इलामको जस्बिरेमा सञ्चालित १२औँ हेल्लो जस्बिरे गोल्डकप २०८३ को उपाधि श्रीजंघा युथ क्लब बिब्ल्याटले जितेको छ ।
पाँचथर — इलामको जस्बिरेमा सञ्चालित १२औँ हेल्लो जस्बिरे गोल्डकप २०८३ को उपाधि श्रीजंघा युथ क्लब बिब्ल्याटले जितेको छ । शनिबार साँझ ढिला गरी सम्पन्न फाइनलमा पाहुना टोली पाँचथर एफसीलाई १–० गोलले पराजित गर्दै श्रीजंघाले उपाधि उचालेको हो ।
प्रतिस्पर्धात्मक खेलमा श्रीजंघाका सुजन विकले गरेको एक मात्र गोल जितका लागि निर्णायक बन्यो । उपाधिसँगै श्रीजंघाले नगद १ लाख ११ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता पाँचथर एफसीले ६१ हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको मुख्य विधातर्फ सर्वाधिक गोलकर्ताको उपाधि अब्जन लामाले पाए । उत्कृष्ट गोलरक्षक अभिषेक राई घोषित हुँदा उत्कृष्ट खेलाडी पाँचथर एफसीका निशान लिम्बू बने । आयोजक हेल्लो जस्बिरेका एलिस मुखिया उदयमान खेलाडी घोषित भए । उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
त्यस्तै, भेट्रान्सतर्फको उपाधि डाइनामिक भेट्रान्स सुम्बेकले जितेको छ । फाइनलमा माईपोखरी भेट्रान्सलाई ३–० गोलले हराउँदै डाइनामिकले उपाधि जितेको हो । डाइनामिकका यादव गुरुङले दुई तथा चक्र राईले एक गोल गरे ।
भेट्रान्सतर्फको विजेता डाइनामिकले ४१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता माईपोखरीले २६ हजार रुपैयाँ पायो । यस विधामा डाइनामिकका यादव गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए । च्याङ मुखिया उत्कृष्ट खेलाडी र उपविजेता टोलीका रुपेन राई उत्कृष्ट गोलरक्षक बने ।
विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख केदार थापा र आयोजक समितिका अध्यक्ष विजय सुब्बालगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
दिपावलीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलाडी उत्पादनसँगै जस्बिरे क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको आयोजक हेल्लो जस्बिरे फुटबल क्लबका अध्यक्ष विजय सुब्बा ‘अशोक’ले बताए ।
१२औँ संस्करणको जस्बिरे गोल्डकपको उपाधि जितेपछि विजेता टोली । तस्बिर : कान्तिपुर
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।