स्थानीय तहले सञ्चालनमा ल्याएको अस्पतालमा डाक्टर, नर्स र प्राविधिक हटेपछि वृद्धवृद्धासहित सर्वसाधारण उपचारका लागि फेरि जिल्ला अस्पताल धाउन बाध्य छन्।
अछाम — ६ वर्षअघि डाक्टरसहितको टोली र अत्याधुनिक उपकरणबाट सेवा सुरु गरेको मेल्लेख आधारभूत अस्पताल एक वर्षदेखि बन्द छ । अस्पतालमा लाखौं खर्चेर जुटाइएका उपकरण थन्किएका छन् भने गाउँपालिकाका दुर्गम बस्तीका बर्थिङ सेन्टरसमेत एक–एक जना स्वास्थ्यकर्मीको भरमा चलिरहेका छन् । जनशक्ति अभावले गाउँको स्वास्थ्य सेवा अस्तव्यस्त हुँदा स्थानीयवासी उपचारका लागि फेरि बयालपाटा अस्पताल धाउन बाध्य छन् ।
गाउँपालिकाले आन्तरिक स्रोतबाट डाक्टरसहितको टोली खटाएर आधारभूत अस्पताल सञ्चालनमा ल्याउँदा गाउँभरि खुसीको माहोल थियो । एक्स–रे, भिडियो एक्स–रे (अल्ट्रासाउन्ड), ईसीजी, ल्याब र आकस्मिक बिरामी भर्ना सेवासमेत गाउँमै सुरु भएपछि स्थानीय बासिन्दाले उपचारकै लागि बयालपाटा अस्पताल धाउनुपर्ने दिन सकिएको ठानेका थिए । तर त्यो खुसी धेरै समय टिक्न सकेन । स्थानीय तहले लाखौं खर्चेर जुटाएका उपकरण अहिले कोठाभित्र थन्किएका छन् भने अस्पतालको ढोकामा एक वर्षदेखि ताल्चा झुन्डिएको छ ।
गाउँको अस्पताल बन्द भएपछि स्थानीय वृद्धवृद्धा र सर्वसाधारण फेरि पुरानै सकसमा फर्किएका छन् । ‘हाम्रो उमेर ढल्किसकेपछि गाउँमै ठूलो अस्पताल खुल्यो । गाउँमै डाक्टर सा’पहरू आए, ठूला मेसिनहरू ल्याए । आफ्नै आँखाअगाडि त्यति ठूलो अस्पताल देख्दा अब त बिरामी पर्दा उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्दैन कि भन्ने ठूलो आशा पलाएको थियो,’ मेल्लेख गाउँपालिका–५ का ७८ वर्षीय रणबहादुर साउदले भने, ‘तर त्यो खुसी र आशा धेरै दिन टिकेन । अहिले फेरि अस्पताल बन्द भएर उही पुरानै हालत भइसक्यो । गरिबका दुःख फेरि फर्किए ।’
मेल्लेख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र ठकुल्लाका अनुसार २०८२ कात्तिकमा करार कर्मचारी हटाउने सरकारी नीति र स्वास्थ्य ऐनको कानुनी प्रावधानपछि पालिकाले अस्पतालमा कार्यरत डाक्टर, नर्स, रेडियोग्राफर र ल्याब प्राविधिकलाई बिदाइ गरेको थियो । त्यसपछि स्वास्थ्यचौकीको दरबन्दीमा रहेका एक जना अहेबलाई अस्पताल खुला राख्न मात्रै खटाइयो ।
अस्पताल सञ्चालनका लागि आवश्यक न्यूनतम जनशक्ति र उपकरण चलाउने प्राविधिक नभएपछि एक जना अहेबले अस्पताल धान्न सक्ने अवस्था रहेन । अन्ततः अस्पताल नै ठप्प भयो । अहिले उपचारका लागि आउने सेवाग्राहीलाई समेत नजिकै स्थापना हुन लागेको सरानी सामुदायिक स्वास्थ्य इकाइतिर पठाउने गरिएको छ ।
‘एक जनाले अस्पताल चलाउन सम्भव थिएन । पालिकाको स्रोतबाट राखिएको एमबीबीएस डाक्टरलगायत सबै जनशक्ति हटाइएपछि अस्पतालले दिने सबै सेवा रोकियो । अस्पताल नै अब एक जना अहेबबाट चल्यो । हामीले भर्खरै स्वास्थ्यचौकीको दरबन्दीभित्रका अहेबहरूलाई पठाएर राखेका थियौं,’ उनले भने, ‘अहिले एक जना अहेबले मात्रै अस्पताल चलाउन सम्भव पनि छैन । अस्पताल भइसकेपछि त नर्सिङ स्टाफ हुनुपर्यो, डाक्टर हुनुपर्यो, रेडियोग्राफर हुनुपर्यो, ल्याब हुनुपर्यो, सबै कुरा हुनुपर्यो ।’
