Trending
Prev Story
Next Story

वेब थ्री यात्रामा हिँडेको ‘सुपरटिम नेपाल’

Ekantipur •
September 20, 2026 • 07:37 AM
1
1 reads 0 reactions

सुपरटिम सोलानाकै ‘ट्यालेन्ट लेयर’ वा प्रविधि प्रतिभाहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो, यस समूहमा ब्लकचेन नेटवर्कमा काम गर्ने डेभलपर, इन्जिनियर, डिजाइनर, कन्टेन्ट क्रिएटरलगायत सदस्य छन्।

वेब थ्री यात्रामा हिँडेको ‘सुपरटिम नेपाल’

सुपरटिम सोलानाकै ‘ट्यालेन्ट लेयर’ वा प्रविधि प्रतिभाहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो, यस समूहमा ब्लकचेन नेटवर्कमा काम गर्ने डेभलपर, इन्जिनियर, डिजाइनर, कन्टेन्ट क्रिएटरलगायत सदस्य छन्।

काठमाडौँ — वेब थ्री र ब्लकचेन प्रविधिमा आधारित भएर नेपालमा त्यतिबिघ्न काम भएका छैनन् । यो के हो भन्नेमै नीतिगत अन्योल र जानकारीको कमी छ । ‘आगामी पुस्ताको इन्टरनेट’ भनिने यो क्षेत्र युवाहरूमाझ भने परिचित देखिन्छ ।

कतिपयले यसलाई नयाँ सम्भावनाका रूपमा अँगालिसकेका छन् । डेढ वर्षअघि दर्ता भई सञ्चालनमा आएको ‘सुपरटिम नेपाल’ ले ब्लकचेन प्रविधिमा युवाहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न, स्वदेशमै डिजिटल आम्दानी सिर्जना गर्न र सामाजिक क्रियाकलापमा यस प्रविधिको प्रयोग प्रवर्द्धनका लागि पहल गर्दै आएको छ ।

हालै मात्र भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुपरटिम नेपालले अन्तर्राष्ट्रिय ब्लकचेन प्लाटफर्म, सोलानासहित अन्य क्रिप्टो समुदायलाई राहत उपलब्ध गराउन अपिल गरेको थियो । सुपरटिमको आग्रहपछि सोलानाले आफ्नो एक्स एकाउन्टको प्रोफाइल तस्बिरमै विज्ञापन राखेर कुल १ लाख ६६ हजार ९ सय ४६ अमेरिकी डलर (करिब २ करोड नेपाली रुपैयाँ) बराबरको स्टेबलक्वाइन संकलन गर्‍यो । उक्त स्टेबलक्वाइन अमेरिकाको ‘क्रस रिभर बैंक’ मार्फत डलरमा विनिमय गरेर गत साता नै नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ ।

सुपरटिम सोलानाकै ‘ट्यालेन्ट लेयर’ वा प्रविधि प्रतिभाहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यस समूहमा ब्लकचेन नेटवर्कमा काम गर्ने डेभलपर, इन्जिनियर, डिजाइनर, कन्टेन्ट क्रिएटरलगायत सदस्य छन् । ‘सुपरटिमले ब्लकचेन सिक्न, बाउन्टी, ग्रान्ट र रिमोट वर्कमार्फत आम्दानी गर्न तथा नयाँ प्रडक्ट र स्टार्टअप निर्माण गर्न प्रोत्साहन गर्छ,’ समूहका प्रमुख रौनकराज रौनियार भन्छन्, ‘भारतबाट सुरु भएको यो सञ्जाल अहिले २५ भन्दा धेरै देशमा विस्तार भइसकेको छ ।’ नेपालमा हाल १ हजारभन्दा बढी प्रविधिप्रेमी युवा, इन्जिनियर, डिजाइनरलगायत यस सञ्जालमा आबद्ध रहेको उनले जनाए ।

सुपरटिम नेपालले विभिन्न सहरमा प्रविधि साक्षरता र प्रतिभा पहिचान अभियान चलाइरहेको छ । यस समूहले विराटनगर, बुटवल, झापा, पोखरा, चितवन र धरानमा ‘सिटी मिक्सर’ तथा कलेज वर्कसप सञ्चालन गर्दै आएको यसका सामाजिक सञ्जाल पोस्टमा देखिन्छन् । युवाहरूलाई नयाँ प्रविधि सिक्न र स्टार्टअप खोल्न प्रोत्साहन गर्ने गरी ‘स्टार्टअप भिलेज’ र विभिन्न ह्याकथन आयोजना गर्दै आएको सुपरटिम नेपालमा कानुनी पाटो हेर्ने पुष्पिका थापाले बताइन् ।

