क्लब प्रांगणमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो ।
काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर–५ स्थित नयाँ बस्ती युवा क्लबले ११८औँ देवकोटा जयन्ती एवं क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा दुई स्रष्टालाई सम्मान गरेको छ ।
क्लब प्रांगणमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व त्रिपाठीलाई ५१ हजार रुपैयाँ राशिसहित सम्मान अर्पण गरिएको थियो । त्यस्तै, युवा सर्जक एवं समाजसेवी अर्याललाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगा उप्रेती र विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले सभ्य समाज निर्माणमा साहित्यको महत्त्वपूर्ण भूमिका रहने बताए ।
सम्मानित स्रष्टाद्वय त्रिपाठी र अर्यालले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानबारे चर्चा गरेका थिए । सोही अवसरमा क्लब प्रांगणमा रहेको देवकोटाको पूर्णकदको सालिकमा अतिथि, सम्मानित स्रष्टा, क्लबका पदाधिकारी, साहित्यिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणले माल्यार्पण गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्ष एवं नगर प्रवक्ता नारायणबहादुर सुवेदी र वडा नं. ६ का अध्यक्ष नवराज लामालगायतको उपस्थिति थियो । कार्यक्रममा देवकोटामा केन्द्रित कविता पनि वाचन गरिएको थियो ।
समाजसेवा, साहित्य, खेलकुद र स्वास्थ्यलगायतका क्षेत्रमा लामो समयदेखि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको क्लबको साधारणसभा पनि सोही दिन सम्पन्न भएको सचिव रामचन्द्र दंगालले बताए ।