नारायणगढ बजारदेखि नजिकै छ नगर वन । नारायणी नदीको टापुमा बनेको सो नगर वन पनि विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा बस्ने राम्रो थलो भएको छ ।
सोमबार घाम डुबे लगत्तै नगर वनको आडबाट एउटा ठूलो गैंडा लुसुक्क बाहिर निस्कियो । नारायणी नदीको एउटा सानो भंगालो उसको अगाडि थियो । भंगालो पार भएपछि सय मिटर पनि पर छैन बस्ती ।
गैंडा भंगालोमा हेलिँदै बस्ती भएतिर सोझियो । लगभग ४० मिटर जति फराकिलो भंगालोको ओल्लो किनारमा केही केटाकेटी र पाका मान्छेहरू टहलिँदै थिए । उनीहरूको होहल्ला सुनेपछि गैंडा सतर्क भयो । भंगालोमा थोरै हिँडेको मात्रै थियो, केटाकेटीको कोलाहल बढ्न थाल्यो । यो सुनेर गैंडा अडियो । केही बेर रोकिएको गैंडा फर्केर फेरि जंगलतिरै अलप भयो ।
नारायणगढ नारायणी पुलदेखि लगभग डेढ किलोमिटर तल छ यो टापुवाला वन । जसलाई स्थानीयले नगर वन भनेर चिन्छन् । यसको आधिकारिक नाम हो बीपी शान्ति सामुदायिक वन । वनका अध्यक्ष हुन् महेश बानियाँ । बानियाँको आकलनमा यहाँ १० वटाका हाराहारीमा गैंडा छन् । तीनवटा बच्चा गैंडा भएको उनले बताए । यहाँका गैंडा आक्रामक छन् ।
‘अहिले एउटा बच्चा गैंडा एक्लै छ । त्यसको माउ सायद असोज ११ मा आएको बाढीले बगायो कि ? त्यो बच्चा अचेल प्रायः यतै टोलतिर निस्कन्छ,’ अध्यक्ष बानियाँले भने । साँझ छिप्पिँदै जाँदा नगर वनबाट निस्केका ठूला गैंडा त्यहाँबाट दुई–तीन किलोमिटर तल दक्षिणमा रहेका बस्तीहरू नौघरे, बाह्रघरे, लंकूसम्म पुग्छन् । रातभर बस्तीमा रहेका बारी र अन्य खोल्सामा चर्दै बिहान सबेरै फर्कने गर्दछन् ।
गत वर्षको हिउँदमा बाह्रघरेमा नदी आडको टोलमा गैंडाले हानेर एक जनाको निधन पनि भएको थियो । टोलतिर प्रायः दुई–तीनवटा गैंडा निस्कने गर्दछन् । त्यसैले साँझबिहान अँध्यारोमा हिँडडुल गर्दा विशेष ख्याल राख्न अध्यक्ष बानियाँले आग्रह गरे । ‘कुनै कुनै गैंडा त मान्छे देख्यो कि सिधै आउने आक्रामक खालका छन् । मै पनि दुईचोटि धन्नै आक्रमणमा परिनँ । त्यसैले ख्याल राखौँ,’ बानियाँले भने । तस्बिरहरु : रमेशकुमार पौडेल–कान्तिपुर ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।