पश्चिमा गीत र आधुनिक नृत्यको प्रभाव बढिरहेका बेला पाँचथरका युवाले आफ्नै भाषा, भाका, भेषभूषा र परम्परागत नृत्यसहित देउसीभैलो खेलेर सांस्कृतिक पहिचान जोगाउने प्रयास गरेका छन् ।
पाँचथर — दौरा–सुरुवाल, ढाकाटोपी र कोटमा सजिएका पुरुष । सारी–चोली र पछ्यौरीमा सजिएका महिला । कतै मौलिक भाकामा देउसीका शब्द भट्याउँदै छन् त कतै परम्परागत बाजागाजाको तालमा सांस्कृतिक नाच प्रस्तुत भइरहेका छन् । लिम्बू, राई, मगर, तामाङ, गुरुङलगायत समुदायका युवायुवती आफ्नै भाषा, भाका, भेषभूषा र नृत्यसहित देउसीभैलोमा जुटेका छन् । यिनै प्रस्तुतिले पाँचथरका बजारदेखि गाउँबस्तीसम्म तिहारको रौनक बढाएको छ ।
तिहारमा देउसीभैलो खेल्ने चलन पुरानै हो । तर देउसीभैलोको नाममा पश्चिमा गीतको धुनमा नाच्ने र आधुनिक पहिरनमा सजिने क्रम बढ्दै जाँदा मौलिक नेपाली भाका, बाजागाजा र नृत्य ओझेलमा पर्न थालेका छन् । यस्तो प्रवृत्तिबीच पाँचथरका युवाले भने देउसीभैलोलाई आफ्नो संस्कृति चिनाउने र जोगाउने अवसर बनाएका छन् ।
लिम्बू समुदायले तिहारलाई ‘बलिहाङ तङनाम’का रूपमा मनाउँदै नाम्लिङगेक लारिङगेक भट्याइरहेका छन् । मगर समुदायका टोली मारुनी, हुर्रा र कौडा नाचमा रमाइरहेका छन् । राई समुदायले साकेला सिलीलाई देउसीसँग जोडेको छ । तामाङ र गुरुङ समुदायका सदस्यले पनि आ–आफ्नो मौलिक सांस्कृतिक पहिचान झल्किने प्रस्तुति दिइरहेका छन् ।
यी प्रस्तुतिमा मनोरञ्जनसँगै संस्कृति जोगाउने सन्देश पनि छ । फिदिम–१३ लुङरुपाको न्यु सूर्यमुखी भेट्रान्स क्लबले यस वर्षको देउसीभैलोमा मौलिक पहिरन र गीतसंगीतलाई प्राथमिकता दिएको छ । क्लबका पुरुष सदस्य दौरा–सुरुवाल, ढाकाटोपी र कोटमा सजिएका छन् भने महिला सदस्य सारी–चोली र पछ्यौरीमा । क्लबका सदस्य हेम फागोका अनुसार युवा पुस्ताले अब संस्कृति संरक्षणको जिम्मेवारी लिनुपर्ने बेला आएको छ । त्यसैलाई व्यवहारमा उतार्न क्लबले देउसीभैलोमा आफ्नै मौलिक पहिरन र सांगीतिक प्रस्तुतिलाई जोड दिएको हो ।
देउसीभैलोमा सहभागी हुन विदेशबाट गाउँ फर्कनेहरू पनि छन् । हङकङबाट नेपाल आएका हर्क राना १० वर्षपछि यसपटक फिदिममा मगर संघको देउसी टोलीमा सहभागी भएका छन् । मगर समुदायको मौलिक पहिरनमा सजिएर नाचगानमा रमाइरहेका उनी संस्कृति संरक्षणलाई पुस्तान्तरणसँग जोड्छन् । पुरानो पुस्ताले आफूसँग भएको ज्ञान र सीप नयाँ पुस्तालाई सिकाउनुपर्ने र युवाले पनि त्यसलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ ।
मगर समुदायको सांस्कृतिक पहिचान जोगाउने प्रयासमा यसपटक मारुनी नाचले पनि विशेष स्थान पाएको छ । नेपाल मगर संघका अध्यक्ष यौवन थापा मगरका अनुसार संघले हरेक वर्ष तिहारमा देउसी नाच प्रस्तुत गर्दै आएको छ । यस वर्षदेखि भने मगर समुदायसँग सम्बन्धित मारुनी नाचको संरक्षणका लागि अभियान नै सुरु गरिएको छ । देउसी टोलीको प्रस्तुतिमा हुर्रा, कौडा र मारुनीजस्ता परम्परागत नाच समावेश गरिएको उनले बताए ।
केही वर्षअघिसम्म पाँचथरमा मौलिक भाका र पहिरनसहित देउसीभैलो खेलेको दृश्य कमै देखिन्थ्यो । आधुनिक गीतसंगीत र नृत्यको प्रभावले परम्परागत शैली ओझेलमा पर्दै गएको थियो । पछिल्लो समय युवापुस्तामा आफ्नो भाषा, संस्कृति र पहिचानप्रति चासो बढ्न थालेको स्थानीयको अनुभव छ । त्यसको प्रभाव यस वर्षको देउसीभैलोमा देखिएको छ ।
लक्ष्मीपूजाका दिनदेखि सुरु भएका यस्ता सांस्कृतिक देउसी टोली भाइटिकाको पर्सिपल्टसम्म सक्रिय रहनेछन् । यसमा युवा मात्र होइन, ज्येष्ठ नागरिक पनि सहभागी छन् । उनीहरूको सहभागिताले पुरानो पुस्तासँग रहेको ज्ञान, सीप र परम्परा नयाँ पुस्तासम्म पुर्याउन सहयोग गरेको छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ मनाइने चाडपर्व र तिनसँग जोडिएका परम्पराले समुदायको छुट्टै पहिचान बोकेका छन् । तर ज्येष्ठ पुस्ताले आफूसँग भएको ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्नु तथा युवापुस्तामा विदेशिने क्रम बढ्नु मौलिक संस्कृति संरक्षणका चुनौती हुन् ।
यस्तो अवस्थामा पाँचथरका युवाले देउसीभैलोलाई केवल रमाइलो गर्ने माध्यममा सीमित नराखी सांस्कृतिक पहिचान जोगाउने अभियानसँग जोड्नु अर्थपूर्ण देखिन्छ । उनीहरूको प्रस्तुतिले तिहारमा देउसी खेल्नु भनेको दक्षिणा संकलन र मनोरञ्जन मात्र होइन, पुर्खाले हस्तान्तरण गरेको संस्कृति अर्को पुस्तासम्म पुर्याउनु पनि हो भन्ने सन्देश दिएको छ ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।