दुई वर्षदेखि धनजनमा क्षति पुर्याउँदै आएको पुच्छरविहीन भाले हात्तीलाई निगरानीमा लिन टोलीले निरन्तर प्रयास गरिरहेको छ।
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको बस्तीमा पसेर धनजनको क्षति गर्दै आएको हात्तीलाई रेडियोकलर लगाउने प्रयास थालेको एक साताभन्दा बढी भइसक्यो । तर प्राविधिक टोली अझै रेडियोकलर जडान गर्न सफल भएको छैन ।
तिहारका कारण अहिले रेडियोकलर जडानको काम रोकिएको छ । तिहारलगत्तै हात्तीलाई डार्ट गरेर रेडियोकलर जडानको प्रयास पुनः थालिने निकुञ्जका रेञ्जर प्रयास केसीले बताए । ‘अहिले तिहारको समयमा बस्तीमा झिलिमिली र पटाकाको आवाजले हात्ती बस्तीनजिक आएको छैन,’ रेञ्जर केसीले भने, ‘एक हप्तासम्म हामीले पछ्याएका कारण उग्र पनि भएको छ ।’
केसीका अनुसार तिहारको झिलिमिली र पटाकाका कारण केही अप्ठ्यारो भएकाले तिहारपछि फेरि हात्तीलाई पछ्याएर डार्ट गर्ने काम गरिनेछ । गत साता प्राविधिक टोली हात्तीलाई लठ्याउन भने सफल भएको थियो । तर डार्ट गरेर बेहोस पार्ने औषधि ‘मिस फायर’ हुँदा रेडियोकलर जडानको प्रयास सफल हुन नसकेको केसीले बताए।
‘राति साढे तीन बजेतिर लठ्याउन सफल भएका थियौं । त्यसपछि हात्ती तीन सय मिटर पर जामुनघारीमा बसेको थियो,’ केसीले भने, ‘डार्ट गर्ने औषधि पातमा लागेर बर्स्ट भयो, बेहोस हुन सकेन ।’ उनका अनुसार सुई हात्तीलाई लागे पनि औषधि भने पातमा लाग्नेबित्तिकै झरेको थियो ।
पुच्छर नभएको उक्त भाले हात्ती प्रायः बस्तीनजिकै आउने गरेको छ । उक्त हात्तीले पछिल्ला दुई वर्षदेखि बस्तीमा पसेर धनजनको क्षति गर्दै आएको छ । गत साता मात्रै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त हात्तीको नियमित अनुगमनका लागि रेडियोकलर जडान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार निकुञ्ज प्रशासनसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएललगायत संस्थाको सहयोगमा रेडियोकलर जडानको काम भइरहेको छ । यसका लागि ३० जना प्राविधिक र हात्तीसमेत परिचालन गरिएका छन् ।
पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती र मानवबीचको द्वन्द्व दिनप्रतिदिन बढ्दै गएको छ । मंगलबार राति मात्रै शुक्लाफाँटा नगरपालिका–१ तारापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि हामीले जनचेतनादेखि स्वरोजगारका विभिन्न कार्यक्रम गरिरहेका छौं,’ कनेक्टर परियोजनाका टिम लिडर मनोज ओझाले भने, ‘तर पनि द्वन्द्व न्यूनीकरण हुन सकेको छैन । यसमा सबैको संयुक्त प्रयास आवश्यक देखिन्छ ।’
भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।