Trending
Prev Story
Next Story

विदेशमा पढिन्, नेपाल फर्किइन्: कफीमा खोज्दै छिन् भविष्य

Ekantipur •
September 13, 2026 • 06:56 AM
1
1 reads 0 reactions

चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । टेलिभिजनको चर्चित डान्स रियालिटी शोमा सहभागी भएकी छन् । साहसिक पर्यटनमा उनको रुचि छ । पर्वतारोहण उनको अर्को परिचय हो ।

विदेशमा पढिन्, नेपाल फर्किइन्: कफीमा खोज्दै छिन् भविष्य

चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । टेलिभिजनको चर्चित डान्स रियालिटी शोमा सहभागी भएकी छन् । साहसिक पर्यटनमा उनको रुचि छ । पर्वतारोहण उनको अर्को परिचय हो ।

काठमाडौँ — सानो छँदा सुमी मोक्तान घरमा केही न केही पकाइरहन्थिन् । दसैं–तिहार होस् वा अरू कुनै चाडपर्व, आफ्नै हातले बनाएको सामान परिवारका सदस्य र पाहुनालाई देखाउँदै भन्थिन्, ‘मेरो सामान किनिदिनुपर्‍यो ।’ सामान बेचेर पैसा कमाउनु उनको उद्देश्यभन्दा पनि त्यसरी आफैंले केही बनाएर त्यसबाट पैसा आर्जन गर्न पाउनुमा उनलाई रमाइलो लाग्थ्यो । त्यो बाल्यकालको खेलजस्तो देखिने बानीभित्र पछि एउटा उद्यमीको स्वभाव लुकेको रहेछ । ‘म बच्चैदेखि आन्ट्रप्रेनरसिप माइन्ड भएको मान्छे हुँ,’ सुमीले भनिन् ।

आज उनी नेपालकै पुरानोमध्येको एक कफी व्यवसायसँग जोडिएकी युवा उद्यमी हुन् । एभरेस्ट कफी ग्रुपकी प्रबन्ध निर्देशक सुमीलाई कफी व्यवसायी मात्र भनेर चिनाउँदा उनको परिचय अधुरो हुन्छ । उनी कलाकार पनि हुन् । फिल्ममा अभिनय गरेकी छन् । चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । टेलिभिजनको चर्चित डान्स रियालिटी शोमा सहभागी भएकी छन् । साहसिक पर्यटनमा उनको रुचि छ । पर्वतारोहण उनको अर्को परिचय हो ।

एभरेस्ट कफी ग्रुपकी प्रबन्ध निर्देशक सुमीलाई कफी व्यवसायी मात्र भनेर चिनाउँदा उनको परिचय अधुरो हुन्छ । उनी कलाकार पनि हुन् । फिल्ममा अभिनय गरेकी छन् । यी सबै फरक देखिने बाटामा एउटा कुरा भने समान छ— नयाँ कुरा गर्ने र नडराउने उनको स्वभाव । कफीसँग सुमीको सम्बन्ध व्यवसाय सुरु गरेपछि बनेको होइन । कफी उनको परिवारको पुरानो कथा हो । उनका बुबा सन्तवीर लामाले नेपालमा कफीको सम्भावना देखेर व्यवसाय सुरु गर्दा यहाँ कफी परिचित पेय थिएन । ‘म त बर्न इन्टु दिस बिजनेस हुँ,’ सुमीले भनिन् ।

सन्तवीर २०३० सालदेखि ट्रेकिङ व्यवसायमा थिए । २०४४ सालताका जापान पुगेका बेला उनले कफी उत्पादन र प्रशोधनबारे नजिकबाट बुझ्ने अवसर पाए । एक इन्डोनेसियाली व्यक्तिसँगको भेटपछि उनको मनमा प्रश्न उठ्यो— नेपालमा पनि कफी उत्पादन हुन सक्छ कि सक्दैन ? नेपाल फर्किएपछि सन्तवीर कफीको खोजीमा लागे । गुल्मी र पश्चिम नेपालका केही क्षेत्रमा कफी फल्ने गरेको उनले सुनेका थिए । त्यहाँ पुग्दा कफीका बोट थिए, तर स्थानीयस्तरमा त्यसको उत्पादन, प्रशोधन र बजारबारे पर्याप्त जानकारी थिएन । त्यही सम्भावनामा उनले बजार देखे ।

