Trending
Prev Story
Next Story

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

Ekantipur •
November 10, 2026 • 03:32 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्ष र आपसी हितका विषयमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्ष र आपसी हितका विषयमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

काठमाडौँ — भारतले प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित नयाँदिल्ली भ्रमणबारे नेपालसँग छलफल जारी रहेको जनाएको छ । साथै, भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका सबै आयामबारे समीक्षा गरिने पनि भारतले दोहोर्‍याएको छ ।

'हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिएका छौँ । भ्रमणका विषयमा दुवै पक्षबीच छलफल जारी छ,' भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै भने ।

जैसवालले दुई छिमेकीबीचको सम्बन्धलाई व्यापक र विशेष साझेदारीका रूपमा व्याख्या गर्दै शाहको भ्रमणका क्रममा आपसी हितका सबै विषयमा छलफल हुने बताए ।

'नेपालसँग हाम्रो द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे छलफल हुनेछ । यो व्यापक साझेदारी हो । यो निकै विशेष साझेदारी हो र आपसी हितका सबै विषयमा छलफल हुनेछ,' उनले भने ।

प्रधानमन्त्री बनेपछि शाहको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणको तयारी भइरहेका बेला काठमाडौं र नयाँदिल्लीबीच कूटनीतिक भेटघाट तीव्र बनेको छ । शाह गत चैत १३ मा प्रधानमन्त्री बनेका थिए ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली समकक्षी अमृतबहादुर रायको निमन्त्रणामा कात्तिक १८ र १९ मा काठमाडौं भ्रमण गरेका थिए । भ्रमणका क्रममा मिस्रीले रायसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए भने परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र सरकारका अन्य वरिष्ठ अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनले प्रधानमन्त्री शाहसँग पनि भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।

दुवै पक्षले प्रधानमन्त्रीको भ्रमणका क्रममा हुन सक्ने उपलब्धि र पहलका विषयमा छलफल गरेका थिए । छलफलमा व्यापार, ऊर्जा, जलविद्युत्, सम्पर्क सञ्जाल, विकास साझेदारी र सीमा व्यवस्थापनमा सहकार्यका विषय समेटिएका थिए ।

प्रधानमन्त्री शाहको भ्रमण मंसिर दोस्रो सातापछि हुने अपेक्षा गरिएको छ । मंसिर ६ देखि ९ सम्मको मिति सम्भावित रूपमा अघि आए पनि दुवै सरकारले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेका छैनन् ।

शाह र मोदीबीचको वार्तामा केही महत्त्वपूर्ण विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । नेपालले भोटेकोशी–रसुवागढी क्षेत्रमा भदौ १० मा आएको विनाशकारी बाढीपछि पुनर्निर्माण र पुनःस्थापनाका लागि भारतसँग करिब २ अर्ब अमेरिकी डलर बराबरको सहयोग मागिरहेको छ । प्रस्तावित सहयोगमा सहुलियतपूर्ण ऋण र अनुदान समावेश छन् ।

काठमाडौंले आफ्ना अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग, लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा प्रगति, व्यापार तथा पारवहन व्यवस्थामा सुधार र कालापानी, लिपुलेक तथा सुस्तासम्बन्धी लामो समयदेखि थाती रहेका सीमा विवाद समाधानको विषय पनि उठाउन खोजिरहेको छ ।

दुवै पक्षबीच ऊर्जा सहकार्य, सीमापार प्रसारण लाइन, जलविद्युत् विकास र नेपालमा भारतको सहयोगमा सञ्चालित पूर्वाधार आयोजनाको कार्यान्वयनबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख विकास साझेदार हो । दुवै देशबीच खुला सीमा छ भने ऐतिहासिक, सांस्कृतिक, आर्थिक र जनस्तरका सम्बन्ध पनि व्यापक छन् । द्विपक्षीय सम्बन्धमा व्यापार, सुरक्षा, जलस्रोत, ऊर्जा, सम्पर्क सञ्जाल र विकास सहायताका विषय समेटिएका छन् ।

शाहको भ्रमणले नेपालको नयाँ सरकार गठन भएपछिको द्विपक्षीय सम्बन्धको अवस्थाबारे समीक्षा गर्ने र सहकार्य अघि बढाउने उपाय खोज्ने अवसर पनि प्रदान गर्नेछ ।

यसैबीच, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीसम्बन्धी छुट्टै प्रश्नको जवाफ दिँदै जैसवालले यो विषय कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बताए ।

'यो कानुनी विषय हो र सोहीअनुसार यसको प्रक्रिया अघि बढाइनेछ,' उनले भने ।

सन् २०२४ अगस्टमा बंगलादेशमा व्यापक प्रदर्शनपछि सरकार ढलेसँगै देश छाडेकी हसिना त्यसयता भारतमा बस्दै आएकी छन् । ढाकाले उनको सुपुर्दगी माग्दै आएको छ । यो विषय भारत र बंगलादेशबीचको सम्बन्धमा संवेदनशील मुद्दा बनेको छ । भारतले यसअघि पनि सुपुर्दगीसम्बन्धी कुनै पनि अनुरोधलाई कानुनी विषयका रूपमा हेरिने बताउँदै आएको छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। बिहीबार ...

#भारत #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भारत #भ्रमण
Compare →
Bizshala
4h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2611