मेल्लेख गाउँपालिका–३ स्थित दर्बा बर्थिङ सेन्टर ।
अस्पतालमा आउने बिरामीले आधारभूतभन्दा माथिल्लो स्तरको सेवाको अपेक्षा गर्ने गरेको उनले बताए । ‘अस्पतालमा आउने सेवाग्राहीले केही न केही अपेक्षा राखेर आउँछन् । आधारभूत अस्पतालले स्वास्थ्यचौकी जतिको पनि सेवा दिन सकिएन भने त्यसको केही काम छैन,’ उनले भने, ‘आधारभूत अस्पतालको मापदण्डभित्र पर्ने सबैजसो सेवा सञ्चालन गरेका थियौं । तर जनशक्ति नहुँदा अहिले पूर्ण रूपमा सेवा ठप्प छ । अस्पताल एक वर्षदेखि बन्द नै भयो ।’
अस्पताल मात्र होइन, गाउँपालिकाका दुर्गम बस्तीमा सञ्चालित प्रसूति केन्द्र (बर्थिङ सेन्टर) हरूको अवस्था झनै दयनीय छ । २४ सै घण्टा खुला रहनुपर्ने र सिफ्टअनुसार स्वास्थ्यकर्मी खटिनुपर्ने संवेदनशील प्रसूति केन्द्रहरू एक/एक जना स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेका छन्।
मेल्लेख गाउँपालिका–३ स्थित दर्बा बर्थिङ सेन्टरमा गएको मंसिर १ गतेदेखि अनमि माया सिंह एक्लै खटिएकी छन् । दिनरात ड्युटीमा खटिनुपर्ने बाध्यताले उनलाई शारीरिक र मानसिक तनाव भएको छ । ‘एक्लै सुत्केरी गराउन निकै कठिन हुन्छ । कम्तीमा दुई जना स्वास्थ्यकर्मी भइदिए काम गर्न आँट र सहज हुन्थ्यो,’ अनमि सिंहले भनिन्, ‘थप कर्मचारी चाहियो भनेर माग गरे पनि अहिलेसम्म व्यवस्था हुन सकेको छैन । एक्लै भए पनि जसोतसो सेवा धानिरहेकी छु ।’
सुत्केरी बेथा लागेका महिला जुनसुकै बेला, मध्यरात वा बिहान आउने भए पनि एक्लैले सबै जिम्मेवारी लिनुपरेको उनले सुनाइन् । ‘आफूसँग भएको क्षमताले भ्याएसम्म बिरामीको हेरचाह गरिरहेकी छु,’ उनले भनिन्, ‘अर्को एक जना मात्रै स्वास्थ्यकर्मी थपिदिए पनि धेरै सहज हुन्थ्यो । निकै गाह्रो भए पनि सेवा रोकेकी छैन ।’
दर्बा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मीका लागि बस्ने क्वार्टरसमेत छैन । दुई कोठाको भवनमा एउटा कोठा ओपीडी र अर्को कोठा प्रसूति सेवाका लागि प्रयोग गरिएको छ । ‘बर्थिङ सेन्टरमा बस्न क्वार्टर नहुँदा ठूलो समस्या छ । दुई कोठाको भवनमा एउटा ओपीडी र अर्को प्रसूति कक्ष छ,’ उनले भनिन्, ‘गाउँमा कोठा लिएर बसौं भने राति डेलिभरी केस आउँदा गाउँबाट आउन सम्भव हुँदैन । बर्थिङ सेन्टरकै एक छेउमा जसोतसो रात कटाएर काम चलाइरहेकी छु ।’
प्रसूति कक्षमा आवश्यक न्यूनतम पूर्वाधार र कोठाको अभावले सुत्केरी आमा र नवजात शिशुमा संक्रमणको जोखिम पनि उत्तिकै छ । ‘पानी र सोलारबाट २४ सै घण्टा बिजुलीको व्यवस्था भए पनि भवनको ठूलो समस्या छ,’ उनले भनिन्, ‘प्रसूति गराएकै कोठामा सुत्केरी र बच्चालाई राख्नुपर्ने बाध्यता छ । सुत्केरी गराइसकेपछि राख्न छुट्टै कोठा भइदिएको भए संक्रमणको जोखिम कम हुन्थ्यो ।’
स्वास्थ्य क्षेत्रमा १५ वर्ष बिताइसकेकी अनमि सिंह आफैं बिरामी पर्दासमेत सेवा बन्द हुने डरले बिदा बस्न सकेकी छैनन् । ‘अहिले मलाई नशाको समस्या भएर उपचारमा जानुपर्ने भएको छ । म बाहिर गएँ भने यहाँ बिरामी हेर्ने कोही हुँदैन,’ उनले भनिन्, ‘मंसिर १९ गते एउटा डेलिभरीको डेट छ । आफू बिरामी भए पनि सेवा ठप्प हुने चिन्ताले उपचारमा जान सकेकी छैन ।’
