जिल्लामा खेती भइरहेको जमिनमध्ये करिब ६८ प्रतिशतमा सिँचाइ सुविधा छैन, जसले हिउँदे बाली विस्तारमा ठूलो बाधा पुर्याएको छ।
डडेल्धुरा — डडेल्धुराको अधिकांश खेतीयोग्य जमिन हिउँदमा बाँझै रहने गरेको छ । बर्खा र अनुकूल मौसममा खेतीपाती गर्ने किसानले हिउँदका करिब चार महिना भने जमिन खाली छाड्ने गरेका हुन् । सिँचाइ सुविधाको अभाव, चिसोका कारण बाली सप्रिन नसक्ने र उत्पादनको अनिश्चितताले किसान हिउँदे खेतीप्रति आकर्षित हुन सकेका छैनन् ।
जिल्लाको कुल १ लाख ५३ हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये १९ हजार २ सय ६८ हेक्टर जमिन खेतीयोग्य छ । तर, त्यसमध्ये १० हजार १ सय ९२ हेक्टरमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । खेती भइरहेको जमिनमध्ये पनि ६ हजार ८ सय ९९ हेक्टरमा सिँचाइ सुविधा पुगेको छैन । सिँचाइ सुविधा पुगेको जमिन ३ हजार २ सय ९३ हेक्टर मात्रै छ । सिँचाइको सीमित पहुँचले पनि हिउँदमा खेती विस्तार हुन नसकेको किसान बताउँछन् ।
गन्यापधुरा गाउँपालिकाका किसान देवराज भट्टको खेतबारी पनि हिउँदमा प्रायः बाँझै हुन्छ । बर्खा र न्यानो मौसममा सागसब्जी तथा अन्य बाली लगाउने गरेका उनले हिउँदका करिब चार महिना अर्थात् कात्तिक, मंसिर, पुस र माघमा भने खेती गर्दैनन् ।
‘हिउँदमा सागसब्जी राम्रोसँग सप्रिँदैनन् । शीतले बोटबिरुवा मर्ने समस्या हुन्छ,’ उनले भने, ‘सिँचाइको सुविधा पनि छैन । लगाएको बाली नै नहुने भएपछि जमिन बाँझै छाड्ने गरेका छौं ।’
कृषि ज्ञान केन्द्र डडेल्धुराका सूचना अधिकारी तथा सहायक बागवानी विकास अधिकृत रामसिंह बोहराका अनुसार जिल्लाका पहाडी क्षेत्रमा हिउँदमा खेतीपाती गर्ने चलन तुलनात्मक रूपमा कम छ । चिसो मौसममा बालीको संरक्षण गर्न कठिन हुने, पर्याप्त पानी नपर्ने र लगाएको बालीबाट उत्पादन नहुने जोखिमका कारण किसानले हिउँदे खेती कम गर्ने गरेका हुन् । हिउँदे बालीलाई आवश्यक सिँचाइ र संरक्षणको व्यवस्था नहुँदा किसान खेती गर्न उत्साहित हुन नसकेको उनको भनाइ छ ।
हिउँदमा बाँझो रहने जमिनको यकिन तथ्यांक ज्ञान केन्द्रसँग नभए पनि अधिकांश खेत प्रयोगविहीन रहने गरेको बोहराले बताए । जिल्लामा खेतीयोग्य जमिनको तुलनामा खेती भइरहेको क्षेत्रफल पनि कम छ । खेतीयोग्य १९ हजार २ सय ६८ हेक्टरमध्ये ९ हजार ७६ हेक्टरमा खेती भएको छैन । त्यस्तै, खेती भइरहेको क्षेत्रफलमध्ये करिब ६८ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छैन ।
हिउँदमा खेती नहुँदा जमिनको उत्पादन क्षमता उपयोग हुन सकेको छैन । सिँचाइ सुविधा विस्तारसँगै पहाडी भूगोल र चिसो मौसम अनुकूलका बाली छनोट तथा शीत र रोगबाट बाली जोगाउने प्रविधि आवश्यक रहेको बोहराले बताए ।