Trending
Prev Story
Next Story

एनभिडियाका प्रमुख जेन्सन हुआङसँग सम्बन्धमा रहेकी भनिएकी चिनियाँ जासुस को हुन् ?

Onlinekhabar •
November 10, 2026 • 06:01 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्येको एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ एकैपटक दुई विवादमा तानिएका छन् । चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक चिनियाँ व्यवसायीसँग उनको निकट सम्बन्ध रहेको अमेरिकी …

एनभिडियाका प्रमुख जेन्सन हुआङसँग सम्बन्धमा रहेकी भनिएकी चिनियाँ जासुस को हुन् ?

२४ कात्तिक, काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्येको एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ एकैपटक दुई विवादमा तानिएका छन् ।

चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक चिनियाँ व्यवसायीसँग उनको निकट सम्बन्ध रहेको अमेरिकी गुप्तचर निकायको दाबी सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ ।

यही प्रकरणसँगै हुआङले आफ्नी पत्नीलाई धोका दिएको स्वीकार गर्दै परिवारसँग माफीसमेत मागेका छन् ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार चिनियाँ व्यवसायी एलिस हुआङलाई चीनको उच्चस्तरीय गुप्तचर निकायले जासुसीका लागि परिचालन गरेको अमेरिकी अधिकारीहरूको आशंका थियो ।

उनीसँग एनभिडियाका प्रमुख जेन्सन हुआङको निकट सम्बन्ध रहेको सूचनासमेत अमेरिकी गुप्तचर निकायले संकलन गरेको बताइएको छ ।

यो विषय सार्वजनिक भएसँगै विश्वकै शक्तिशाली प्रविधि कम्पनी एनभिडियाले घटनाबारे आन्तरिक अनुसन्धान थालेको छ । यद्यपि, कम्पनीले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै सम्झौता भएको आफूलाई नलागेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस प्रकरणमा एफबीआईले अनुसन्धान गरिरहेको बताएका छन् । उनले सोमबार हुआङसँग कुराकानी गरेको जानकारी दिँदै जासुसीको आशंकाबारे आफूले सोधेको बताएका थिए ।

ट्रम्पका अनुसार हुआङले एलिस हुआङ जासुस भएको आफूलाई कुनै जानकारी नभएको जवाफ दिएका थिए । ट्रम्पले हुआङमाथि आफूलाई विश्वास रहेको पनि बताएका छन् ।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार एलिस हुआङलाई चीनको प्रमुख गुप्तचर निकायले जासुसीका लागि भर्ती गरेको अमेरिकी अधिकारीहरूको विश्वास थियो । तर, उनले कस्तो सूचना संकलन गरिन् र ती सूचना चीनसम्म कसरी पु¥याइन् भन्ने विषय भने अझै स्पष्ट भएको छैन ।

एलिसको एनभिडियाका सीईओ जेन्सन हुआङसँग कुनै पारिवारिक सम्बन्ध छैन । उनी सन् २०२३ को मार्चदेखि नोभेम्बरसम्म सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडमा उच्च पदमा कार्यरत थिइन् ।

उक्त कम्पनीमाथि अमेरिकी प्रतिबन्ध छल्दै एनभिडियाका अत्याधुनिक चिप चीन पुर्‍याउन सहयोग गरेको आरोप लागेको थियो । यही विषयमा सिंगापुर सरकारले समेत अनुसन्धान गरिरहेको छ ।

अमेरिकी गुप्तचर निकायले निगरानीका क्रममा एलिस हुआङ र एक अमेरिकी नागरिकबीच भएको कुराकानी फेला पारेको थियो । पछि अमेरिकी नागरिकको पहिचान खुलाउने ‘अनमास्किङ’ प्रक्रियाबाट ती व्यक्ति जेन्सन हुआङ रहेको पत्ता लागेको न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।

