कान्तिपुर म्याक्स टिभीले शुक्रबार आयोजना गरेको ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क कान्तिपुर म्याक्स स्पोर्ट्स समिट’मा नेपालको खेलकुद अर्थतन्त्रको भविष्यबारे भएको बहसमा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटदेखि विभिन्न फ्रेन्चाइज प्रतियोगिताले नेपालमा लगानी जोखिम नरहेको धारणा सरोकारवालाहरूले सार्वजनिक गरेका छन् । कान्तिपुर म्याक्स टिभीले शुक्रबार आयोजना गरेको ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क कान्तिपुर म्याक्स स्पोर्ट्स समिट’मा नेपालको खेलकुद अर्थतन्त्रको भविष्यबारे भएको बहसमा उनीहरूले यस्तो धारणा राखेका हुन् ।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा एनपीएलको फ्रेन्चाइज टोली विराटनगर किंग्सका मालिक पारस लुनियाले भने, ‘नेपालमा खेलकुद व्यवसायमा ठूलो जोखिम छैन । दीर्घकालीन सोच र देशप्रेमको भावनाका साथ अगाडि बढ्नुपर्छ । साथै, खेलकुदको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने र स्कुल तहदेखि नै खेलकुदलाई प्रोत्साहन गर्नुपर्छ ।’
सञ्चारकर्मी सोमेश बर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा फ्रेन्चाइज फुटबलमा चितवन एफसीमा लगानी गरिरहेका सचिन ढकालले पनि सरकारको स्पष्ट खाका र सम्बन्धित खेल संघ आफूले आयोजना गर्ने प्रतियोगिताबारे स्पष्ट भएमा लगानीका लागि कुनै जोखिम नरहेको बताए ।
उनले अगाडि भने, ‘फुटबल नेपालमा सबैभन्दा धेरै समर्थकले पछ्याइरहेको खेल भए पनि क्लब फुटबललाई प्रायोजन र मोनिटाइज गर्न कठिन भइरहेको छ । साथै, क्लबहरूलाई दिगो बनाउन बलियो संरचना, पूर्वाधार र वर्षभरि खेलहरू सञ्चालन हुनुपर्छ, सरकार र संघको नीति बलियो हुनुपर्छ ।’
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘निजी क्षेत्रले खेलकुदलाई सीएसआरभन्दा माथि उठेर लगानीको अवसरका रूपमा हेर्नुपर्छ । एनपीएलले जस्तै अन्य खेलहरूमा पनि पारदर्शिता, सुशासन र वाचा पूरा गर्ने संस्कृति विकास भएमा निजी क्षेत्रबाट अझ धेरै लगानी भित्रिन्छ ।’
टीसीएमका संस्थापक एवं निर्देशक लोकेश शर्माले नेपालमा ठूलो संख्यामा खेलप्रेमी र डायस्पोरा रहेको र नेपालबाहिर पनि नेपाली खेलकुदप्रति ठूलो दर्शक र आकर्षण रहेकाले त्यसअनुसार खेलकुदमा लगानी गर्नुपर्ने जनाए । उनले अगाडि भने, ‘नेपालको खेलकुदलाई दिगो र व्यावसायिक बनाउन दीर्घकालीन लगानी, कर्पोरेट साझेदारी र खेलकुदलाई व्यवसायका रूपमा हेर्नुपर्छ ।’
अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।