उपभोग जारी रहनु र त्यसलाई बनाउने सीप जोगिनु एउटै कुरा होइन । बजारमा सेलरोटी सजिलै पाइए पनि घरमा पिठो तयार पार्ने, दाउन हाल्ने, मुछ्ने–पकाउने, तेलको ताप मिलाउने ज्ञान अर्को पुस्तामा नपुग्न सक्छ।
तिहारको मिठास ‘सेलरोटी’ ले बढाउने हो कि तिहारले सेलरोटीमा स्वाद थप्ने हो ?
पहिले–पहिले सेलरोटी मात्र होइन, मासु, चिउरा, खीर, हलुवाजस्ता सबै किसिमका पकवान दुर्लभ थिए । त्यस बेला लाग्थ्यो, दुर्लभता र सीमितताका कारण तिनको महत्त्व र स्वाद बढेको हो । तर होइन रहेछ । अहिले सजिलै र सधैं उपलब्ध हुँदा पनि चाडबाडमा तिनको स्वाद पहिले जसरी नै बढ्छ ।
मधेशमा हुर्केकाहरूका लागि सरस्वती पूजाको जति मीठो बुनिया अरू बेला हुँदैन । छठका बेलाको ठेकुवाको स्वाद र महक बेग्लै हुन्छ । उँधौली–उँभौलीका बेलाको वाचिपा वा तीते अरू बेलाको भन्दा स्वादिलो हुन्छ । सधैं घरमा पकाइरहँदा पनि ढिकरी र चिचर माघीको मीठो, खाब्जे ल्होसारको राम्रो । जुम्ला सिञ्जाका तिलाचन्द्र चापागाईंले एक पटक हामीसित भनेका थिए, ‘सेलरोटी त्यही हो, तपाईंहरूलाई तिहारमा स्वाद, हामीलाई माघे संक्रान्तिमा स्वाद ।’
उसो त जुम्लामा तिहार र इलाममा माघे संक्रान्ति नमनाइने होइन ।
एउटा राम्रो सेलरोटी गोलाइ मिलेको, आकार चिटिक्क परेको र रङ एकनासको भएको हुनुपर्छ । ‘काँडा’ सेलको राम्रोपनको अभिन्न अंग हो, यद्यपि यो ‘हेर्नको राम्रो’ मात्र होइन । अर्को कुरा, सेतो मन पर्नेलाई पनि सेतो सेलरोटी मन पर्दैन । तापको प्रभावमा चिनी र प्रोटिनका बीचमा भएको प्रतिक्रिया– ‘मायर्ड इफेक्ट’ को उचित डिग्री हाम्रो आँखैले नाप्छ– सेलरोटी डढेको पनि हुनु हुँदैन ।
नापेर हेर्दा देखिन्छ, सेलरोटीको औसत आकार ५ इन्चदेखि ७ इन्चका बीचमा हुन्छ । त्यसभन्दा ठूला सेलरोटी पनि नबनिने होइनन् तर त्यसको ‘स्ट्रक्चरल स्ट्रेन्थ’ मिलाउन सजिलो हुँदैन । रोटी धेरै ठूलो भयो भने एक हातले उठाउँदा त्यसको सामान्य मोटाइले आफ्नै वजन धान्न सक्दैन । बलियो बनाउनका लागि मोटो पार्न थाल्दा भित्र पाक्दैन, सुम्लो बस्छ ।
हेर्दा बान्की परेको सेलरोटीले आफ्नो स्वादको अपेक्षा आफैं जगाउँछ । भनाइ ‘रोटी चिल्ला मीठा, कुरा खस्रा मीठा’ भन्ने भए पनि देखिने वा छोइने खालका चिल्लोपन मन पराइँदैन । त्यसैगरी आँटा, मैदा हालेका सेल हेर्दै चिनिन्छन्– पारखीको नाक खुम्चिइहाल्छ ।
त्यसपछि स्पर्शको पालो आउँछ । सेलरोटी छुँदा नरम हुनुपर्छ तर गिलो वा धेरै लुलिएको हुनु हुँदैन । समाउँदा नभाँचिई अडिने हुनुपर्छ तर अररो हुनु हुँदैन । त्यसले ‘दाउरो जस्तो’ भन्ने उपमा पाउँछ, जान्नेले उति जाँगर चलाउँदैनन् ।
अनि सेलरोटी मुखमा पुग्छ । मनले गरेको अपेक्षा र मुखले गरेको अनुभव मिल्यो कि मिलेन– दिमागले तुरुन्त जाँच्छ । मीठा सेलरोटी खल्ला त हुनु हुँदैन नै, धेरै गुलिया पनि हुनु हुँदैन । चपाउँदा भित्री भाग नरम हुनुपर्छ, बाहिरी सतहमा भने अलिकति चुरुमचुरुम पनि हुनुपर्छ । दाँतले टोक्ने र जिब्रोले स्वाद मात्र ग्रहण गर्ने होइन, ती दुवै मिलेर बनावटको अनुभवसमेत गराउँछन् । चपाउँदै जाँदा मुखको न्यानोपनले सेलरोटीभित्र लुकेर बसेको चिल्लो र हल्का गुलियोलाई जिब्राभरि फैलाउँछ । चपाउँदाको आवाजसमेत स्वादको अनुभवको अभिन्न हिस्सा बन्छ । त्यसैगरी बास्ना नाकले लिए पनि फ्लेबरको परख सिंगै मुख गह्वरले गर्छ ।
यसरी हेर्दा सेलरोटीको स्वाद एउटै इन्द्रियको काम होइन । दृश्य, स्पर्श, गन्ध, श्रवण र मुखभित्रको अनुभूतिले परस्पर सम्बन्ध राखेर स्वादको समग्र अनुभव निर्माण गर्छन् । यस अर्थमा स्वाद भनेको खानेकुरामा भएका गुणहरूको सूची मात्र होइन, ती गुणलाई मानिसले कसरी अनुभव गर्छ भन्ने प्रश्न पनि हो ।
युगौंयुगदेखि सेलरोटीको अलिखित कला र विज्ञान धानिदिने मातृशक्तिलाई प्रणाम !
