Trending
Prev Story
Next Story

दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : डिला संग्रौला

Nagarik News •
November 07, 2026 • 04:38 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्।

दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। उनले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिएकी छन्।

नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पन्तले मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको बताइन्।

उनले मुलुकका विकराल समस्या एकातिर थन्क्याएर लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा पार्टीविरुद्ध राज्यशक्ति प्रयोग भइरहेको भन्दै आपत्ति जनाइन्। प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काम लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको उल्लेख गर्दै उनले लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्ने गतिविधि स्वीकार्य नहुने बताइन्। यस्ता गतिविधिविरुद्ध कांग्रेस सडकमा उत्रिन बाध्य हुने उनले चेतावनी दिइन्।

महामन्त्री पन्तले शिक्षाको गुणस्तर खस्किँदै गएको र युवाका लागि विदेश नै गन्तव्य बन्ने क्रम बढिरहेको बताइन्। युवालाई स्वदेशमै भविष्य देखाउन सरकारले आवश्यक काम गर्न नसकेको उनको आरोप थियो।

नेपाली कांग्रेसले युवालाई विदेश होइन, स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने बताउँदै उनले पार्टीभित्र परिवर्तनको अभियानले कांग्रेसलाई युवामय बनाएको उल्लेख गरिन्। अब राष्ट्रको नेतृत्व युवाले गर्ने समय आएको उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता किरणबाबु श्रेष्ठले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीमा नयाँ उत्साह थपेको बताए। २०१७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसमाथि धरपकड र पार्टी समाप्त पार्ने प्रयास भए पनि निरन्तर संघर्षकै कारण २०४६ सालमा प्रजातन्त्र स्थापना भएको उनले स्मरण गरे।

अहिले पनि कांग्रेस र पार्टी नेतृत्वविरुद्ध प्रायोजित रूपमा गतिविधि भइरहेको उल्लेख गर्दै श्रेष्ठले लोकतन्त्रका लागि कांग्रेस आज पनि राष्ट्रिय शक्ति भएको बताए। कांग्रेसको भूमिका कायम राख्न सबै तह र तप्काका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

श्रेष्ठले बूढीगण्डकीको बाढीबाट घरबारविहीन भएकाहरूले समेत छानो र पाल नपाएको भन्दै सरकारको बेवास्ताप्रति आपत्ति जनाए। उनले प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गरे।

नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले कांग्रेस सभापतिमात्रै नभई लाखौँ क्रियाशील सदस्यको समेत छानबिन गर्न सरकारलाई चुनौती दिइन्। बिना कारण राज्यशक्तिको आडमा तर्साउने काम नगर्न चेतावनी दिँदै उनले लोकतन्त्रमाथि खतरा उत्पन्न गर्ने गतिविधि भए नेविसंघ चुप लागेर नबस्ने बताइन्।

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले वर्तमान सरकार लोकतन्त्र र स्वतन्त्रताविरुद्ध लागेको आरोप लगाउँदै आवश्यक परे भ्रातृ संगठन सडकमा उत्रिने बताइन्। लोकतन्त्रमाथि खतरा पार्ने षड्यन्त्रविरुद्ध सिंगो कांग्रेस चुप लागेर नबस्ने उनको भनाइ थियो।

त्यसैगरी कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले नेविसंघले विभिन्न कठिन परिस्थितिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। मुलुकमा महँगी र बेरोजगारी बढ्दै गएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको उल्लेख गर्दै उनले कांग्रेस र नेविसंघले नागरिकलाई स्वदेशमै गरिखाने वातावरण निर्माणका लागि काम गर्ने बताए।

नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष कमल पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू किरणबाबु श्रेष्ठ, जानुका पन्त र इन्जिनियर दीपकबाबु कँडेललगायतको उपस्थिति थियो। सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान, सम्मान तथा चियापान गरिएको थियो।

प्रकाशित: २१ कार्तिक २०८३ १०:२३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाममा...

#कांग्रेस #खोज्दैछ
Compare →
Onlinekhabar
10h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस #लोकतन्त्र
Compare →

Related Stories

Politics & Governance
Build #2611