धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
धनकुटा — धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
स्थानीय विष्णु घिसिङको घरमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा मंगलबार बिहान करिब साढे २ बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
प्रहरी नायब निरीक्षक गणेश दाहालको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा ठूलो कौडा १४ वटा र सानो कौडा १६ वटा बरामद गरेको छ ।
प्रहरीले जुवाको खालबाट ४ हजार रुपैयाँ र पक्राउ परेका सात जनाको साथबाट १ लाख ७ हजार ३ सय १५ रुपैयाँ गरी जम्मा १ लाख ११ हजार ३ सय १५ रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी ५५ वर्षीय विष्णु घिसिङ, ३४ वर्षीय अरुण घिसिङ, ३९ वर्षीय रमेश घिसिङ, ३४ वर्षीय लिलबहादुर मगर, ४४ वर्षीय लक्ष्मीकुमार मगर, २६ वर्षीय जसमान तामाङ र ४८ वर्षीय वीरबहादुर घिसिङ रहेका छन् ।
पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।