सोलाना ब्लकचेनमा नयाँ प्रडक्ट वा स्टार्टअप सुरु गर्न चाहने उद्यमीलाई सुपरटिमले बिनाधितो १० हजार डलर (करिब १३ लाख रुपैयाँ) सम्मको अनुदान दिने गरेको छ । डेभेलपरहरूलाई हरेक दुई सातामा ३ हजार डलरसम्मका साना ह्याकथन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छानिएका उत्कृष्ट १५ टोलीलाई २५ हजार डलरसम्मको ग्रान्ट तथा वाई–कम्बिनेटर मोडलको एक्सेलेटर मेन्टरसिप प्रदान गर्दै आएको रौनकले बताए ।

‘नेपालमा क्रिप्टो प्रविधिमाथि प्रतिबन्ध भए पनि विश्वव्यापी क्रिप्टो समुदायले विपद्का बेला सहयोग गर्न चाहिरहेका थिए,’ पुष्पिका भन्छिन्, ‘हामीले सरकारी नियमनको परिधिभित्रै रहेर राहत रकम प्रधानमन्त्री कोषसम्म पुग्ने पारदर्शी कानुनी पुल निर्माण गर्‍यौं ।’

ब्लकचेन प्रविधिले केही सेकेन्डभित्रमै बिचौलियाबेगर एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउन मद्दत गर्छ । ब्लकचेन प्रणालीमा आधारित इन्टरनेटलाई ‘वेब थ्री’ भन्ने गरिन्छ र अबको इन्टरनेट त्यतैतर्फ गइरहेको बताइन्छ । ‘वेब वान’ मा इन्टरनेटमा सूचना पढ्न मात्र सकिन्थ्यो । विद्यमान ‘वेब टु’ मा सूचना पढ्न र अन्तर्क्रिया गर्न सकिन्छ । तर, प्रयोगकर्ताका डेटा टेक कम्पनीको नियन्त्रणमा रहन्छन् । ‘वेब थ्री’ भने आफ्ना डेटा वा डिजिटल सम्पत्तिको पूर्ण स्वामित्व आफैंले लिन सकिने इन्टरनेटको नयाँ पुस्ता हो ।

रौनकका अनुसार सुपरटिम नेपाल कुनै व्यापारिक कम्पनी नभई नेपाली युवालाई डिजिटल अर्थतन्त्रसँग जोड्ने माध्यम हो । ‘हाम्रो मुख्य उद्देश्य नेपाली युवालाई घरमै बसेर अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रमा काम गर्ने र आम्दानी गर्ने वातावरण बनाउनु हो,’ रौनक भन्छन्, ‘हाम्रा सदस्यले ब्लकचेन प्रविधिमार्फत विभिन्न ग्रान्ट, बाउन्टी र रिमोट वर्क गरेर अढाई लाख डलरभन्दा बढी रकम नेपालमा भित्र्याइसकेका छन् ।’

ब्लकचेन प्रविधि क्रिप्टो ट्रेडिङ मात्र नभएर डिजिटल हिसाबकिताब राख्ने सार्वजनिक प्रणाली भएको रौनक बताउँछन् । यस प्रविधिमा गरिएका हरेक कारोबार सार्वजनिक रूपमा जो कसैले हेर्न र परीक्षण गर्न सक्ने भएकाले यसमा शतप्रतिशत पारदर्शिता कायम हुन्छ । बाढी राहतकै सन्दर्भमा पनि कति रकम आयो र कहाँ गयो भन्ने विवरण ‘जनमत’ नामक ड्यासबोर्डमा हेर्न सकिने रौनकले औंल्याए ।

‘ब्लकचेन प्रविधिलाई सधैं नकारात्मक वा ट्रेडिङका रूपमा मात्र हेर्नु हुँदैन,’ पुष्पिका भन्छिन्, ‘यो त इमेल वा मेसेज पठाएजस्तै सहज र पारदर्शी रूपमा पैसा वा तथ्यांक स्थानान्तरण गर्ने एक आधुनिक पूर्वाधार हो ।’ उनका अनुसार नागरिकका राय संकलन गर्न, सुरक्षित मतदान र वैदेशिक रोजगारीबाट पठाइने विप्रेषण (रेमिट्यान्स) को शुल्क घटाउन यो प्रविधि निकै उपयोगी हुन सक्छ ।