दुर्गममा एक्लै ड्युटी गर्दा आइपर्ने जोखिम पनि उत्तिकै रहेको उनले बताइन् । ‘जटिल केस समयमै सुविधासम्पन्न अस्पताल पठाउन सकियोस् भनेर म बेथा सुरु हुनासाथ खबर गर्न भन्छु,’ उनले भनिन्, ‘गत साउनमा एक जना सुत्केरी व्यथा लागेकी महिला आउनुभयो । पाठेघरको मुख ३ सेन्टिमिटर खुलिसकेको थियो। एक्लै सम्हाल्न गाह्रो हुने देखेपछि मैले बयालपाटा अस्पतालका लागि रेफर गरिदिएँ ।’
तर बाटोमै प्रसूति व्यथा तीव्र भएपछि उनी स्वयं गाडीमा सँगै जान बाध्य भइन् । ‘बाटोमै बच्चा जन्मिने अवस्था आएपछि टाउको अड्किएर जोखिम नहोस् भनेर म गाडीमै सँगै गएँ,’ उनले भनिन्, ‘बाटोमै गाडीभित्रै प्रसूति गराएर हामी फेरि फर्कियौं । अहिलेसम्म भाग्यले साथ दिएर कुनै अप्रिय घटना भएको छैन तर सधैं यस्तै अवस्थामा सेवा धान्न निकै चुनौतीपूर्ण छ ।’
स्वास्थ्य शाखा प्रमुख ठकुल्लाका अनुसार गाउँपालिकाको वडा ४ कुस्कोटस्थित कुयडा बर्थिङ सेन्टरको अवस्था पनि उस्तै छ । कर्मचारी अभावकै कारण उक्त बर्थिङ सेन्टर करिब एक वर्ष पूर्ण रूपमा बन्द रह्यो । केही समयअघि मात्र पालिकाले एक जना कर्मचारी पठाएर पुनः सञ्चालनमा ल्याए पनि ती स्वास्थ्यकर्मी दक्ष प्रसूतिकर्मी (एसबीए) तालिमप्राप्त छैनन् । एसबीए तालिम नै नलिएका स्वास्थ्यकर्मीको भरमा २४ घण्टे प्रसूति सेवा सञ्चालन हुँदा आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा छ ।
स्वास्थ्य संस्थामा जनशक्तिको अभाव र दरबन्दी मिलान नहुनुलाई स्वास्थ्य शाखा प्रमुख ठकुल्ला मुख्य कारण मान्छन् । ‘स्थानीय तह पुनर्संरचना हुँदा साविकका सात वडालाई फुटाएर आठ बनाइयो । तर सोही अनुपातमा स्वास्थ्यकर्मीको दरबन्दी थपिएन,’ ठकुल्लाले भने, ‘भएकै सातवटा संस्थाका कर्मचारी आठ वडामा बाँड्नुपर्दा चरम संकट भएको हो । त्यसमाथि आधारभूत अस्पताल र नयाँ स्वास्थ्य केन्द्रका लागि दरबन्दी नै छैन ।’
नीतिगत अड्चन र स्रोत अभावले अस्पताल बन्द गर्नुपरेको गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदले बताए । ‘१६ करोड २५ लाख रुपैयाँको लागतमा १५ शय्याको अस्पताल भवन निर्माणाधीन छ । सरकारले भवन सम्पन्न भइसकेका अस्पताललाई मात्र दरबन्दी दिएको र हाम्रो भवन यही वर्ष सकिने भएकाले दरबन्दी पाउन सकिएन,’ अध्यक्ष साउदले भने, ‘गाउँपालिकाको वार्षिक आन्तरिक स्रोत नै जम्मा २० देखि २२ लाख रुपैयाँ मात्र उठ्छ, जसले एक/दुई जना कर्मचारीको तलब धान्न पनि पुग्दैन । स्रोत सुनिश्चित नभएकै कारण मन्त्रालयले ओएनएम (संगठन तथा व्यवस्थापन) सर्वेक्षण स्वीकृत गरेन ।’
सरकारको ताकेतापछि पुराना करार कर्मचारी हटाउनुपरेको र थप पद सिर्जना गर्ने नीतिगत बाटो नहुँदा मौजुदा स्थायी दरबन्दीबाटै आधारभूत सेवा धान्नुपरेको उनले बताए । ‘कुयडामा भर्खरै दरबन्दीबाट पठाइएकी कर्मचारीको एसबीए तालिम भएको छैन । उहाँलाई छिट्टै तालिममा पठाउनेछौं ।’ जनशक्ति अभाव र व्यवस्थापकीय कमजोरीका कारण मेल्लेखको स्वास्थ्य सूचकांकसमेत खस्किएको छ । स्वास्थ्य कार्यालय अछामले हालै गरेको जिल्लाका १० स्थानीय तहको वार्षिक स्वास्थ्य समीक्षामा मेल्लेख कार्यसम्पादन मूल्यांकनमा सातौं स्थानमा धकेलिएको छ ।
मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।