Trending
Prev Story
Next Story

व्यापारमा बदलिएको शैली : स्क्रिनमा सामान, क्लिकमै कारोबार, छिनभरमै डेलिभरी

Ekantipur •
October 11, 2026 • 08:22 PM
1
1 reads 0 reactions

व्यवसायीहरू सामाजिक सञ्जालबाट ग्राहक तान्दैछन्, उपभोक्ता सहजता खोज्दैछन्, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने ठगी रोक्न सबै अनलाइन विक्रेतालाई सूचीकरण गराउँदैछ ।

व्यापारमा बदलिएको शैली : स्क्रिनमा सामान, क्लिकमै कारोबार, छिनभरमै डेलिभरी

व्यवसायीहरू सामाजिक सञ्जालबाट ग्राहक तान्दैछन्, उपभोक्ता सहजता खोज्दैछन्, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने ठगी रोक्न सबै अनलाइन विक्रेतालाई सूचीकरण गराउँदैछ ।

काठमाडौं — पोखरा–लेखनाथस्थित अर्घौंचोकमा रहेको ‘सिताज कलेक्सन’ मा चाडपर्व सुरु हुनुअघिदेखि नै कपडा किन्नेको चहलपहल बढ्ने गर्छ । दसैं सुरु हुनुअघि ‘सिताज कलेक्सन’ पुग्दा टिकटक लाइभमा कुर्ता, साडी, पोते, चुरा जस्ता सामाग्री देखाइरहेकी थिइन् व्यवसायी सीता दाहाल । डेढ वर्षअघि सञ्चालनमा आएको उक्त पसलको व्यापारको मुख्य माध्यम सामाजिक सञ्जाल र त्यसमा पनि टिकटक रहेको सीता बताउँछिन् । ‘हाम्रो कपडाको व्यापार हुने मुख्य माध्यम नै टिकटक हो,’ उनले भनिन्, ‘अनलाइनबाट अर्डर गर्ने मात्र नभएर टिकटकमा राखेको कपडाको भिडियो देखेर पसल खोज्दै आउने पनि धेरै हुनुहुन्छ ।’

अनलाइन माध्यमले गर्दा सामान बेच्न निकै सहज भएको उनको भनाइ छ । ‘सामाजिक सञ्जालले गर्दा सारै सहज भएको छ । पहिलाको जस्तो नयाँ सामान आयो कि आएन भनेर ग्राहकहरू पसल खोज्दै आउनपर्ने बाध्यता हटेको छ,’ उनले भनिन्,‘नयाँ डिजाइनको कपडा आउने बित्तिकै टिकटक लाइभबाट देखाउने, रिल्स बनाएर सामाजिक सञ्जालमा हाल्ने गर्छौं । त्यसपछि कतिले अनलाइनबाट अर्डर गर्नुहुन्छ । कोहि ‘त्यो सामान तपाईंकोमा देखेको थिए’ भन्दै स्क्रिनसट लिएर पसलमै आउनुहुन्छ ।’ सीता पोखराका विभिन्न स्थानमा ग्राहकहरूलाई शुल्कबिनै सामान डेलिभरी गर्ने गरेको सुनाउँछिन् ।

सीता जस्तै काठमाडौं सामाखुसीस्थित ‘घलेक कलेक्सन’ की सञ्चालक कृपा गुरुङका लागि पनि सामाजिक सञ्जाल कपडा बिक्रीको मुख्य माध्यम बनेको छ । तर उनको व्यापार टिकटकबाट भन्दा इन्स्टाग्रामबाट बढी हुन्छ । ‘हामीले योङ जेनेरेसनलाई टार्गेट गरेर ड्रेसहरू ल्याउँछौं । ग्राहकहरूलाई कपडा देखाउन मोडलहरू पनि राखेका छौं । ट्रेन्डअनुसार चलेको कपडा लगाएर बनाएको भिडियो इस्टाग्राममा र टिकटकमा पोस्ट गर्छौं,’ उनले भनिन्, ‘हाम्रो व्यापार हुने मुख्य अनलाइन प्याल्टफर्म नै इस्टाग्राम हो ।’ ६ वर्षयता कपडा पसल गर्दै आएकी कृपा पसलमा चाडपर्वको हिसाबले व्यापार नहुने गरेको सुनाउँछिन् । ‘हाम्रोमा जेन–जीसहितका पुस्ताले लगाउने फेसनेबल ड्रेसहरू पाइन्छ । ट्रेन्डको हिसाबले मज्जाले व्यापार हुन्छ,’ उनले भनिन् ।

