आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए
पेरिस — फ्रान्सेली अधिकारीहरूले गत महिना देशभरका व्यापारिक रेफ्रिजरेटर र फ्रिजरहरू बिगार्ने गरी भएका साइबर आक्रमणमा इरानको ‘रिभोलुसनरी गार्ड्स’(आइआरजीसी) संलग्न रहेको आरोप लगाएका छन्। फ्रान्सले यस कदमका लागि इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ।
फेब्रुअरीदेखि सुरु भएको इरान युद्धकै बीच अक्टोबरको सुरुआतमा फ्रान्सका करिब ७०० भन्दा बढी सुपरमार्केटहरूमा यी घातक साइबर आक्रमण भएका थिए। फ्रान्सेली गुप्तचर तथा साइबर एजेन्सीहरूका अनुसार इरानी रिभोलुसनरी गार्ड्ससँग सम्बद्ध 'शाहिद कावेह' नामक साइबर युनिटले यो आक्रमण गराएको हो।
आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए।
झन्डै एक साताअघि भएको दोस्रो लहरको आक्रमणले युरोपका १०० भन्दा बढी प्रतिष्ठानका साथै फ्रान्सका ‘ब्लड बैंक’का फ्रिजहरूसमेत प्रभावित बनेका थिए ।
जसकारण, कर्मचारीहरूले रगत सुरक्षित स्थानमा सार्नुपरेको थियो। फ्रान्सेली परराष्ट्र मन्त्री जाँ-नोएल बारोटले इरानी राजदूतलाई मन्त्रालयमा झिकाएर यस घटनाबारे आपत्ति जनाएका छन् ।
उनले युरोपेली युनियन (ईयू) मार्फत इरानविरुद्ध थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। पेरिसका अभियोजकहरूले घटनामा संलग्न इरानी ह्याकरहरूविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गर्न माग गरेका छन्।
इरानले भने साइबर आक्रमणका आरोपहरू अस्वीकार गर्दै आएको छ। यद्यपि, माइक्रोसफ्ट र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले पनि अमेरिकाका सैन्य पसल र पानी प्रशोधन केन्द्रहरूमा भएका उस्तै प्रकृतिका रेफ्रिजरेटर ह्याकिङमा इरानकै संलग्नता रहेको आशंकामा अनुसन्धान गरिरहेका छन्।
प्रविधि विज्ञहरूका अनुसार पुराना र अद्यावधिक नभएका प्रणालीका कारण यी उपकरणहरू आक्रमणकारीको सहज निशाना बनेका हुन्।