Trending
Prev Story
Next Story

एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी

Nagarik News •
November 09, 2026 • 08:34 AM
1
1 reads 0 reactions

हुआङले कम्पनीको बोर्डसमक्ष सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वउच्च अधिकारी एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका हुन्।

एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले चीनका लागि सूचना संकलन गरेको आरोप लागेकी एक महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्।

यस विषयमा विवाद बढेपछि कम्पनीले उनी विदेशी गुप्तचरको निशानामा परेको हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ।

हुआङले कम्पनीको निर्देशक बोर्डसमक्ष सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वउच्च अधिकारी एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका हुन्। अमेरिकी गुप्तचर निकायले एलिस चीनका लागि सूचना संकलनमा संलग्न रहेको आशंका गरेको छ। उनीहरूबीच कुनै पारिवारिक सम्बन्ध छैन।

आइतबार कम्पनीका कर्मचारीलाई पठाएको पत्रमा जेन्सेनले श्रीमतीलाई धोका दिएको स्वीकार गर्दै परिवार र सहकर्मीसँग माफी मागेका छन्। उनले आफ्नो गल्तीको पूर्ण जिम्मेवारी लिने बताएका छन्।

उनले पत्रमा लेखेका छन्, 'मैले श्रीमतीलाई धोका दिएँ। मेरो व्यवहारले उनलाई र हाम्रा छोराछोरीलाई चोट पुर्‍याएको छ। मैले गरेको कामको कुनै बहाना छैन। म यसका लागि निकै दुःखी छु।' उनले थप लेखेका छन्, 'एनभिडियाको नेतृत्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो। कर्मचारीको विश्वास जित्नु मेरो जिम्मेवारी हो। तर, म त्यो जिम्मेवारी पूरा गर्न चुकेँ।'

बोर्डले अहिलेसम्म कम्पनीका गोप्य सूचना बाहिरिएको वा अमेरिकी राष्ट्रिय सुरक्षामा असर परेको कुनै प्रमाण नभेटिएको जनाएको छ। तर, घटनासँग सम्बन्धित सबै जानकारीको जाँच गरिने बताएको छ। अनुसन्धान पूरा नहुँदासम्म ६३ वर्षीय हुआङ नै सीईओ रहनेछन्।

कम्पनीका प्रवक्ता जोन रिजोले घटनाले कम्पनीको काममा असर नपर्ने बताए। उनले भने, 'आजको घटनाले एनभिडियाको काम रोकिँदैन। जेन्सेन बिना कुनै अवरोध सीईओका रूपमा कम्पनीको नेतृत्व गर्न प्रतिबद्ध छन्।'

अमेरिकी गुप्तचर निकायले एलिसले चीनको राजधानी बेइजिङलाई प्रत्यक्ष सूचना दिइरहेको निष्कर्ष निकालेको बताइएको छ। चीनको सुरक्षा निकायले उनलाई एनभिडियाका प्रमुखसँग नजिक भएर कम्पनीको प्रविधि र योजनाबारे जानकारी लिन परिचालन गरेको हुन सक्ने आशंका पनि गरिएको छ।

एलिस यसअघि चीनमा टेलिभिजन पत्रकार थिइन्। पछि उनी सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडको उच्च पदमा पुगेकी थिइन्। दक्षिणपूर्वी एसियामा एनभिडियाका ठूला ग्राहकमध्ये एक रहेको यस कम्पनीले पछिल्लो दुई वर्षमा चार अर्ब ८० करोड डलरभन्दा बढी मूल्यका एनभिडिया चिप खरिद गरेको बताइएको छ।

अमेरिकी अधिकारीहरूले मेगास्पिडले बिक्रीमा प्रतिबन्ध लगाइएका शक्तिशाली एआई चिप चीन पुर्‍याउन सहयोग गरेको हुन सक्ने आशंकामा पनि अनुसन्धान गरिरहेका छन्। अमेरिकाले चीनमा उन्नत प्रविधिका चिप बिक्री गर्न कडा नियम लगाएको छ। यस घटनापछि अमेरिकी सांसदहरूले पनि एनभिडियाको सुरक्षा व्यवस्था र चीनसँगको व्यापारबारे चासो देखाएका छन्।

अमेरिकी संसद्का रिपब्लिकन नेताहरूले हुआङलाई नोभेम्बर १८ मा बन्द कोठामा हुने छलफलमा उपस्थित भएर एलिससँगको सम्बन्ध र कम्पनीको सुरक्षा व्यवस्थाबारे जानकारी दिन आग्रह गरेका छन्। उनीहरूले अमेरिकी प्रविधि र राष्ट्रिय सुरक्षामा जोखिम हुन सक्ने भन्दै स्पष्ट जवाफ मागेका हुन्।

हुआङले कर्मचारीलाई पठाएको पत्रमा एलिसको नाम भने उल्लेख गरेका छैनन्। तर, उनले एनभिडियाको सुरक्षा र अमेरिकाको राष्ट्रिय सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले लेखेका छन्, 'म आफ्नो देश र कम्पनीलाई माया गर्छु। एनभिडियाको सुरक्षा गर्न र अमेरिकाको राष्ट्रिय सुरक्षालाई सहयोग गर्न प्रतिबद्ध छु।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने घटनाबारे हुआङसँग कुराकानी नगरेको बताए। पत्रकारहरूसँग कुरा गर्दै उनले हुआङको प्रशंसा गरे। उनले भने, 'मलाई आशा छ, सबै कुरा ठीक हुनेछ। उनले अहिलेसम्म निकै उत्कृष्ट काम गरेका छन्।'

हुआङले यस विषयमा पहिले नै जानकारी पाएको भए अमेरिकी गुप्तचर निकायलाई खबर गर्नुपर्ने थियो कि भन्ने प्रश्नमा पनि ट्रम्पले उनको बचाउ गरे। उनले भने, 'मलाई लाग्छ, उनी विश्वास गर्न लायक व्यक्ति हुन्। उनले हाम्रो देशका लागि उत्कृष्ट काम गरेका छन्।'

आगामी एसिया भ्रमणमा हुआङलाई पनि सँगै लैजाने सम्भावनाबारे सोध्दा ट्रम्पले आफू त्यसका लागि तयार रहेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

एआई प्रविधिको विकासमा एनभिडिया विश्वकै प्रमुख कम्पनीमध्ये एक हो। कम्पनीले बनाउने शक्तिशाली चिप एआई प्रणाली निर्माण र सञ्चालन गर्न प्रयोग हुन्छन्। पछिल्लो समय एआई प्रविधिको माग बढेसँगै कम्पनीको आम्दानी पनि तीव्र रूपमा बढेको छ। एजेन्सी

प्रकाशित: २३ कार्तिक २०८३ १४:१९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
एनभिडियाका पूर्वसीईओ हुआङको अर्की कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा

एनभिडियाका पूर्वसीईओ हुआङको अर्की कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा

सानफ्रान्सिस्को । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको कम्पनीकै अर्की एक कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा भएको छ । चिनियाँ जासुस दा...

#सम्बन्ध #हुआङ #रहे
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

#सम्बन्ध #हुआङ #एलिस
Compare →
Onlinekhabar
1d ago
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर …

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Bizshala
12h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #सीईओ
Compare →

Related Stories

Technology
Build #2611