नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरू बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
पछिल्लो समय पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण बन्दै गएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुर्व्यसनी बढ्दै गएपछि स्थानीयमा चिन्ता बढेको हो।
नारायणी नदीको दृश्यावलोकनका लागि मध्यविन्दु–३ स्थित नारायणी नदीकिनारलाई अन्यत्रबाट आउने व्यक्तिले लागुपदार्थ दुर्व्यसनीको अखडा जमाउँदै गएको स्थानीय भरत श्रेष्ठले बताए।
गाउँ बाहिरका मानिस यहाँ आउने र नदी किनारमा सवारीसाधन पार्किङ गरी किनारमा रहेको खरको झाडीमा गएर गाँजा लगायतका लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेको श्रेष्ठले बताए। स्थानीय कविता पौडेलले नदी किनारमा केटाकेटी लिएर जान पनि डर हुने गरेको गुनासो गरिन्।
अन्यत्रबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिकका सामान नदी किनारमा छरपस्टै फालिएकाले नदी प्रदूषित बढेको छ। जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सदस्य राजु अर्यालले किशोरावस्थाका युवालाई दुर्व्यसनीमा नलाग्न गरिएको अनुरोध सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गरे।
टाढाबाट आउने मानिस होटलमा भन्दा पनि खुला ठाउँमा बसेर दृश्यावलोकनमा रमाउने गरेको अर्यालले बताए। स्थानीय सरकारले नदी किनारलाई व्यवस्थित बनाउँदै सुन्दर पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्ने स्थानीय दीपक विकको भनाइ छ।
नदीकिनारमा मादक पदार्थ तथा लागुपदार्थ सेवनमा रोक लगाउनुपर्ने, जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाउनुपर्ने र फोहर जम्मा पारेर राख्ने व्यवस्था गर्नुपर्ने विकले बताए।
फोहर व्यवस्थापन र लागुपदार्थको दुर्व्यसनीबाट नारायणी हाइटलाई मुक्त पार्न सके भविष्यमा यस स्थान बाह्य पर्यटकको गन्तव्य बन्न सक्ने बताइन्छ।
प्रकाशित: २७ कार्तिक २०८३ १२:२६ शुक्रबार