लगातार ४ हारपछि पोखराले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीमाथि ६३ रनको जित हात पार्यो ।
काठमाडौं — ओपनर युवराज सामराको शतकको मद्दतले पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सोमबार आफ्नो पहिलो जित निकालेको छ र यसमा कप्तान चमिका करुनारत्नेले राहत महसुस गरेको बताएका छन् । श्रीलंकाली खेलाडी करुनारत्नेले खेलपछि भने, ‘हामी सबै खुसी छौं । आज हाम्रो ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो रह्यो । विशेषतः सामरा र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे ।’ लिग चरणका सुरुआती ४ खेल गुमाएपछि पोखराको यो पहिलो २ अंक हो ।
उनल थपे, ‘प्ले अफमा हाम्रो सम्भावना निकै कमजोर रहेको छ । तर हाम्रो सम्भावना समाप्त भएको छैन । त्यसैले अबका खेलमा अझ उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं । आजको खेलमा हाम्रो वास्तविक प्रदर्शन सम्भव भयो, अब यस्तै खेल दोहोर्याउन प्रयास हुनेछ ।’
खेलको निर्विवाद ‘प्लेयर अफ द म्याच’ सामरा नै भए । उनले ४८ बलमै १०२ रन बनाए । प्रतियोगिताकै इतिहासमा यो चौथो शतक हो । क्यानाडेली ब्याटर सामराले १० चौका र ६ छक्का प्रहार गरे । त्यसमै टिकेर पोखराले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटमा २१७ रन बनाएको थियो ।
खेलपछि सामराले भने, ‘म यो शतकमा खुसी छु र नेपालमा खेल्न पाएकोमा पनि आभारी छु । नेपालमा क्रिकेट खेल्नुको मज्जा नै बेग्लै छ । समर्थक पनि उत्तिकै प्रशंसायोग्य छन् । टिमलाई पहिलो जित दिलाउन सकेको पनि उत्तिकै खुसी छु ।’
सुरुका २ खेल जितेर शानदार सुरुआत गरेको कर्णालीले त्यसपछिका ३ खेल लगातार गुमाएको थियो । यो हारले उसको प्ले अफका लागि छनोट हुने सम्भवना पनि कमजोर भएको छ । कप्तान सोमपाल कामीले अहिलेको स्थितिमा निराशा पोखे ।
जितका लागि २१८ रन पछ्याएको कर्णालीले १८.३ ओभर मात्र टिकेर अलआउट हुन अगाडि १५४ रन मात्र जोड्न सक्यो । सोमपालले भने, ‘जति बेला २०० माथिको लक्ष्य हुन्छ, टिम दबाबमा आउँछ । हामीले पावर प्लेमा पनि राम्रो गर्न सकेनौं, त्यसैले पराजित रह्यौं ।’ उनले टिमका बाँकी २ खेल जित्ने पनि विश्वास पोखे ।