‘त्यहाँबाट कफी टिपेर जापानको बजारमा लगेको थिएँ,’ शनिबार सन्तवीरले पुराना दिन सम्झिए । उनले २०४५–४६ साल ताका आफ्नो व्यवसायको यात्रा सुरुमा ‘रोयल एभरेस्ट कफी’बाट थाले । पछि देशको राजनीतिक परिवर्तनसँगै कम्पनीको नाम परिवर्तन हुँदै ‘द एभरेस्ट कफी मिल’ बन्यो । व्यवसाय विस्तारसँगै नेपाल हिमालयन, एभरेस्ट बुटिक कफी र रसुवासँग जोडिएको ग्रेट हिमालयन अर्गानिक कफी स्टेटजस्ता व्यवसाय र ब्रान्ड थपे ।

काभ्रेको पाँचखाल क्षेत्र र कोशीपारिबाट कफी खेती विस्तार हुँदै गयो । जिल्लाजिल्लाबाट कफी संकलन गर्ने, किसानबाट उत्पादन खरिद गर्ने, प्रशोधन गर्ने र अन्तर्राष्ट्रिय बजार खोज्ने काम सुरु गरेको सन्तवीरले बताए । त्यतिबेला नेपालमा आजजस्तो क्याफे संस्कृति थिएन । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित भइसकेको थिएन । तर सन्तवीरले कफीलाई केवल उत्पादनका रूपमा हेरेनन् । उनले त्यसलाई निर्यातयोग्य वस्तुका रूपमा लिए ।

उनका अनुसार व्यवसायको सक्रिय समयमा स्विट्जरल्यान्ड, जापानलगायत बजारमा वर्षमा ५० टनसम्म नेपाली कफी निर्यात हुन्थ्यो । २००८ देखि २०११ आसपास निर्यात उल्लेख्य थियो । २०७२ सालको भूकम्पअघिसम्म कारोबार पनि राम्रो थियो । वार्षिक ४–५ करोड रुपैयाँ बराबरको डलर उनी नेपाल भित्र्याउँथे ।

‘भूकम्पपछि भने कफीको कथा बदलियो । गाउँका बस्ती र जनजीवनमा परेको असर खेतीमा पनि पुग्यो । मानिसहरू गाउँबाट बाहिरिए । हेरचाह नपाएका कफीका बोट मर्न थाले । उत्पादन घट्यो,’ सन्तवीरले भने । अहिले उनको प्रत्यक्ष निर्यात वार्षिक करिब ८ देखि १० टनमा सीमित छ । त्यो भनेको १ करोड रुपैयाँ बराबरको हो । कुनै समय जिल्लाजिल्लाबाट कफी संकलन गर्ने सन्तवीर पछिल्ला वर्षमा भने आफ्नै फार्मको उत्पादनमा बढी केन्द्रित छन् । उनका अनुसार काभ्रेको महाभारत क्षेत्र, कास्की–पोखरा र रसुवामा गरी आफ्नै कफी बारी करिब साढे ७ सय रोपनी छ ।

सन्तवीरको कफी यात्रासँगै हुर्किएकी सुमी अहिले यही व्यवसायको नयाँ पुस्ताको प्रतिनिधित्व गरिरहेकी छन् । सन्तवीरले सुमीलाई सबै सुम्पेका छन् । रोचक संयोग के छ भने, सन्तवीरका अनुसार सुमीको जन्म र उनले कफीको अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको समय लगभग एउटै पुस्ताको सुरुआतजस्तो थियो । दसैं–तिहारअघि घरमा विदेशी पर्यटकका पदयात्राका लागि सन्तवीर सामान तयार पार्थे । सुमी ती सामानसँग खेल्थिन् । उनको बाल्यकालीन रमाइला सम्झनामध्ये एउटा हो— ट्रेकिङका लागि राखिएको पिनट बटर चोरेर खानु ।

चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । टेलिभिजनको चर्चित डान्स रियालिटी शोमा सहभागी भएकी छन् । साहसिक पर्यटनमा उनको रुचि छ । पर्वतारोहण उनको अर्को परिचय हो । ट्रेकिङका सामान, विदेशी पर्यटक, यात्रा र बाहिरका ब्रान्ड सुमीका लागि सानैदेखि सामान्य जीवनको हिस्सा थिए । ‘म सानोदेखि नै नयाँ–नयाँ कुरा देख्थे । बाहिरको ब्रान्डेड सामान, बाहिरका मान्छे, यात्रा— यी सबै कुरा मलाई फ्यासिनेटिङ लाग्थ्यो,’ उनी भन्छिन् । सायद त्यही वातावरणले उनलाई पछि जोखिमसँग सहज हुन सिकायो । तर बुबाको व्यवसायमा जन्मिएकी भए पनि उनले सुरुबाटै कफी समातिनन् ।