अहिलेसम्म ग्राहकहरूबाट कपडामा नराम्रो कमेन्ट नआएको उनी सुनाउँछिन् । ‘हामी क्वालिटीमा कम्प्रमाइज गरेर सामान ल्याउँदैनौँ । त्यसैले कपडामा कुनै कम्प्लेन आएको छैन,’ उनले भनिन्, ‘सामान ठुलो भए वा नमिलेमा साट्ने पनि गर्छौँ । त्यसले ग्राहकहरूको विश्वास जितेका छौँ जस्तो लाग्छ ।’ उनी एक दिनमा १०० भन्दाबढी अनलाइन अर्डर समेत आएको सुनाउँछिन् । ‘हामी टिकटकमा लाइभ बस्न भ्याउँदैनौ । भिडियो भने समय मिलाएर पोस्ट गर्छौं । टिकटक इनबक्समा अर्डर आउँछ । हृाट्सएपमामा पनि म्यासेज गर्नुहुन्छ,’ उनले भनिन् ।

सीता भने जति व्यस्त भए पनि समय निकालेर हरेक दिन टिकटक लाइभ भने बस्ने गरेको सुनाउँछिन् । ‘फलोअर्सहरूलाई अपडेट दिन दिनको १५ मिनेट नै किन नहोस् लाइभ बस्ने गर्छौं । प्राय: दिनको एक–डेढ घण्टा लाइभ बस्छौँ,’ उनले भनिन्, ‘चाडपर्वको समयमा आझ धेरै बस्छौं ।’

अनलाइन व्यापार व्यावसाय फस्टाए पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा हालसम्म ३८४ वटा ई–कमर्स व्यवसाय मात्रै सूचीकृत भएका छन् । विभागका अनुसार सूचीकरणका लागि आवेदन दिएका १ हजार ४१८ व्यवसाय प्रक्रियामा रहेका छन् ।

विभागको विद्युतीय व्यापार तथा सूचना प्रविधि शाखाले सार्वजनिक गरेको सूचनामा विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ र विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेकाले कानुनबमोजिम व्यवसाय सञ्चालन गर्न अनिवार्य सूचीकृत हुनुपर्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तरर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइनबाट वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसाय तथा सरोकारवालालाई विभागमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको छ ।

अनलाइन व्यापार गर्नेको संख्या बढेसँगै ई–कमर्स व्यवसाय सूचीकृत गर्नको लागि धेरै व्यवसायीहरू आउने गरेको विभागका सूचना अधिकारी अनिल किराती बताउँछन् । ‘धेरै व्यवसायीहरूले निवेदन दिनुभएको छ । सूचीकृत हुन के गर्नुपर्छ भनेर सोध्नेहरू पनि निकै हुनुहुन्छ । कोही कागज नपुगेर पुन: प्रक्रियामा हुनुहुन्छ । त्यसैले स्वीकृत भएको छैन,’ उनले भने, ‘हामीले उहाँहरूको सहजताको लागि अनलाइनबाटै आवेदन दिन भन्छौँ ।’

पछिल्लो समय विभिन्न विद्युतीय माध्यम, डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्ता ठगी गर्ने, भ्रममा पार्ने साथै, गुणस्तरहीन वस्तु तथा सेवा प्रदान गर्ने गतिविधि बढिरहेकाले विभागले उक्त कदम चालेको हो । ई–कमर्स व्यवसाय सूचीकृत गरेमा कुनै समस्या पर्दा सजिलै समस्याको समाधान गर्न सहज हुने  सूचना अधिकारी किरातीको भनाइ  छ । ‘फेसबुक, टिकटक र इन्स्टाग्रामबाट सामान बेच्नेहरूले पनि सूचीकृत गर्नुपर्छ । अनलाइनबाट कारोबार गर्ने सबैले दर्ता गर्नुपर्छ । सूचीकृत भएपछि व्यवसायमा कुनै समस्या आएमा फलो अप गर्न सजिलो हुन्छ,’ उनले भने ।