घरमा पाक्ने सेलरोटी र परिवेशको स्वाद
तिहार नजिकिँदै जाँदा आउने सेलरोटीको याद एउटा परिकारको स्वादको सम्झना मात्र होइन । त्यो एउटा सांस्कृतिक प्रक्रिया हो । पकाउने काममा सहभागी हुनेहरूका लागि गृहविज्ञान हो, काम हो, जिम्मेवारी हो र कला पनि हो । कामै नगर्नेका लागि पनि त्यो थालको सेलरोटी मात्र होइन, त्यो पर्व र परिवेशसहितको सिंगै प्याकेज हो ।
तिहारको सेलरोटी कसैको चाहनाका कारण पाक्ने परिकार होइन । यससित सम्बन्धित तिथिमिति, विधिलगायतका धेरै कुरा पहिले नै तय भइसकेका हुन्छन् र त्यसका लागि एउटा विशेष वातावरण बन्छ । हामी केटाकेटी हुँदा सेलरोटीको परिवेश यस्तो हुन्थ्यो– दाउरा बाल्ने अगेनो, तेलको खार र धूवाँ भरिएको भान्सा, बेला–बेलामा आगो मिलाउँदै र पसिना पुछ्दै आमाहरूले लगाउने गन्तीसहितका रोटीका थाक, खान हतारिएका केटाकेटी । अनि ‘ठेका, भाँडामा र बाहिरका आशामुखी देवीदेवतालाई नचढाई खायो भने मुख बांगो हुन्छ’ भन्ने चेतावनी र नचढाउन्जेलको त्यो तीव्र प्रतीक्षा !
सेलरोटी तिहारसँग विशेष रूपमा जोडिए पनि यसको महत्त्व तिहारमा सीमित छैन । बिहे–व्रतबन्धमा पकाइने–खाइने सेलरोटी, श्राद्धका दिनको सेलरोटी र हाटमेला वा बजारमा खाजाका रूपमा खाइने सेलरोटीको स्वाद फरक हुन्छ । वस्तु एउटै भए पनि अवसरले त्यसको अनुभूतिलाई फरक अर्थ दिने कुरालाई ‘प्रासंगिक स्वाद’ भन्न सकिन्छ । प्रासंगिकताले खाने कुराको भौतिक स्वादमा अन्तर ल्याउने होइन, मानिसले त्यसलाई अनुभव गर्ने परिस्थिति फरक हुन्छ । कुन अवसरमा खाइँदै छ, कसका हातबाट बनेको हो, कोसँग बाँडेर खाइँदै छ, त्यसमा कत्तिको प्रेम र स्नेह मिसिएको छ र त्यससँग कस्ता सम्झना जोडिएका छन् भन्ने कुराले पनि त्यसको आस्वादनलाई आकार दिइरहेको हुन्छ । कुनै परिकार जिब्रोलाई उस्तै लागे पनि त्यसको भावनात्मक र सांस्कृतिक स्वाद उस्तै नहुन सक्छ ।
कतिपय परिवारमा सेलरोटी खानुअघि देवीदेवता वा कुलदेवतालाई चढाउने चलन छ । अर्पण गरेपछि मात्र खाने चलन प्रतीक्षा, आस्था र पारिवारिक संस्कारहरूको निरन्तरताको विषय हो । देवतालाई पकवान्नहरू अर्पण गर्ने विधि प्राय: परिवारैपिच्छे फरक हुन्छन् । चाडबाड एकै प्रकारले मनाए पनि सबै समुदायमा त्यसको धार्मिक अर्थ समान हुन्छ भन्न मिल्दैन । तर आफ्नै अनुभवका आधारमा मैले भन्न मिल्ने कुरा के हो भने, छिनछिनमा खुसी पारिराख्नुपर्ने, निहुँ खोजाहा र पितुर्के ‘जीव’ रूपमा चिनाइएका देवता बालबालिकाका मनबाट चाँडै भाग्छन् । खानुअघि देवतालाई भोजन चढाउनु प्रकृति र जीवनप्रति कृतज्ञता व्यक्त गर्नु, आफूले प्राप्त गरेको वस्तु श्रद्धापूर्वक अर्पण र समर्पण गर्नु, भोजनलाई पवित्र मानेर प्रसादका रूपमा ग्रहण गर्नु, भोक र उपभोगमाथि आत्मसंयमको अभ्यास गर्नु वा भोजनमाथि आफ्नो मात्र अधिकार नरहेको मान्दै प्रकृति, अन्य जीव, पुर्खा र समाजप्रति साझेदारी एवं उत्तरदायित्वको भाव प्रकट गर्नेजस्ता कुरा सिकाउन सके परम्पराको निर्वाह लामो समयसम्म हुन सक्छ ।
