काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि खुकुरी प्रहार गरी भाग्न खोज्ने ३१ वर्षीय युवकलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि खुकुरी प्रहार गरेर भाग्न खोज्ने एक जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
बिहीबार साँझ पौने ७ तिर डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३१ वर्षीय सुजन तामाङलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उनले खुकुरी प्रहार गरेका थिए । त्यसपछि प्रहरीले हवाई फायर गर्दै उनलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।
घटनामा तामाङ र एक प्रहरी जवान घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि अस्पताल पठाइएको काठमाडौं प्रहरीका एसपी दानबहादुर थापाले बताए ।
प्रारम्भिक अनुसन्धानमा तामाङले सस्तोमा डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
'उनी एकदमै कुख्यात व्यक्ति हुन् । उपचारका लागि अस्पताल पठाएका छौं,' एसपी थापाले भने, 'भोलि पत्रकार सम्मेलन गरेर यसबारे सार्वजनिक गर्छौं ।'
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।