Trending
Prev Story
Next Story

देउसी-भैलोमा हराउँदै मौलिकता

Onlinekhabar •
November 10, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको …

देउसी-भैलोमा हराउँदै मौलिकता

२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो ।

मादल, खैँजडी र बाँसुरीको तालमा सामूहिक रुपमा गीत गाउँदै नाच्ने, घरघर पुगेर आशिष दिने र आपसी सद्भाव साटासाट गर्ने चलनले तिहारलाई थप विशेष बनाउँथ्यो । तिहारको समयमा गाउँका टोलटोलमा बालबालिका, युवायुवतीदेखि बूढापाकासम्म देउसी–भैलो खेल्न भेला हुन्थे । कसैले मादल बजाउँथे, कसैले खैँजडी र झ्यालीको ताल मिलाउँथे भने कसैले परम्परागत भाकामा गीत गाएर माहोल तताउँथे ।

घरधनीले पनि देउसी–भैलो टोलीलाई स्वागत गर्दै दक्षिणा दिने र उनीहरूबाट आशीर्वाद लिने गर्थे । यसरी देउसी-भैलो मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सम्बन्ध विस्तार, आपसी सद्भाव र सांस्कृतिक पुस्तान्तरणको माध्यमसमेत बनेको थियो ।

तर, समयक्रमसँगै देउसी–भैलो खेल्ने शैलीमा परिवर्तन आएको छ । आधुनिकताको प्रभाव, प्रविधिको बढ्दो प्रयोग र नयाँ पुस्ताको रुचिमा आएको परिवर्तनसँगै परम्परागत देउसी–भैलोको मौलिकता हराउँदै गएको छ । पहिले मादल र खैँजडीको तालमा गुञ्जिने देउसी–भैलो अहिले साउन्ड सिस्टम र रेकर्ड गरिएका आधुनिक गीतमा सीमित हुन थालेको छ । नेपाली मौलिक भाकाको सट्टा हिन्दी गीत, आधुनिक पप तथा र्‍याप गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दै गएको छ ।

पहिले देउसी–भैलो खेल्न जाने समूहले आफ्नै मौलिक गीत तयार पार्ने गर्थे । गाउँघरका घटना, सामाजिक परिवेश, धार्मिक विश्वास, प्रकृति र स्थानीय जीवनशैली झल्किने शब्दहरू गीतमा समेटिन्थे । देउसीका भाका र भट्याइमा हास्यव्यङ्ग्य, आशिष, शुभकामना र सामाजिक सन्देशसमेत पाइन्थ्यो । भैलोमा महिलाहरूको सामूहिक सहभागिता र परम्परागत नृत्यले सांस्कृतिक वातावरणलाई जीवन्त बनाउँथ्यो । सोरठी, पैसेरी, मयुर र मारुनीजस्ता लोकनृत्य देउसी–भैलोका आकर्षण मानिन्थे । स्थानीय भेषभूषा, मौलिक बाजागाजा र परम्परागत गीतसंगीतले नेपाली संस्कृतिको छुट्टै पहिचान प्रस्तुत गर्थे । तर अहिले यस्ता नृत्य र प्रस्तुतिहरू कमै देख्न पाइन्छन्। कतिपय समूहले साउन्ड सिस्टमबाट गीत बजाएर त्यसैको तालमा नाच्ने गरेका छन् ।

यसले देउसी–भैलोमा सहभागी हुनेको संख्या र मनोरञ्जनको शैलीमा परिवर्तन ल्याए पनि परम्परागत गीत, संगीत र नृत्यलाई विस्थापित गर्दै लगेको छ । पहिले आफैँ गीत गाउने र बाजा बजाउने अभ्यास हुन्थ्यो भने अहिले प्रविधिबाट तयार पारिएका गीतमा नाच्ने प्रवृत्ति बढेको छ । अहिले देउसी–भैलोमा मौलिकता र सांस्कृतिक पक्षभन्दा आधुनिक शैली र दक्षिणा संकलनलाई बढी प्राथमिकता दिन थालिएको छ पत्रकार रमेश चन्द्र अधिकारीले बताए । आफूहरू बच्चा बेलाको परम्परागत गीतसंगीत र नृत्यको अभ्यास अहिले घट्दै गएको उनको भनाइ छ ।

