जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायको संयुक्त टोलीले लेगुवाका करिब एक दर्जन किराना तथा खुद्रा पसलमा अनुगमन गरेको थियो ।
धनकुटा — महालक्ष्मी नगरपालिका- ५ स्थित लेगुवा बजारमा प्रशासनले बिहीबार भएको आकस्मिक अनुगमनमा ४७ हजार ४४० रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरेको छ।
जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायको संयुक्त टोलीले लेगुवाका करिब एक दर्जन किराना तथा खुद्रा पसलमा अनुगमन गरेको थियो । त्यसक्रममा उपभोग्य मिति नाघेका खाद्यान्न, बेकरी तथा पेय पदार्थ फेला परेपछि जफत गरी नष्ट गरिएको हो ।
अनुगमनका क्रममा केही पसलमा मूल्यसूची नराखिएको, बिलबिजक जारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको समेत पाइएको छ । त्यस्ता पसललाई आवश्यक प्रक्रिया पूरा गरी व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।