२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएको हो ।
घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटना स्थलमा १० जना गम्भीर घाइते फेला परेका छन् । अन्यको खोजी भइरहेको छ।
‘दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जना हुनुहुन्छ । अरूको खोजी गर्दैछौं । भीरमा भएकोले खोजीमा पनि समस्या भएको छ,’ उनले अनलाइनखबरसँग भने।
मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । दुर्घटनमा परेको माइक्रोबसको नम्बर खुल्न नसकेको र माइक्रोबसमा करिब १३/१४ जना यात्रु रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।