देउसी–भैलोको अर्को महत्वपूर्ण पक्ष दक्षिणा र दानसँग जोडिएको छ । परम्परागत रुपमा देउसी–भैलो टोलीले घरघर पुगेर गीत गाउने, घरधनीलाई शुभकामना र आशीर्वाद दिने तथा घरधनीले आफ्नो इच्छाअनुसार दक्षिणा दिने चलन थियो । यसमा मनोरञ्जनसँगै धार्मिक, सामाजिक र सांस्कृतिक भावना जोडिएको हुन्थ्यो । तर पछिल्लो समय कतिपय समूहमा दक्षिणा संकलनलाई नै प्रमुख उद्देश्य बनाउने प्रवृत्ति देखिन थालेको छ । आकर्षक प्रस्तुति, ठूलो साउन्ड सिस्टम र आधुनिक गीतसंगीतको प्रयोग गरेर बढी दक्षिणा संकलन गर्ने प्रतिस्पर्धा हुन थालेको पाइन्छ । यस क्रममा परम्परागत भाका र नृत्यभन्दा आधुनिक शैलीलाई प्राथमिकता दिने गरिएको छ ।

दक्षिणा संकलन आफैँमा गलत होइन । तर, देउसी–भैलोको मूल मर्म र सांस्कृतिक पहिचानलाई बिर्सेर आर्थिक पक्षलाई मात्र महत्व दिइनु उचित मान्न सकिँदैन । संस्कृतिसँग जोडिएको परम्परालाई केवल आर्थिक संकलनको माध्यमका रुपमा बुझ्न थालिएमा यसको मौलिक महत्व क्रमशः कमजोर हुँदै गएको धनकुटाका स्थानीय ऋषिराम ढुंगानाले बताए ।

सूचना तथा प्रविधिको तीव्र विकासले मानिसको जीवनशैलीसँगै चाडपर्व मनाउने तौरतरिकामा समेत परिवर्तन ल्याएको छ । सामाजिक सञ्जाल, युट्युब र विभिन्न डिजिटल माध्यममा उपलब्ध गीतसंगीतले नयाँ पुस्ताको रुचि र अभ्यासलाई प्रभावित गरेको छ । अरु ठाउँमा देखिएका आधुनिक प्रस्तुति नक्कल गर्ने प्रवृत्तिले पनि स्थानीय मौलिक शैलीलाई ओझेलमा पारेको छ । आधुनिक गीतमा नाच्नु, नयाँ प्रविधि प्रयोग गर्नु वा देउसी–भैलोमा नयाँ शैली अपनाउनु आफैँमा समस्या भने होइन । समस्या भनेको नयाँपन अपनाउने क्रममा पुरानो सांस्कृतिक सम्पदालाई बिर्सनु रहेको छ । प्रविधिको उपयोग गरेर पनि मौलिक गीत, भाका र नृत्यलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाउन सकिन्छ । तर यसतर्फ पर्याप्त ध्यान नदिँदा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यास कमजोर बन्दै गएको छ ।

पुस्तान्तरण नहुँदा संकटमा लोकसंस्कृति

कुनै पनि संस्कृतिको निरन्तरता त्यसलाई नयाँ पुस्ताले ग्रहण गर्ने र व्यवहारमा उतार्ने अभ्यासमा निर्भर हुन्छ । पुरानो पुस्ताले अनुभव र अभ्यासबाट सिकेका लोकगीत, बाजागाजा र नृत्य नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेमा ती परम्परा क्रमशः लोप हुँदै जाने गरेका छन् । पहिले घरपरिवार र गाउँसमुदायमै देउसी–भैलोका गीत तथा भाका सिक्ने वातावरण हुन्थ्यो । बालबालिकाले बूढापाकाबाट गीत सिक्थे, युवायुवतीले बाजा बजाउन र नाच्न सिक्थे । यसरी एउटा पुस्ताबाट अर्को पुस्तामा संस्कृति हस्तान्तरण हुन्थ्यो । अहिले यस्तो अभ्यास घट्दै गएको छ ।