यद्यपि, एलिससँगको सम्बन्धको प्रकृति र त्यसबाट राष्ट्रिय सुरक्षामा परेको सम्भावित प्रभावबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । एलिसले सञ्चारमाध्यमका प्रश्नको जवाफ पनि दिएकी छैनन् ।

एनभिडियाले भने अमेरिकी गुप्तचर अधिकारीबाट आफूलाई यसबारे कुनै जानकारी नदिइएको जनाएको छ । कम्पनीका प्रवक्ताले वास्तविक सुरक्षा जोखिम भएको भए अमेरिकी सरकारले जानकारी गराउने विश्वास व्यक्त गरेका छन् ।

चीनले भने जासुसीको आरोप अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आरोपलाई आधारहीन, अड्कलबाजीमा आधारित र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको बताएका छन् ।

किन जोडियो राष्ट्रिय सुरक्षासँग यो प्रकरण ?

यो विवाद केवल एक अर्बपतिको व्यक्तिगत सम्बन्धमा सीमित छैन । यसको केन्द्रमा अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा भइरहेको कृत्रिम बौद्धिकता (एआई) प्रविधि र त्यसका लागि आवश्यक अत्याधुनिक सेमिकन्डक्टर चिप छन् ।

एनभिडिया एआई प्रविधिका लागि आवश्यक उच्च क्षमताका चिप उत्पादन तथा डिजाइन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक हो । अमेरिकी प्रविधिको अग्रता कायम राख्न र चीनको सैन्य तथा निगरानी क्षमता विस्तार हुन नदिन अमेरिकाले सन् २०२२ देखि अत्याधुनिक चिप निर्यातमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिबन्धका कारण एनभिडियालाई चीनको विशाल बजारमा कारोबार गर्न कठिन भएको छ । कुनै समय चीनमा करिब ९५ प्रतिशत बजार हिस्सा रहेको कम्पनीको उपस्थिति अहिले लगभग शून्यमा झरेको जेन्सन हुआङले बताएका थिए ।

हुआङ भने अमेरिकी सरकारसँग संवाद गर्दै चीनको बजारमा पुनः प्रवेश गर्ने प्रयासमा छन् । उनले अमेरिकाले अत्याधुनिक चिपबाहेक अन्य चिप चीनमा बिक्री गर्न अनुमति दिनुपर्ने पक्षमा पैरवी गर्दै आएका छन् ।

अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धामा एनभिडियाको भूमिका महत्वपूर्ण भएकाले कम्पनीका प्रमुखको व्यक्तिगत सम्बन्धसमेत अमेरिकी राष्ट्रिय सुरक्षा चासोको विषय बनेको हो ।

विश्वका सबैभन्दा उन्नत चिपमध्ये ९० प्रतिशतभन्दा बढी उत्पादन गर्ने ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) लगायतका संस्थासँग एनभिडियाको सहकार्य छ । त्यसैले चिप प्रविधि, उत्पादन ऋंखला र निर्यात

नियन्त्रणलाई अमेरिकाले रणनीतिक विषयका रूपमा लिँदै आएको छ ।

सन् १९६३ मा ताइवानमा जन्मिएका जेन्सन हुआङ नौ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए । उनले ओरेगन स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड युनिभर्सिटीबाट सोही विषयमा स्नातकोत्तर गरेका छन् ।

उनले अमेरिकी चिप कम्पनी एएमडीमा काम गरेपछि सन् १९९३ मा एनभिडियाको सहस्थापना गरेका थिए । उनको नेतृत्वमा एनभिडिया विश्वकै मूल्यवान कम्पनीमध्ये एक बनेको छ ।

ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार उनको सम्पत्ति करिब १५५ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । प्रविधि क्षेत्रमा उनलाई एआई क्रान्तिको प्रमुख नेतृत्वकर्तामध्ये एक मानिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि उनको निकट सम्बन्ध रहेको बताइन्छ । ह्वाइट हाउसमा आयोजित एआईसम्बन्धी सम्मेलनमा ४२ प्रविधि कम्पनीका प्रतिनिधिसँगै हुआङ पनि सहभागी भएका थिए ।

