चार खेलबाट सात अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ भने तीन खेलबाट चार अंक पाएको काठमान्डु जितको खोजीमा छ।
काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको एकमात्र खेल लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीच हुँदैछ । लुम्बिनी लायन्सको यो पाँचौं र काठमान्डुको चौथो खेल हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने यस खेलमा विजय हात पारेमा लुम्बिनीले शीर्ष स्थानमा मजबुत पकड बनाउँदै प्लेअफमा पुग्ने निश्चित हुनेछ । लुम्बिनी चार खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमान्डुले त्यसपछि कर्णालीलाई ४ विकेटले र विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको थियो । विराटनगरविरुद्ध ८४ रनको लक्ष्य १० ओभरभित्र पूरा गरेपछि काठमान्डु रनरेटमा निकै बलियो भएको थियो ।
लुम्बिनीमाथि विजय हात पारेमा काठमान्डुको प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । ३ मध्ये २ खेल जितेको काठमान्डु यस खेल जितेमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजलाई उछिन्दै दोस्रो स्थानमा पुग्नेछ । लुम्बिनीको ७, सुदूरपश्चिमको ६, चितवनको ५ अंक छ ।
काठमान्डुसहित जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगरको समान ४ अंक छ । काठमान्डुले ३ खेलमात्र खेलेको छ । त्यस्तै कर्णालीले ४ र जनकपुर र विराटनगरले ५–५ खेल खेलेका छन् ।
पहिलो दुई सिजनको लिग चरणमा काठमान्डुले लुम्बिनीमाथि विजय हात पारेको थियो । तर गत सिजनको प्लेअफमा काठमान्डुलाई पराजित गर्दै लुम्बिनीले उपाधि यात्रा तय गरेको थियो ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।