नयाँ पुस्तालाई मौलिक देउसी–भैलोको महत्व, इतिहास र सांस्कृतिक पक्षबारे जानकारी गराउन आवश्यक रहेको धनकुटा नगरपालिकामा कार्यरत उपेन्द्र खनालले बताए । पुरानो पुस्तासँग रहेका अनुभव र ज्ञानलाई अभिलेखीकरण गर्ने तथा स्थानीय लोकगीत र नृत्यको संरक्षण गर्ने काम पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ । संस्कृति संरक्षणका लागि मौलिक देउसी–भैलोको महत्व र मर्म जोगाउन सबै पक्ष लाग्नुपर्ने खनालको भनाइ छ । उनका अनुसार आधुनिकताको प्रभावले परम्परागत सांस्कृतिक अभ्यास कमजोर हुँदै गएको अवस्थामा यसको संरक्षणका लागि तीनै तहका सरकार, समुदाय, अभिभावक र युवापुस्ताको सक्रियता आवश्यक छ ।

संरक्षणमा युवापुस्ताको भूमिका महत्वपूर्णमौलिक देउसी–भैलो संरक्षण गर्नु पुरानो पुस्ताको मात्र जिम्मेवारी होइन । नयाँ पुस्ताले पनि आफ्नो सांस्कृतिक पहिचानप्रति चासो राख्दै संरक्षणको अभियानमा सक्रिय हुन आवश्यक छ । आधुनिक प्रविधि र सिर्जनात्मक शैलीलाई प्रयोग गरेर मौलिक देउसी–भैलोलाई नयाँ पुस्तामाझ आकर्षक बनाउन सकिने नागरिक समाज धनकुटाका अध्यक्ष दोर्णप्रसाद गुरागाईले बताए ।

स्थानीय तह, विद्यालय, युवा क्लब, सांस्कृतिक संस्था र नागरिक समाजले मौलिक देउसी–भैलो प्रतियोगिता आयोजना गर्न सक्ने गुरागाईको भनाइ छ । परम्परागत गीत, नृत्य, बाजागाजा र भेषभूषालाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न सके नयाँ पुस्तामा लोकसंस्कृतिप्रति आकर्षण बढाउन सकिने उनको भनाइ छ ।

त्यस्तै, पुराना लोकगीत, भाका र नृत्यको श्रव्यदृश्य अभिलेख तयार पारेर भावी पुस्ताका लागि सुरक्षित राख्न सकिने गुरागाईले बताए । स्थानीय कलाकार र संस्कृतिसम्बन्धी जानकारलाई सहभागी गराएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु पनि प्रभावकारी हुन सक्ने देखिएको छ । विद्यालय तहदेखि नै स्थानीय संस्कृति र परम्पराको महत्वबारे जानकारी गराउन सके बालबालिकामा सानैदेखि सांस्कृतिक चेतना विकास गर्न सहयोग पुग्ने जानकारहरू बताउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

रुपन्देही । तिहार लागेसँगै गाउँबस्तीमा देउसी र भैलोका भाका गुञ्जिन थालेका छन् । मादल, मञ्जिरा, झ्याली र बाँसुरीका तालमा घरघर पुगेर गीत गाउने, नाच्ने र शुभकामना साटासाट गर्ने परम्पराले नेपाली समाजमा...

#देउसी #भैलो #तिहार
Compare →
Nagarik News
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

#देउसी #भैलो
Compare →
Ekantipur
1d ago
लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटकले तिहारका अवसरमा स्थानीयसँगै नाचगान गर्दै नेपाली संस्कृति, परम्परा र चाडपर्वको अनुभव लिए।

#देउसी #भैलो
Compare →

Related Stories

Technology
Build #2611