Trending
Prev Story
Next Story

लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा

Ekantipur •
November 11, 2026 • 02:32 PM
1
1 reads 0 reactions

चार वर्षअघि गरुडा नगरपालिका–५ महम्मदपुरबाट सुरु भएको युवाको अभियान अहिले रौतहटका विभिन्न नगरपालिका, बजार र विद्यालयसम्म विस्तार भएको छ ।

लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा

चार वर्षअघि गरुडा नगरपालिका–५ महम्मदपुरबाट सुरु भएको युवाको अभियान अहिले रौतहटका विभिन्न नगरपालिका, बजार र विद्यालयसम्म विस्तार भएको छ ।

रौतहट — लागुऔषध दुर्व्यसनले युवा पुस्तालाई गाँज्दै लगिरहेका बेला यसको नियन्त्रण र न्यूनीकरणका लागि रौतहटका युवाहरूले निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् । लागुऔषधको जोखिमबारे युवादेखि अभिभावकसम्मलाई सचेत गराउने उद्देश्यले सुरु गरिएको अभियानले पछिल्लो समय जिल्लाका विभिन्न नगरपालिका, बजार, गाउँ तथा विद्यालयसम्म आफ्नो पहुँच विस्तार गरेको छ ।

जेन-जी आन्दोलनपछि जेनन्जी नेपाल रौतहटको आयोजनामा लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई थप सक्रिय बनाइएको छ । यसैक्रममा बुधबार सदरमुकाम गौरमा युवाहरूले जनचेतनामूलक र्‍याली आयोजना गरेका छन् ।

र्‍यालीमा ठूलो संख्यामा युवाहरू सहभागी भएका छन् । लागुऔषध दुर्व्यसनविरुद्ध सामाजिक जागरण फैलाउने उद्देश्यले निकालिएको र्‍यालीमा सहभागी युवाहरूले विभिन्न सन्देशमूलक नारासहित नगरका विभिन्न चोक तथा बजार क्षेत्रमा परिक्रमा गरेका थिए । विशेषगरी विद्यालयमा अध्ययनरत विद्यार्थी र युवा पुस्तालाई लक्षित गरी लागुऔषध सेवनका कारण उत्पन्न हुने शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक समस्याबारे जानकारी दिने गरिएको सामाजिक अभियन्ता शैलेन्द्र यादवले बताए ।

यादवका अनुसार रौतहटमा सञ्चालित यो अभियान जेन-जी आन्दोलनपछि मात्रै सुरु भएको भने होइन । यसको सुरुवात करिब चार वर्षअघि नै अभियन्ता यादवको व्यक्तिगत पहलमा भएको थियो । गरुडा नगरपालिका–५ महम्मदपुरबाट सुरु गरिएको उक्त अभियान अहिले जिल्लाका विभिन्न स्थानसम्म विस्तार भएको छ । सुरुवाती चरणमा सीमित स्रोतसाधन र व्यक्तिगत प्रयासबाट अभियान अघि बढाइएको अभियन्ता यादवले बताए । ‘समाजमा लागुऔषध दुर्व्यसनको समस्या बढ्दै गएको र यसको प्रत्यक्ष असर युवा पुस्तामा देखिन थालेपछि स्थानीयस्तरबाटै सचेतना फैलाउने प्रयास थालेको हुँ,’ उनले भने, ‘ग्रामीण भेगका गाउँघरमा पुगेर युवाहरूलाई लागुऔषधको नकारात्मक असरबारे जानकारी गराउने र अभिभावकलाई आफ्ना सन्तानको गतिविधिप्रति सचेत रहन आग्रह गरेको छु ।’

अभियानले स्थानीय समुदायको ध्यान आकर्षित गर्न थालेपछि जिल्लाका अन्य स्थानमा पनि यसको आवश्यकता महसुस हुन थालेको यादवले सुनाए । पछिल्लो समय अभियन्ता यादवकै पहलमा शिवनगर चोक, फतुवा विजयपुर नगरपालिकाका विभिन्न विद्यालय तथा बजार, परोहा नगरपालिका, गौर नगरपालिका, चन्द्रपुर नगरपालिका र गुजरा नगरपालिकालगायत जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन भइरहेको आयोजकले जनायो ।

अभियन्ता यादवका अनुसार लागुऔषध दुर्व्यसन अहिले व्यक्ति विशेषको समस्या मात्र नभई परिवार, समाज र समग्र राष्ट्रकै चुनौतीका रूपमा देखा परेको छ । विशेषगरी किशोरकिशोरी तथा युवाहरू यसको जोखिममा पर्न सक्ने भएकाले समयमै सचेतना फैलाउनु आवश्यक रहेको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा

लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा

लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा चार वर्षअघि गरुडा नगरपालिका–५ महम्मदपुरबाट सुरु भएको युवाको अभियान अहिले रौतहटका विभिन्न नगरपालिका, बजार र विद्यालयसम्म विस्तार भएको छ । कार्तिक २५, २०...

#रौतहट #नगरपालिका #लागुऔषधविरुद्ध
Compare →

Related Stories

Technology
Build #2611