यसरी सेलरोटीको आस्वादनमा भौतिक गुण, अवसर, स्मृति तथा सांस्कृतिक र धार्मिक–आध्यात्मिक अर्थका तहहरू गाँस्न सकिन्छ । यसलाई जिब्रोले चाख्ने स्वादका रूपमा मात्र बुझ्दा यीमध्ये धेरै कुरा छुट्न जान्छन् ।
सेलरोटीका बारेमा लेख्दा प्राय: सबैलाई यसको प्रभाव र इतिहासको खोजी गर्न मन लाग्छ । भारतमा समोसा, जिलेबी र बिरयानीजस्ता ‘भारतीय’ मानिएका परिकारहरू बाहिरबाट आएका हुन् भन्ने थाहा पाउन जति समय लाग्यो, भारतीयहरूलाई त्यो कुरा स्वीकार गर्न र त्यो कुरा भन्नेहरूप्रति सहनशील हुन अझ धेरै समय लाग्यो । हामीलाई सेलरोटी पनि सयौं वर्षअघि यही माटो र हावापानीमा जन्मेको हो भन्न रमाइलो लाग्छ । तर उदारतापूर्वक खोज्न र केही तथ्य भेटिए स्विकार्ने मन भने जिउँदै राख्नुपर्छ । महाराष्ट्रको मोदकसित सामग्री र पाक शैली मिल्दैमा हाम्रो योमरीको मौलिकतामा प्रश्नचिह्न लाग्दैन, न त बडा र बाराका बीचमा साइनो खोजेर कुनै एउटालाई आगन्तुक साबित गरिरहनुपर्छ ।
उसो त मलाई सेलरोटीको उत्पत्तिको ‘कार्बन डेटिङ’ गर्नमा खासै अभिरुचि छैन । करिब ७५ वर्षको इतिहास बोकेको र अनेक रूपमा अन्त पनि पाइने म:म त नेपाली पाक परम्पराको अभिन्न अंग भइसकेको छ भने, यही रूपाकारमा आफूले अन्त कतै पनि नभेटेको चामलको पिठोबाट बन्ने सेलरोटीलाई मैदाबाट बन्ने दुले डोनटसित दाँज्नु आवश्यक छैन । आकारमा समानता हुनु मात्र सांस्कृतिक वा ऐतिहासिक समानताको प्रमाण होइन । विकिपिडियाका अनुसार बीचमा प्वाल भएको डोनट सन् १९४७ मा ह्यान्सन ग्रेगोरी नामक अमेरिकी नाविकले गरेका हुन् । त्यो जंगबहादुर राणा प्रधानमन्त्री भएको अर्को वर्ष हो । त्यसभन्दा हाम्रो सेलरोटी धेरै पुरानो हो र यो नेपाली पाक परम्पराको सबभन्दा परिचित र प्रतिष्ठित बिम्ब हो भन्ने आँट मलाई भारतीय खानपान इतिहासकार डा. पुष्पेश पन्तले दिएका छन् । एउटा भिडियो अन्तर्वार्तामा उनले भनेका छन्, ‘हिमाचलमा गोर्खालीहरू हमलावरका रूपमा आएका हुन् । तर पछि उनीहरू हाम्रा साथी भएर बसे र हामीलाई सेलरोटीजस्तो खानेकुरा बनाएर खुवाए ।’
