केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा
काठमाडौँ — गाजा पट्टीमा बिस्थापित हजारौं प्यालेस्टाइनीका आश्रयस्थल तथा टहराहरूमा भारी वर्षाले ठूलो क्षति पुगेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार, गत शुक्रबारदेखि सुरु भएको भारी वर्षा र तीव्र हावाहुरीका कारण ७० हजारभन्दा बढी पालहरू डुबानमा परेका छन् ।
कैयौं पर्खालहरू भत्किएका छन्। यसले गाजामा मानवीय संकटलाई झन् गहिरो बनाएको छ, किनकि इजरायलले युद्धग्रस्त क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा कडा प्रतिबन्ध लगाइराखेको छ।
अस्थायी टहराहरूले खराब मौसमबाट बच्न पर्याप्त सुरक्षा दिन नसक्ने पनि कार्यालयले जनाएको छ ।
केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस पारेको र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
बाढी प्रभावितहरुले शनिबारदेखि कुनै पनि किसिमको खाद्य सहायता पाउन नसकेको पनि अलजजिराको रिपोर्टमा उल्लेख छ । प्यालेस्टाइनका लागि युनिसेफका विशेष प्रतिनिधि जोनाथन भिट्चले मानिसहरू अत्यन्तै दयनीय अवस्थामा बाँचिरहेको बताउँदै थप सहायताका लागि अपिल गरेका छन्।
गाजाको नागरिक सुरक्षा निकायले १५ सयभन्दा बढी आपतकालीन कलहरू प्राप्त गरेको जनाएको छ। इजरायली सेनाले अवरोध सिर्जना गरेकाले यहाँ मानवीय सहायता पुर्याउन कठिन रहेको सहायता एजेन्सीहरुले बताएका छन् ।
सन् २०२३ अक्टोबर ७ यता गाजामा ज्यान गुमाउनेको संख्या ७४ हजार नाघेको छ। इजरायली आक्रमण र इजरायलले मानवीय सहायतामा अवरोध गरेपछि उत्पन्न संकटका कारण उनीहरुको मृत्यु भएको हो ।