नेपालमा प्रारम्भिक शिक्षा लिएपछि भारत, अमेरिका र थाइल्यान्डमा अध्ययन गरिन् । अन्ततः नेपाल फर्किएर नेपाल माउन्टेन एकेडेमीमा एडभेन्चर टुरिजममा मास्टर्स गरिन् । उनी त्यस विषयको पहिलो ब्याचका विद्यार्थीमध्ये एक थिइन् । उनका भाइ–बहिनी विदेशमै छन् । तर पर्यटन व्यवसायी बुबाले उनलाई सानैदेखि एउटा कुरा सम्झाइरहन्थे, विदेशमा अध्ययन गरे पनि नेपाल फर्किनुपर्छ । ‘तिमी जहाँ गए पनि, जतिसुकै कमाए पनि नेपाल आउनुपर्छ,’ बुबाको आग्रह थियो । उनी फर्किइन् ।

तर नेपाल फर्किएपछि पारिवारिक व्यवसायको कार्यालयमा बसेर नियमित काम गर्ने शैली उनलाई सहज लागेन । ‘म आफ्नै किसिमले काम गर्ने मान्छे हुँ,’ उनी भन्छिन् । त्यसपछि उनको जीवन फेरि अर्को मोडमा पुग्यो । नेपाल फर्किएपछि सुमी म्युजिक भिडियो र फिल्मतिर लागिन् । चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिन् । फिल्ममा अभिनय गरिन् । टेलिभिजनको डान्स रियालिटी शोमा पनि सहभागी भइन् ।

सुरुमा उनलाई म्युजिक भिडियोमा काम गर्ने विशेष इच्छा थिएन । अवसर आयो । उनले जोखिम लिइन् । त्यसपछि अवसर थपिँदै गए । कमाएको पैसाले भक्तपुरमा आफ्नै नाममा जग्गा किनेको उनी सम्झिन्छिन् । ‘मेरो लाइफमा नेपालमा पहिलो पटक जग्गा किनेको म्युजिक भिडियोबाट कमाएको पैसाले हो,’ उनी भन्छिन् । त्यो जग्गा पछि बेचिन् । त्यसबाट आएको पैसा फेरि अर्को काममा लगानी गरिन् । उद्यमशीलताको उनको यात्रा नेपाल फर्किएपछि मात्रै सुरु भएको पनि होइन ।

अमेरिकामा विद्यार्थी हुँदा उनले ग्यास स्टेसनमा लगानी गरेको बताउँछिन् । थ्रेडिङ कम्पनीको फ्रेन्चाइज गरिन् । विभिन्न काम र लगानीमा हात हालिन् । थाइल्यान्डमा पढ्दा विश्वविद्यालयका साथीलाई लक्षित गर्दै ‘मोमो टु गो’ नामको सानो व्यवसाय सुरु गरिन् । थोरै पुँजीबाट सुरु भएको त्यो काम सफल भयो । ‘मैले सबै काम गरे, जे काम युवाले गर्न सक्छन्,’ सुमी हाँस्दै भन्छिन्, ‘म सधैं त्यस्तै थिए । केही न केही गरिरहने ।’

त्यसैले आज कफी व्यवसायमा उनको प्रवेशलाई केवल बुबाको व्यवसाय सम्हाल्न नेपाल फर्किएकी छोरीको कथाका रूपमा मात्रै हेर्न नमिल्ने सुमीको भनाइ छ । यो उनको नयाँ प्रयोग, जोखिम, अवसर र अनुभवबाट बनेको यात्राको अर्को रूप पनि हो । सुमी अहिले एभरेस्ट बुटिक कफीमार्फत नेपाली कफीलाई फरक ढंगले विश्व बजारमा लैजान चाहन्छिन् । एभरेस्ट कफी ग्रुप नेपालका प्रारम्भिक कफी उत्पादक तथा निर्यातकर्तामध्ये एक हो । कम्पनीले जापान, कोरिया, ताइवान, स्विट्जरल्यान्ड, क्यानडा र अमेरिकालगायतका बजारमा नेपाली कफी निर्यात गर्दै आएको छ ।

तर सुमीको दृष्टिमा कफी भनेको केवल व्यापार होइन । नेपालले धेरै उत्पादन गरेर सस्तोमा बेच्नेभन्दा गुणस्तरका आधारमा विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्ने उनको धारणा छ । एभरेस्ट बुटिक कफीले विशेषगरी सिंगल ओरिजिन र प्रिमियम बिनमा जोड दिइरहेको छ । करिब १ हजार ६ सय ५० देखि १ हजार ७ सय मिटर उचाइमा उत्पादन हुने अरेबिका कफीको स्वाद, सुगन्ध र गुणस्तरलाई उनले आफ्नो विशेषता मानेकी छन् ।