विभागमा ई-कमर्स व्यवसायसम्बन्धी उजुरी तथा गुनासो आउने गरेका  छन् । उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोका आधारमा विभागले सम्बन्धित व्यवसायको अनुगमनसमेत गर्दै आएको छ । ‘विभिन्न सामाजिक सञ्जालमा फेक आइडी खोलेर सामान बेच्ने, ठगी गर्ने र त्यसपछि आइडी डिएक्टिभेट गर्ने गरेको पाइन्छ । पैसा लिने तर सामान नपठाउने, नक्कली सामान पठाउनेजस्ता समस्या लिएर धेरै आउनुहुन्छ,’ उनले भने,‘सूचीकृत नगरेको कारण त्यस्ता घटनामा फलो अप गर्न निकै गाह्रो हुन्छ ।’

नयाँ ग्राहक लक्षित अफर र डिस्काउण्ट

अनलाइन व्यवसायीहरूले समय समयमा सामानमा विभिन्न अफर समेत दिने गर्छन् ।  ‘हामीले विभिन्न समयमा १० प्रतिशतदेखि माथि अफर राख्ने गर्छौँ,’ कृपाले भनिन्, ‘अहिले हाम्रोमा दसैंको समय भएर विभिन्न प्रडक्टमा डिस्काउन्ट र सेल चलेको छ । त्यसले थप नयाँ ग्राहकलाई आकर्षण पनि गर्छ जस्तो लाग्छ ।’

पसल खोल्ने बेलामा अनलाइन अर्डरभन्दा पसलमै आएर सामान किन्नेहरूको भिड लाग्ने गरे पनि अहिले अनलाइन अर्डर धेरै आउने कृपाले बताउँछिन् । उनी ठाउँ हेरेर सामान डेलिभरीको शुल्क लिने गरेको सुनाउँछिन् । ‘घलेक कलेक्सन’ को टिकटकमा ३६ हजारभन्दा बढी र इन्स्टाग्राममा १५ हजार फलोअर्स छन् ।

चार वर्षदेखि अनलाइन व्यवसाय गर्दै आएका सृष्टि र उनकी बहिनी सुरक्षा लामिछानेले केही समयअघिदेखि पोखराको शिशुवामा ‘स्रिसु कलेक्सन’ सञ्चालनमा ल्याएका छन् । भौतिक पसल खोलेपछि पनि व्यापारको ठुलो हिस्सा भने अनलाइनमै निर्भर रहेको सृष्टि बताउँछिन् । ‘केही ट्राइ गरौं सोचेर अनलाइन बिजनेस सुरु गरेका थियौं । अनलाइन बिजनेसबाट राम्रै व्यापार भएपछि पसल खोलेका हौँ । अहिले पनि धेरै सामान त अनलाइनबाटै अर्डर आउँछ,’ सृष्टिले भनिन् ।

उनीहरूको लक्षित ग्राहक टिनेजर र विद्यार्थी हुन् । सस्तो र सबैले किन्न सक्ने सामान बिक्री गर्ने गरेको उनी सुनाउँछिन् । ‘हाम्रो मुख्य ग्राहक टिनेजर र विद्यार्थी हुन् । सस्तो, सबैले किन्न सक्ने सामान ल्याउँछौ । सबै सामान टिनेजर टार्गेट गरेर ल्याउने भएर व्यापार राम्रो छ,’ उनले भनिन्, ‘कलेज पढ्ने बेलामा सबैले महँगो सामान अफोर्ड गर्न सक्दैनन् । हामीले पनि फिल गरेको हो । त्यही कुरालाई ख्याल गरेर अफोर्डेबल अनलाइन बिजनेस खोलेका थियौँ । सोचेभन्दा राम्रो भएको छ ।’

उनीहरू टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा लाइभ बसेर व्यापार गर्दैनन् । तर अन्य तरीकाले कन्टेन्ट बनाएर र भिडियो बनाएर प्रस्तुत गर्छन । जसले ग्राहकको विश्वास जित्न सकेको सृष्टि बताउँछिन् ।

सृष्टि आफूहरूको व्यापार ‘वेस्टर्न’ पहिरनमा केन्द्रित नरहेको र त्यसै कारण चाडपर्व आउँदा धेरै व्यापार हुने अरू बेला कम हुने भन्ने नहुने सुनाउँछिन् । ‘चाडपर्वमा कुर्था र सारीको माग धेरै हुन्छ । तर पनि हामी त्यस्ता पहिरनमा खासै फोकस छैनौँ,’ उनले भनिन् ।