जेन्सन हुआङको वैवाहिक जीवन पनि अहिले चर्चामा छ । उनले सन् १९८० को दशकको सुरुवातमा ओरेगन स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा लरी मिल्ससँग भेट गरेका थिए ।

दुवैजना इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी थिए । उनीहरू एउटै प्रयोगशालामा काम गर्थे । उनीहरूले सन् १९८५ मा विवाह गरेका थिए । एनभिडियाको स्थापना हुनुभन्दा करिब आठ वर्षअघि विवाह गरेका उनीहरूका दुई सन्तान म्याडिसन र स्पेन्सर छन् ।

सन् २००७ मा दम्पतीले जेएच एन्ड एल हुआङ फाउन्डेसन स्थापना गरेका थिए । एनभिडियाको सेयर मूल्य बढेसँगै फाउन्डेसनको सम्पत्ति पनि उल्लेख्य रूपमा बढेको छ ।

यसको सम्पत्ति ९ अर्ब डलरभन्दा बढी रहेको अनुमान छ । फाउन्डेसनले ओरेगन स्टेट र स्ट्यानफोर्ड विश्वविद्यालयका इन्जिनियरिङ कार्यक्रमलाई ठूलो आर्थिक सहयोगसमेत गर्दै आएको छ ।

जेन्सनले आफूलाई पारिवारिक व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका थिए । उनको जीवनी ‘थिंकिङ मेसिन’ का लेखक स्टेफन विटका अनुसार हुआङका लागि परिवार निकै महत्वपूर्ण छ । उनी सार्वजनिक रूपमा पत्नीको प्रशंसा गर्ने र परिवारसँग निकट सम्बन्ध कायम राख्ने प्रयास गर्ने व्यक्तिका रूपमा चिनिन्थे ।

तर, आइतबार उनले पत्नीप्रति ‘बेवफाइ’ गरेको स्वीकार गर्दै पत्नी र सन्तानलाई दुःख पुर्‍याएकोमा माफी मागेका छन् । यसले उनको व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवनलाई पनि चर्चामा ल्याएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने हुआङले आफ्नो देशका लागि राम्रो काम गरेको भन्दै उनको बचाउ गरेका छन् । विदेशमन्त्री मार्को रुबियोले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

यसरी एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धाको केन्द्रमा रहेका एनभिडियाका प्रमुख अहिले चीनसँग जोडिएको जासुसीको आशंका, अमेरिकी राष्ट्रिय सुरक्षा चासो र व्यक्तिगत जीवनसँग सम्बन्धित विवादको घेरामा परेका छन् । –बीबीसीको सहयोगमा

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
चौतर्फी घेराबन्दीमा एनभिडियाका सीईओ हुआङ, बाहिरियो चिनियाँ युवतीपछि कर्मचारी पावेलसँगको प्रेम सम्बन्ध

चौतर्फी घेराबन्दीमा एनभिडियाका सीईओ हुआङ, बाहिरियो चिनियाँ युवतीपछि कर्मचारी पावेलसँगको प्रेम सम्बन्ध

काठमाडौं– अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङको दोस्रो विवाहेतर सम्बन्धबारे खबर सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । द न्यूयोर्क टाइम्...

#हुआङ #एनभिडिया #अमेरिकी
Compare →
Ekantipur
1d ago
जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच्च अधिकारीसँग अर्को सम्बन्धको आरोपले अहिले उनको व्यक्तिगत जीवनदेखि व्यावसायिक भविष्यमा समेत प्रश्न उठाएको छ ।

#हुआङ #एनभिडिया #चिनियाँ
Compare →
Bizshala
11h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #एनभिडिया
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #जेन्सन
Compare →
Nagarik News
11h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#एनभिडिया #अमेरिकी
Compare →

Related Stories

Technology
Build #2611