ठूला प्रतियोगिताको आकर्षण बढे पनि कभर्डहल, मैदान र व्यवस्थित संरचनाको अभावले नेपाली खेलाडीहरू अझै संघर्ष गरिरहेका छन् ।
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट ठूलो उत्सवका रूपमा आयोजना भइरहे पनि अन्य नेपाली खेलकुदको भौतिक पूर्वाधारको अवस्थामा उल्लेखनीय सुधार नभएको सरोकारवालाहरूले बताएका छन् । कान्तिपुर म्याक्स च्यानलले शुक्रबार आयोजना गरेको ‘म्याक्स स्पोर्ट समिट’को ‘खेल कार्य सञ्चालनको रूपरेखा’ सत्रमा नेपाली खेलाडी र खेलकुद क्षेत्रका सरोकारवालाले अहिले पनि पूर्वाधारको अभावसँग जुधिरहेको अनुभव सुनाएका हुन् ।
हाल मलेसिया क्रिकेट संघका चिफ अपरेटिङ अफिसर तथा नेपाली क्रिकेटका पूर्व व्यवस्थापक विनोद दासले नेपालको मोफसलको क्रिकेटमा पूर्वाधारका लागि ठूलो लगानी गर्नुपर्ने जनाए । उनले भने, ‘म खेलाडी हुँदा र अहिले पनि खेलकुदले आवश्यक पूर्वाधार पाउन सकेको छैन । खेलकुद क्षेत्रमा सहयोग माग्नेभन्दा पनि लगानी भित्र्याउने वातावरण बनाउन आवश्यक छ । पछिल्लो ५ वर्षमा प्रायोजकहरू नेपाली क्रिकेटमा सहयोगभन्दा पनि लगानीको हिसाबले आएका छन् ।’
भलिबल नेपालको राष्ट्रिय खेल भए पनि कभर्डहल अझै बनाउन नसकेकोमा दुःख व्यक्त गरे । उनले भने, ‘भलिबल नेपालको लोकप्रिय मात्र नभई राष्ट्रिय खेल पनि हो, तर हामीकहाँ अझै पूर्वाधारको मुख्य अभाव छ । हामी आफैं प्रायोजक खोजेर ल्याउने भइसकेका छौं तर त्यो पर्याप्त भइरहेको छैन । त्यसैले पनि हामी सरकारको अनुदान कुर्नुपर्ने बाध्यता छ ।’
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव टंकलाल घिसिङले आफ्नो कार्यकालमा खेल प्रशासन र सञ्चालनमा उल्लेखनीय सुधार ल्याउनुका साथै पूर्वाधारमा पनि ठूलो लगानी गरेको दाबी गरे । उनले नीतिगत रूपमै खेलकुदका मुद्दाहरूलाई सम्बोधन गर्ने हो भने धेरै पक्षमा समाधान हुने तर्क गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य मोनालिशा खम्बुले खेल संघहरू पुरानै शैलीमा चलिरहेको गुनासो गरिन् । उनले भनिन्, ‘अहिले कायम रहेका खेलकुद संघहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने र नवीकरणका लागि प्रक्रिया पूरा गरेर आउनुपर्छ । कात्तिक महिनासम्म जम्मा सातवटा खेलकुद संघले मात्रै नवीकरण गराएका छन् । विस्तारै यस्ता समस्या निराकरण हुँदै जाला भन्ने आशा गरेको छु ।’
उनले महिला सशक्तीकरणको नारालाई पनि खेलकुद परिषद्ले उच्च प्राथमिकतामा राखेको जनाइन् ।