सेलरोटीको प्राचीनता स्थापित गर्न पुराना पाक विधि, पाण्डुलिपि, शब्दकोश, यात्रावृत्तान्त, अभिलेख वा अन्य मितियुक्त स्रोतमा यसको स्पष्ट उल्लेख खोज्नुपर्छ– जो कुनै अध्येताले गर्लान् । स्वस्थानी व्रतकथामा ‘सेलरोटी’ शब्द भेटिनु आफैंमा एउटा महत्त्वपूर्ण लिखित सन्दर्भ हो तर त्यसले आज हामीले चिन्ने सेलरोटीकै स्वरूप र त्यसको प्राचीनता प्रमाणित गर्दैन । अहिलेसम्म हामी सेल नामको कुनै धानबाट बनेको हुनाले (अनदीको लट्टे भनेजस्तै), पकाएर सिलमा झुन्ड्याइने भएकाले वा पिँडालुको सेलोजस्तो भएकाले यसको नाम रहन गएको हो कि भन्ने व्युत्पत्तिका अनुमानमै खेलिरहेका छौं । यीमध्ये कुनै पनि व्याख्या प्रमाणित भइसकेको छैन । चामलको खेती र त्यसमा आधारित विविध खाद्य परम्परा भएका दक्षिणपूर्व एसिया तथा दक्षिण भारतका परिकारहरूसँग पनि यसको तुलनात्मक अध्ययन हुन बाँकी छ । त्यहाँ कतै नाम, सामग्री, रूपाकार वा बनाउने विधिमध्ये एक वा केही पक्षमा सेलरोटीसँग मिल्दोजुल्दो परिकार भेटियो भने त्यसलाई पनि खोजको दायरामा ल्याएर कुरा गर्न तयार रहनुपर्छ ।
सेलरोटी मन नपर्ने नेपाली मैले भेटेको छैन । तर धेरै परिवारमा घरमै सेलरोटी पकाउने चलन, समय, साधन वा सीप नहुन सक्छ । सहरी जीवन, बदलिँदो पारिवारिक संरचना, कामको व्यस्तता र खाद्य बजारको विस्तारले चाडबाडका परिकार तयार पार्ने तरिकामा परिवर्तन ल्याएका छन् । कतिपयले घरमै बनाउँछन्, कतिपयले बजारबाट किन्छन् र कतिपयले दुवै गर्छन् ।
मैले माथि घरमै सेलरोटी बनाउने चलनको खुब बखान गरें । तर बजारबाट किनेर खाने सेलरोटीलाई घरमै बनाएको सेलरोटीभन्दा कम आत्मीय वा कम सांस्कृतिक ठान्नु आवश्यक र उचित हुँदैन । घरमा बनाउने अनुभव एउटा किसिमको हो, बजारबाट किनेर परिवारसँग बसेर खाने अनुभव अर्को किसिमको । घरबाट टाढा रहेका मानिसका लागि पसलमा पाइएको सेलरोटीले पनि चाडको अनुभूति गराउन सक्छ । बजारले परिकार उपलब्ध गराउने काम गर्छ र यसले परम्परागत खानेकुराको उपभोगलाई नयाँ परिस्थितिमा निरन्तरता दिन सक्छ ।
उपभोग जारी रहनु र त्यसलाई बनाउने सीप जोगिनु एउटै कुरा होइन । बजारमा सेलरोटी सजिलै पाइए पनि घरमा पिठो तयार पार्ने, दाउन हाल्ने, मुछ्ने–पकाउने, तेलको ताप मिलाउने ज्ञान अर्को पुस्तामा नपुग्न सक्छ । त्यसैले यसको भविष्यबारे सोच्दा बजारको भूमिका र घरायसी सीपको संरक्षणलाई परस्परविरोधी ठान्नु आवश्यक छैन । बजारले उपलब्धता बढाउन सक्छ, परिवार, समुदाय र सिकाइका अवसरले यसको पाक परम्परालाई निरन्तरता दिन सक्छन् ।
सेलरोटीको लोकप्रियता पनि यही परिवर्तनशील परिवेशभित्र बुझ्नुपर्छ । यसको स्वाद र बनोट महत्त्वपूर्ण छन् तर तिनलाई चाड, सम्बन्ध, आस्था, श्रम र स्मृतिले फरक अर्थ दिन्छन् । कसैले बाल्यकालको भान्सा सम्झेर खान्छ, कसैले माइतीबाट आएको कोसेली सम्झेर, कसैले तिहारको परिकारका रूपमा र कसैले स्वाद मन परेकाले । यीमध्ये कुनै एउटा अनुभवलाई मात्र वास्तविक वा श्रेष्ठ ठहर्याउनुपर्ने कारण भने छैन ।
केदार शर्मा नेपाली समाज, राजनीति र समसामयिक विषयमा चासो राख्ने सञ्चारकर्मी हुन्।