ब्लकचेन प्रविधिमा कुनै पनि विवरण वा तथ्यांक स–साना ‘ब्लक’ मा संकलन हुन्छन् । ती ब्लकलाई ‘क्रिप्टोग्राफी’ मार्फत एक–अर्कासँग जोडिएको हुन्छ । ब्लकचेनमा कसैको नियन्त्रण हुँदैन, यो विकेन्द्रीकृत हुन्छ । नेटवर्कमा जोडिएका सबै कम्प्युटर (नोड) मा यसका प्रतिलिपि हुन्छन् । एक पटक ब्लकचेनमा कुनै विवरण दर्ता भइसकेपछि त्यसलाई सच्याउन, मेटाउन वा फेरबदल गर्न मिल्दैन । क्रिप्टोग्राफी प्रविधिको प्रयोग हुने भएकाले यसमा ह्याकिङको सम्भावना पनि अत्यन्तै कम हुन्छ ।

रौनकका अनुसार बाढी राहतको घटनाले डिजिटल प्रविधि र विश्वव्यापी समुदायको शक्ति उजागर गरेको छ । ‘इन्टरनेट र ब्लकचेन प्रविधिले विश्वभरका मानिसलाई एकै ठाउँमा जोडेर केही घण्टामै ठूलो सहयोग संकलन गर्न सकिन्छ भन्ने देखायो,’ उनी भन्छन्, ‘हाम्रो प्रतिभा र प्रविधिलाई रोक्नुको सट्टा सही नीति बनाएर अघि बढे नेपालले यसबाट ठूलो आर्थिक लाभ लिन सक्छ ।’

नेपालमा नीतिगत अस्पष्टताबीच पनि विभिन्न क्षेत्र र उद्देश्यका लागि ब्लकचेन प्रविधिको प्रयोग भइरहेको छ । नेपाली प्रविधि कम्पनी ‘रुमसन’ ले ‘राहत’ नामक ब्लकचेन प्रडक्ट निर्माण गरेको छ । यसले स्टेलर ब्लकचेनको प्रयोग गरी विपद्का बेला दिइने राहत र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका रकमलाई पारदर्शी रूपमा वितरण गर्न सहयोग गर्छ ।

थुप्रै नेपाली इन्जिनियर तथा डेभलपरहरूले विश्वका ठूला ब्लकचेन तथा फ्लुइड, पोलिगन, स्क्रोल, इथरियमजस्ता डिसेन्ट्रलाइज्ड फाइनान्स (डीफाई) प्रडक्टको इकोसिस्टममा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

सन् २०२५ को ‘ग्लोबल क्रिप्टो एडप्सन इन्डेक्स’ अनुसार कानुनी प्रतिबन्धबीच पनि सर्वसाधारण र युवाहरूले अनौपचारिक वा पीटुपी माध्यमबाट क्रिप्टो कारोबार गरिरहेका छन् । कुल १ सय ५१ देशहरूमध्ये नेपाल ५०औं स्थानमा छ । यो स्थान ‘सेन्ट्रलाइज्ड एक्सचेन्ज’मा हुने खुद्रा तथा संस्थागत कारोबार र डीफाइ प्रोटोकलमा हुने अन–चेन गतिविधिलाई एकीकृत गरेर निकालिन्छ ।

कानुनी रूपमा प्रतिबन्ध लगाइए पनि क्रिप्टो अर्थतन्त्रमा नेपाली सर्वसाधारणको चासो र सहभागिता विश्वका धेरै देशको तुलनामा अगाडि देखिन्छ । सन् २०२२ को ‘क्रिप्टो एडप्सन इन्डेक्स’ मा नेपाल विश्वव्यापी रूपमा व्यक्तिगत स्तरको ब्लकचेन तथा क्रिप्टो प्रयोगमा नेपालमा १६औं स्थानमा थियो ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3w ago
वेब प्रविधिमा विश्वव्यापी सुरक्षा जोखिमपछि राष्ट्र बैंकका सेवा बन्द, सतर्कता अपनाउन आग्रह

वेब प्रविधिमा विश्वव्यापी सुरक्षा जोखिमपछि राष्ट्र बैंकका सेवा बन्द, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । वेब प्रविधि PHP मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्र बैंकले शुक्रबार अत्यन्त जरुरी सूचन...

#वेब
Compare →

Related Stories

National (Nepal)
Build #2612