२० देशका प्रविधि भृकुटीमण्डपमा देखाइने
काठमाडौँ — नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यावसायिकीकरण गर्ने उद्देश्यले आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ।
प्रदर्शनीको आयोजना नेपाल सरकारको कृषि विभागअन्तर्गत राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नेम) ले संयुक्त रूपमा गरेका हुन्। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजक छन्।
आगामी ४ देखि ६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने प्रदर्शनीमा २० देशका आधुनिक कृषि प्रविधि, उपकरण तथा यन्त्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने तीनदिने प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ । १५० भन्दा बढी स्टलमार्फत दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिनेछ। प्रदर्शनीमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने व्यवस्था गरिएको आयोजकले बताएको छ।
प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, शीतभण्डार, बाली भित्र्याएपछिको व्यवस्थापन, प्रशोधन तथा बजारीकरणसम्बन्धी नवीनतम प्रविधि र उपकरण राखिनेछन्। साथै, बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक र विक्रेताको सहभागिता रहनेछ।
स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ। त्यसैगरी, ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।