प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’लाई तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद र सम्पादन गरेका हुन् ।
काठमाडौँ — प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ ।तन्त्रविद् सन्दीप सापकोटाको अनुवाद र सम्पादनमा यो पुस्तक नेपालीमा प्रकाशन भएको हो ।
तन्त्रचर्चा परिवारद्वारा प्रकाशित उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा लोकार्पण गरियो ।
१७ अध्याय र २०५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको हो ।
तान्त्रिक आगम परम्पराको महत्त्वपूर्ण ग्रन्थ मानिने ‘कुलार्णवतन्त्र’मा तन्त्रदर्शन, साधना तथा परम्परागत ज्ञानसम्बन्धी विषय समेटिएका छन् । यसको नेपाली अनुवादले संस्कृत तथा नेपाल लिपिमा सीमित रहेको तान्त्रिक साहित्यलाई नेपाली भाषाका पाठक, अध्येता र अनुसन्धानकर्ताको पहुँचमा पुर्याउन सहयोग गर्ने विश्वास गरिएको सापकोटाको भनाइ छ ।
ग्रन्थ लोकार्पण कार्यक्रममा तन्त्रविद् महेश्वरजुजु राजोपाध्याय, पूर्वकुमारी चनिरा वज्राचार्य, तन्त्रविद् प्राडा रत्नशमशेर जबरा लगायत धार्मिक–सांस्कृतिक क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।