कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार बाँकेमा फूलखेती गर्ने किसानहरू बढ्दै गएका छन् । घरायसी तथा निर्वाहमुखी प्रयोजनका लागि मात्र फूल लगाउने किसानहरू अहिले बजारलाई लक्षित गरेर व्यावसायिक खेती गर्न थालेका छन् ।
नेपालगन्ज — कृषि विषयमा स्नातक ‘बीएस्सी एजी’ अध्ययनरत नेपालगन्जका वेदराज आचार्य, अशिम सिग्देल र चेतन केसीले तिहारलाई लक्षित गरी सयपत्री फूल खेती गरेका हुन् । कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्ने र अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले उनीहरूले फिट फर्ममार्फत व्यावसायिक फूल खेती सुरु गरेका थिए । स्थानीय स्तरमै फूल उत्पादन गरी बजारमा स्वदेशी फूलको उपलब्धता बढाउने उद्देश्यसहित गरिएको यस प्रयासले कृषि उद्यममा युवाको आकर्षण बढाउनुका साथै व्यावसायिक कृषिको सम्भावनासमेत उजागर गरेको छ । तिहार तथा अन्य शुभकार्यका लागि आवश्यक फूल र माला खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले अहिले उनीहरूसँग सिधै अग्रिम अर्डर तथा बुकिङ गर्न थालेका छन् ।
फूलखेतीमा किसानको आकर्षणसँगै युवाको सामूहिक लगानी पनि थपिएको छ । नेपालगन्जकै तीन युवा सुभाषजंग शाह, कीर्तिराज दीक्षित र सुशीलकुमार मौर्यले नरैनापुर गाउँपालिका–५ मटेहियामा २ बिघा जमिनमा यसै वर्षदेखि व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । फरक–फरक पेसा र व्यवसायमा आबद्ध उनीहरूले तिहारको बजारलाई लक्षित गरेर सामूहिक रूपमा फूलखेती गरेका हुन् । अहिले उनीहरूको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । उत्पादन बिक्रीसमेत सुरु भइसकेको शाहले बताए । ‘नेपालगन्जमा फूलको माग राम्रो भएकाले खेती सुरु गरेका हौँ,’ उनले भने, ‘सहरका मुख्य चोकमा स्टल राखेर फूल र माला बिक्री गर्ने गरिरहेका छौं ।’ उत्पादित फूल ग्राहकसम्म पुर्याउन उनीहरूले होम डेलिभरी सेवासमेत सुरु गरेका छन् । बजारको मागअनुसार स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउने योजना रहेको शाहले बताए ।
अहिले बाँकेका खेतबारी सयपत्री फूलले ढकमक्क भएका छन् । फूलको बढ्दो माग र बजारको सम्भावना देखेर किसानसँगै युवासमेत व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । यसले तिहारमा भारतबाट आयात हुने फूलको विकल्प स्थानीय उत्पादनबाटै खोज्ने प्रयास भएको छ । नेपालगन्ज, कोहलपुर, खजुरा र नरैनापुर क्षेत्रमा यस वर्षदेखि व्यावसायीक रूपमा फूलखेती हुन थालेको छ । सरकारले भारतीय सयपत्री फूलको आयातमा रोक लगाइएपछि स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षासहित किसानले व्यवसायिक खेती बढाएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका–२० की बिन्दु चर्ती मगरले फूलखेती थालेको करिब एक दशक भइसक्यो । सुरुमा १० कठ्ठामा खेती गरेकी उनले अहिले दुई बिघामा पुर्याएकी छन् । उनका अनुसार तिहारमा मात्रै होइन सयपत्री फूलको माग अन्य बेला पनि छ । विवाह, विभिन्न समारोह, सभा तथा गोष्ठीमा सजावट र उपहारका रूपमा फूलको प्रयोग बढ्दै जाँदा यसको बजारसमेत विस्तार भएको छ । ‘फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो । जिल्लामा फूलको माग पनि राम्रो भएकाले यसतर्फ आकर्षित भए,’ उनले भनिन्, ‘सुरुमा कम लगानीबाटै व्यवसाय गर्न सकिने र बजार पनि राम्रो देखिएकाले व्यवसायिकरुपमा खेती थालेकी हुँ । आम्दानी सन्तोषजनक छ ।’
उनले सयपत्रीका टेनिस बल, कलकत्ते र ग्ल्याडियोलस जातका फूल उत्पादन गर्दै आएकी छन् । स्वदेशी फूलखेतीलाई टिकाउन भारतबाट आउने प्लास्टिकका फूल र मालामा समेत प्रतिबन्ध लगाउनुपर्ने उनको सुझाव छ । तिहार नजिकिँदै गर्दा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९, लगदहवामा तीन जना युवाले व्यावसायिक रूपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि राखेका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार पछिल्ला वर्षमा बाँकेमा फूलखेती गर्ने किसानहरू बढ्दै गएका छन् । यसअघि घरायसी तथा निर्वाहमुखी प्रयोजनका लागि मात्र फूल लगाउने गरिएकामा अहिले किसानले बजारलाई लक्षित गरेर व्यावसायिक खेती गर्न थालेका छन् ।
स्थानीयस्तरमै फूल उत्पादन गरी बिक्री गर्ने क्रम बढ्दा तिहारमा बाहिरबाट आउने फूलको निर्भरता घटाउन सहयोग पुगेका छ । कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी शर्माले भनिन् ,‘स्थानीय उत्पादनले बजार पाउन थालेपछि फूलखेतीलाई आम्दानीको वैकल्पिक स्रोतका रूपमा विकास गर्न सकिने सम्भावना पनि बढेको छ ।’
रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।