‘हाम्रो लक्ष्य क्वान्टिटीभन्दा क्वालिटीमा ग्लोबल्ली कम्पिट गर्ने हो,’ उनी भन्छिन् । उच्च पहाडी क्षेत्रमा उत्पादन हुने कफीको मात्रा सीमित हुन सक्छ । तर त्यसलाई कमजोरी होइन, गुणस्तरको पहिचान बनाउन सकिने उनको विश्वास छ । रसुवाको कफीप्रति उनको विशेष लगाव छ । उचाइसँगै पानीको गुणस्तरले पनि कफीको स्वादमा प्रभाव पार्ने उनको अनुभव छ । गोसाइँकुण्ड क्षेत्रबाट आउने पानीका कारण रसुवाको कफी उत्कृष्ट उत्पादनमध्ये पर्ने उनी बताउँछिन् ।

सुमीका लागि कफी व्यवसायको सबैभन्दा महत्त्वपूर्ण पक्ष किसान हुन् । एभरेस्ट कफीले आफ्ना फार्मसँगै विभिन्न जिल्लाका किसानसँग सहकार्य गर्दै आएको छ । किसानलाई बिरुवा, तालिम, प्रविधि तथा आवश्यक प्राविधिक र सामग्री सहयोग उपलब्ध गराउने र उत्पादनपछि उनीहरूबाट कफी खरिद गर्ने अभ्यास छ । कफीको बोटमा पाकेको रातो चेरी टिप्ने काम सामान्य देखिए पनि त्यसमा सीप चाहिन्छ । कुन चेरी टिप्ने, कसरी टिप्ने र कसरी प्रशोधन गर्ने भन्ने कुराले अन्तिम कफीको गुणस्तर निर्धारण गर्छ ।

त्यसैले ग्रामीण महिलाको भूमिका पनि उनको व्यावसायिक सोचमा महत्त्वपूर्ण छ । महिलालाई कफी टिपाइ तथा प्रशोधनमा सीप दिएर रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उनको प्राथमिकता छ । काभ्रेमा महिला सीप विकास र बालबालिकाको शिक्षामा समेत कम्पनीले सहयोग गर्दै आएको सुमी बताउँछिन् ।

‘तपाईं अहिले बारीमा गएर काम गर्नुहुन्छ ?’ उनी प्रश्न गर्छिन्, ‘मान्छे छैन । कसले गर्ने ?’ कफीको माग बढिरहेको छ । नेपाली कफीको पहिचान पनि बन्दै गएको छ । तर उत्पादन बढाउन किसान, श्रम, प्रविधि र बजारलाई एउटै चक्रमा जोड्नुपर्ने उनको बुझाइ छ । सरकार र कफी विकास बोर्डले बिरुवा वितरणमा मात्रै सीमित नभई उत्पादन बढाउने, किसानलाई प्रोत्साहन गर्ने र बजारसँग जोड्ने काममा सक्रिय भूमिका खेल्नुपर्ने उनको धारणा छ ।

अब सुमीको अर्को योजना पनि छ । त्यो हो कफीलाई केवल कपमा बेच्ने होइन, त्यसको पूरा यात्रा देखाउने हो । लोकन्थलीमा करिब साढे तीनदेखि चार रोपनी क्षेत्रफलको आफ्नै परिसरमा उनले ‘गार्डेन टु कप’ अवधारणाको परियोजना विकास गर्ने योजना बनाएकी छन् । त्यहाँ कफी पारखीले कफी कसरी हुर्कन्छ ? कसरी टिपिन्छ ? कसरी प्रशोधन हुन्छ ? र कसरी कपसम्म आइपुग्छ भन्ने अनुभव गर्न पाउने छन् ।

नेपालको कफीको इतिहास धेरै पुरानो होइन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार १९९५ सालतिर गुल्मीको आँपचौरका हीरा गिरीले बर्माबाट कफीको बीउ ल्याएर रोपेपछि नेपालमा कफी खेती सुरु भएको मानिन्छ । दशकौंसम्म कफी कौतूहलको बालीजस्तै रह्यो । पछि यसको व्यावसायिक विस्तार हुँदै गयो र २०४८ सालमा नेपाल कफी उत्पादक संघ स्थापना भयो । त्यही लामो यात्रामा सन्तवीरले बजार खोजे । जहाँ अहिले सुमी जस्तै नयाँ पुस्ता बजार बिस्तारमा लागिपरेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ पुग्न चर्को प्रतिस्पर्धा भइरहँदा केही विश्व चर्चित विदेशी खेलाडी भने प्रतियोगिताको बीचमै फर्किएका छन् । टिमको प्रदर्शनमा महत्वपूर्ण योगदान गर्दै जितका लागि सहयोग गरेका केही …

#केही #विदेश
Compare →
Hamro Patro News
2d ago
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाक...

#केही #विदेश
Compare →

Related Stories

National (Nepal)
Build #2612