुखद घटना भयो,’ उनले भने, ‘मृत्यु हुनेमा दसैजना एउटै वडा नम्बर ४ का रहेका छन् ।’
घटनास्थलतर्फ अध्यक्ष यादव आफै गएका छन् । उनले मृतकहरु कोको परे भनेर बुझ्ने काम भइरहेको जानकारी दिए । अहिले सिंगो गाउँ शोकमा परेको छ ।
दुर्घटनामा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव घाइते छन् । उनीहरुको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।
काठमाडौंबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रो चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । छठपर्व मनाउन घर आउँदै गरेका सर्लाहीका यात्रु लिएर काठमाडौंबाट बिहीबार बिहान गाडी हिँडेको थियो ।
घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट ८ किलोमिटर उत्तर पर्छ । अत्यन्तै भिरालो र दुर्गम रहेकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।