बागलुङ बजारदेखि बुर्तिबाङसम्म ९० किलोमिटर यात्रामा जिप र बसले १ हजार ५ सय रुपैयाँसम्म भाडा लिँदा सरकारी दर कार्यान्वयनविहीन बनेको छ।
बागलुङ — मध्यपहाडी लोकमार्गमा सूचीकृत बागलुङ बजारदेखि ९० किलोमिटर पश्चिमको बुर्तिबाङ पुग्न जिप र बसले १ हजार ५ सय रुपैयाँसम्म भाडा असुल्छन् । लोकमार्ग बन्नुअघि ग्रामीण सडकका रूपमा रेखांकन भएको बेलाभन्दा अहिले बढी भाडा तिर्नुपरेको स्थानीयको गुनासो छ ।
बुर्तिबाङबाट तमान वा निसीतर्फ जानुपरेमा थप ५ सय रुपैयाँ भाडा तिर्नुपर्छ । निसीको भलकोट जान पनि लोकमार्गकै खण्डमा थप ५ सय रुपैयाँ खर्च लाग्छ । कामविशेषले सदरमुकाम जानुपरेमा एकतर्फी १ हजार ७ सय रुपैयाँसम्म भाडा लाग्ने गरेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद श्रीर्पालीले बताए ।
दशकअघि यो खण्डमा कच्ची ट्रयाक मात्र थियो । पहिरो, हिलो र साँघुरो सडकका कारण दुई दिन लाग्ने जिप यात्रा अहिले बढीमा ५ घण्टामा पूरा गर्न सकिन्छ । तर भाडादर भने घट्नुको साटो बढेको बढ्यै छ । तोकिएको भाडा लागू नभएपछि बार्गेनिङ गरेर तिर्न खोज्दा यात्रुहरू बीच बाटोमै अभद्र व्यवहार सहन बाध्य छन् । गलकोट पुग्न ६ सय र बडिगाडको खरबाङ पुग्न ७ सय ५० देखि ८ सय रुपैयाँसम्म भाडा तिर्नुपर्ने बाध्यता छ ।
‘मागे जति भाडा नदिए अभद्र व्यवहार हुन्छ, बरु नबोलीकनै तिर्ने गरेको छु,’ बडिगाड–२ का हर्कबहादुर कुमालले भने, ‘पैसा तिरेर यात्रा गर्दा पनि हामीलाई अपराधीझैं व्यवहार हुन्छ ।’ कच्ची सडक हुँदा तोकिएको भाडादर सडक पक्की भएपछि पनि हेरफेर नभएको उनको भनाइ छ ।
मध्यपहाडी लोकमार्गमा सूचीकृत यो सडक राष्ट्रिय गौरवको आयोजना हो । सरकारले गत असार १८ गते नयाँ भाडादर लागू गरेको छ । डिजेल र पेट्रोलको मूल्य बढेकै समयमा निर्धारण गरिएको यो भाडादर भने कसैले पालना गरेका छैनन् । दररेटअनुसार लोकमार्गलगायत राजमार्गमा डिलक्स गाडीको प्रतिकिलोमिटर ४ रुपैयाँ ९० पैसा भाडा तोकिएको छ । प्रतिकिलोमिटर ५ रुपैयाँका दरले लिँदा पनि यो सडकमा बढीमा ४ सय ५० रुपैयाँ भाडा पर्छ । सुपर डिलक्सका लागि प्रतिकिलोमिटर ६ रुपैयाँ तोकिएको छ । यसअनुसार ५ सय ४० रुपैयाँ भाडा पर्छ ।
तर जिल्ला भाडादर समायोजन समितिले अहिलेसम्म राजमार्गका रूपमा भाडादर कायम गर्न सिफारिस गरेको छैन । केन्द्रीय रूपमा निर्धारण भएको भाडादर लागू भए–नभएको खोजी नगर्ने र स्थानीय स्तरमा पनि कार्यान्वयन नगर्दा यात्रुले दोब्बर अर्थात् प्रतिकिलोमिटर १५ रुपैयाँभन्दा बढी भाडा तिर्न बाध्य छन् ।
यो रुटमा अधिकांश जिप चल्छन् भने लामो दूरीका बस पनि सञ्चालनमा छन् । तर कुनै पनि गाडीले तोकिएको भाडामा यात्रु बोक्ने गरेका छैनन् । भाडादर निर्धारण समितिमा सार्वजनिक यातायातका साधन चढ्ने यात्रुको प्रतिनिधित्व हुने व्यवस्था छैन ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष र यातायात व्यवस्था कार्यालयका प्रमुख सचिव रहने भाडादर निर्धारण समितिले सिफारिस गरेमा यातायात व्यवस्था विभागले दररेट समायोजन गर्ने प्रावधान छ । बागलुङमा पनि यातायात व्यवस्था कार्यालय छ । यस समितिले जिल्लामा भाडादर लागू गराउन सक्छ । तर बैठक बसेको छैन। ‘हामीलाई पनि यो भाडादरबारे चासो लागेको छ, बैठक बस्ने योजना बन्दैछ,’ यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोविन्दप्रसाद पौडेलले भने, ‘इन्धनको मूल्यका कारण व्यवसायीले मान्ने अवस्था भने नआउन सक्छ ।’ उपभोक्ताको हितमा थोरै भए पनि समायोजन गर्न सकिने उनले बताए ।
बढी भाडा उठाएको उजुरी आए कारबाही गर्न सकिने प्रहरी प्रमुख फणिन्द्र प्रसाई बताउँछन् । ‘हामीले पनि बढी भाडा तिर्ने, उजुरी नगर्ने भइरहेको छ,’ उनले भने, ‘कानुनविपरीतको काम भएको खण्डमा समयमा उजुरी गर्ने बानी बसालौं ।’ प्रहरी र प्रशासनले नियमित अनुगमन गर्ने उनले बताए । सिट क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाए पनि कारबाही गर्ने उनले बताए ।
लोकमार्गमा चल्ने कुनै पनि जिप र बसले टिकटसमेत नदिएको यात्रुको गुनासो छ । यातायात समिति खारेज भएर कम्पनीमा रूपान्तरण भए पनि अहिले विभिन्न चोकमा कम्पनीको बोर्ड राखेर टिकट काउन्टर भने सञ्चालन भइरहेका छन् । यहाँ धौलागिरि यातायात बस तथा जिप व्यवसायी समिति, बागलुङ कालिका भगवती, बुर्तिबाङ यातायातलगायतमा सूचीकृत सवारीसाधन चल्छन् ।
समिति खारेज भएपछि बनेको धौलागिरि यातायात कम्पनीका अध्यक्ष उमेश केसीले भाडादरबारे केही बोलेनन् । उनले भने गुणस्तरीय सेवा दिन थालेको दाबी गरे । ‘यात्रुलाई गुणस्तरीय सेवा दिएका छौं,’ उनले भने, ‘सेवाअनुसारको भाडा लिएका छौं ।’ बागलुङ सदरमुकामदेखि काठमाडौंका लागि २ सय ७२ किलोमिटरमा १ हजार ६ सय रुपैयाँ भाडादर छ । जिल्लाभित्र एकतर्फी १ हजार ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म भाडा लाग्ने रुट पनि छन् ।
प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।