सीता भने अन्य समयमा भन्दा चाडपर्वको बेला धेरै व्यापार हुने गरेको सुनाउँछिन् । ‘कुर्ता, साडीदेखि बाला, पोते, चाडपर्वमा लाउने सबै सामान पाइन्छ । बिहे र चाडबाडको समय नै सबैभन्दा धेरै व्यापार हुने बेला हो,’ उनले भनिन् ।  सृष्टि सामान डेलिभरी गर्दा शुल्क लिने गरेको बताउँछिन् । ‘हामीले सस्तोभन्दा पनि छिटो र राम्रो सर्भिस दिने कुरियरबाट सामान डेलिभरी गर्ने गरेका छौँ । पोखराभित्र १२० रुपैयाँ लाग्छ । पोखराबाहिर १५० देखि १७० सम्म लाग्छ,’ उनले भनिन् ।

कुनै कपडामा बढी भ्युज आयो भने डिमान्ड धेरै आउने गरेको उनी सुनाउँछिन् । ‘हामी त राखेको भिडियो हरेक समय भाइरल होस् भन्ने सोच्छौं । भाइरल भएपछि धेरै ग्राहकले सामान अर्डर गर्नुहुन्छ । ३०-४० वटा अर्डर एक दिनमा हुन्छ,’ उनले भनिन्, ‘नर्मल्ली १५ वटा अर्डर हरेक दिन आउँछ,’ सृष्टिलेले भनिन् ।  जति सामानको भिडियो टिकटकमा राख्न सक्यो त्यति नै धेरै व्यापार हुने गरेको उनी सुनाउँछिन् । यस्तै सीता पनि अनलाइनमा जति जति कुर्ता, साडी शो गर्‍यो त्यति नै धेरै ग्राहकहरूको डिमान्ड हुने बताउँछिन् ।

के भन्छन् अनलाइन सपिङ गर्ने ग्राहक ?

काठमाडौं तारकेश्वर नगरपालिका नेपालटार–११ की ३० वर्षीया शर्मिला अर्याल ३ वर्षदेखि प्रायः सामान अनलाइनबाट नै मगाउने गरेको सुनाउँछिन् । ‘बजार भिडभाड हुन्छ, जान–आउन पनि त्यति नै खर्च लाग्छ । एक्लै सानो बच्चा बोकेर हिँड्न, सामान खोज्न सहज लाग्दैन । त्यसैले चाहिएको सामान अनलाइनबाट नै अर्डर गर्छु,’ उनले भनिन् ।

अनलाइनबाट सामान अर्डर गर्न अझै पनि धेरै मानिस हिच्किचाउने गरेको उनी सुनाउँछिन् । ‘केही मानिसले अनलाइन व्यापार गर्ने निहुँमा ठगेका घटनाहरू भएर पनि हुनसक्छ । फेक आइडी बनाएर ५ हजार पर्ने सामानलाई एक हजार भन्दै राख्ने र अर्डर गर्दा ग्राहकहरू ठगिएका पनि धेरै छन्,’ उनले भनिन्, ‘त्यसैले अझै पनि अनलाइन माध्यमबाट राम्रो सामान आउँदैन, ठगी हुन्छ भन्ने गरेको देखेकी छु । तर भरपर्दो र विश्वासिलो अनलाइन सप वा पसलबाट सामान अर्डर गर्न सके सजिलो छ ।’

अनलाइन सपिङ गर्दा समयको बचत पनि हुने, आफूले चाहेको सामान कुनै दु:खबिना घरमा आउने भएपछि बजार जाने झन्झट गर्न मन नलाग्ने शर्मिला बताउँछिन् । ‘केही सामान डेलिभरी गरेको रकम ठाउँ हेरेर तिर्नुपर्छ । नत्र आफूलाई मन परेको सामान रोज्यो अर्डर गर्‍यो । आनन्दै हुन्छ,’ उनले भनिन्, ‘मैले मेरो लागि, बच्चाहरूको लागि कपडा अनलाइनबाट नै अर्डर गर्ने गरेकी छु ।’

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612